मन्त्रिपरिषद् हेरफेर हुन्छ, यसमा अन्यथा नलिनुहोला : प्रधानमन्त्री ओली

पत्रपत्रिकाबाट

बुधबार, ०४ मंसिर २०७६, ०६ : ४५
मन्त्रिपरिषद् हेरफेर हुन्छ, यसमा अन्यथा नलिनुहोला : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई आफूले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी दिएका छन् ।  मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी दिँदै बुधबार काठमाडौं उपत्यका भन्दा बाहिर कार्यक्रम नबनाउन पनि निर्देशन दिएका छन्। ‘कोही पर्नुहोला, कोही नपर्नुहोला।

भोलि म मन्त्रिपरिषद हेरफेर गर्दै छु, प्रधानमन्त्रीले बैठकमा भनेको भनाई उद्धत गर्दै एक मन्त्रीले भने, ‘अहिलेसम्म साथ दिनुभयो त्यसका लागि धन्यवाद। भोलि तपाँईहरु कसैले औपचारिक कार्यक्रम नराख्नुहोला।’ बैठकमा को–को मन्त्री रहने, को हट्ने भन्नेबारे भने प्रधानमन्त्री ओलीले कुनै जानकारी नदिएको ती मन्त्रीले बताए ।

प्रधानमन्त्रीले सम्भवतः बुधबार मन्त्रिपरिषद् हेरफेर गर्नेछन्। प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा मन्त्रिपरिषद् हेरफेर गर्ने जानकारी दिए पनि यस विषयमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच समझदारी हुन बाँकी छ । मंगलबार दाहालसँग भेट गरेका नेकपाका एक स्थायी कमिटी सदस्यका अनुसार ओली र दाहालबीच मन्त्रिपरिषद् हेरफेरबारे अन्तिम सहमति हुन बाँकी छ । 
सोमबारको भेटमा ओली र दाहालबीच बुधबार विहान बसेर मन्त्रिपरिषद् हेरफरेको विषयमा थप छलफल गर्ने सहमति भएको थियो । तर, मंगलबार नै प्रधानमन्त्रीले बुधबार मन्त्रिमण्डल हेरफेर गर्ने जानकारी मन्त्रीहरुलाई दिएका छन् । केही मन्त्री राख्ने वा हटाउने विषयमा ओली र दाहालबीच मतभेद थियो । त्यसैबीच नेकपाले बुधबार बिहान सचिवालय बैठक बोलाएको छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस