काठमाडौं । यही कात्तिक ८ गते भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरा रहेका छन् । उनलाई भारतकै मुन्सियारीबाट पक्राउ गरिएको हो ।
रोजगारीका लागि पिथौरागढ गएका बैतडीको पुर्चौडी नगरपालिका–५ दहतोलीका हरिश बोहरा, उहाँका सहोदर भाइ बिरा बोहरा र पुर्चौडी नगरपालिका–४ भटना तडिखेतका काशी बोहराको लिङ्ग काटिएको अवस्थामा बीभत्स रुपमा शव फेला परेको थियो । पक्राउ परेका धनबहादुर मृतक हरिश बोहराका भतिजा नाता पर्ने रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धानका लागि भारत पठाएका प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिनुभयो ।
पक्राउ परेका बोहराले आफूले नै तीनै जनाको हत्या गरेको स्वीकार गरेको भारतीय प्रहरीलाई उद्धृत गर्दै प्रहरी सहायक निरीक्षक महराले बताउनुभयो । उहाँका अनुसार कात्तिक ८ गते चारै जनाले रक्सी खाएको र ढुङ्गाले टाउको हिर्काएको र त्यसपछि धनबहादुर आफँैले हँसियाले उनीहरुको लिङ्ग काटेको प्रहरीलाई बयान दिएका छन् । प्रसनि महराले भन्नुभयो, “सबैले सँगै मापसे गरेको र आफूलाई रक्सी अझै खानुपर्छ भनेको खाँदैन भन्दा नमानेको र जबर्जस्ती गरेर खुवाउन खोज्दा आफूले रक्सीले मातेको अवस्थामा ढुङ्गा र हँसिया प्रहारले तीनै जनाको हत्या गरेको धनबहादुर भारतीय प्रहरीलाई बयान दिएका छन् ।”
यसअघि भारतीय प्रहरीले घटनामा मृतक हरिश बोहराकी श्रीमती कलावती बोहरा (किर्रा)को संलग्नता रहेको आशङ्का गरेको भएपनि कलावती उनीहरुको सामूहिक हत्या हुनुअघि नै नेपाल फर्किएको बैतडी प्रहरीलाई बताएको थियो । प्रहरीले अनुसन्धान तथा सोधपुछका लागि उनलाई कात्तिक ११ गते बझाङबाट पक्राउ गरेको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिनुभयो ।
हरिश बोहराले कलावतीसँग एक वर्षअघि मात्रै विवाह गरेर मजदुरी गर्न सँगै भारत गएका थिए । कलावतीले हरिश बोहरासँग दोस्रो विवाह गरेको बुझिएको छ । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीले समेत प्रहरी सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा प्रहरीको एक टोली भारतको पिथौरागढ पठाएको थियो । मृतक तीनै जनाको उनीहरुका आफन्तले शव बुझेर दाहसंस्कार गरिसकेका छन् । भारतमा सामूहिक हत्या भएपछि उनीहरुको गाउँ नै शोकमा डुबेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा