विदेशबाट फर्केर ‘फूल’खेती

रासस

बुधबार, १३ कार्तिक २०७६, १४ : २५
विदेशबाट फर्केर ‘फूल’खेती

तुलसीपुर । दाङको घोराही उपमहानगरपालिका–१४ झिगौरामा व्यावसायिक रुपमा सयपत्री फूलको व्यावसायिक रुपमा खेती गर्न थालिएको छ । अन्य स्थानमा पनि व्यावसायिक रुपमा नभए पनि फूलको खेती गर्न थालिएको छ । झिंग्रौरा निवासी लोकेन्द्र रोकामगरले व्यावसायिकरुपमा सयपत्री फूलखेती गरेका हुन् । शुरुका केही वर्ष तिहारको लागि मात्र उहाँले फूलखेती गर्नुभएको थियो । 

अहिले पछिल्लो समयमा आएर व्यावसायिकरुपमा नै अगाडि बढेको उहाँको भनाइ छ ।  उहाँले जलजला पुष्पखेती फार्म दर्ता गरेर सयपत्रीको व्यावसायिक रुपमा खेती शुरु गर्नुभएको छ । अहिले १२ कट्टा जग्गा भाँडामा लिएर खेती गरेका उहाँले  वार्षिक रु ४८ हजार भाँडा तिर्ने गरेको बताउनुभयो । आउँदो वर्ष १८ कट्टामा फूलखेती उहाँको भनाइ रहेको छ ।
 रोजगारीको सिलसिलामा सात वर्ष कतारमा विताएका रोकामगरले जिल्लामा दशैँतिहारलगायतका पर्व एवं अन्य शुभ कार्यका लागि फूलको माग देखे पछि फूलखेती गर्ने थालेको बताउनुभयो । “दाङमा व्यावसायिकरुपमा फूलखेती कतै थिएन, काठमाडौँतिर फूलखेती पनि व्यावसायिकरुपमा गरेको देखेको थिए अनि यहाँ मैले गरेको हुँ”, रोकाले भन्नुभयो । अहिले उहाँले भारतको कोलकत्ताबाट अफ्रिकन मेरिगोल्ड जातको सयपत्री फूलको बीउ ल्याएर व्यावसायिक खेती गर्नुभएको छ । 

घोराही बजार नजिकै फूलखेती गरे पछि आफूलाई बजारको लागि कुनै पनि समस्या नभएको रोकाले बताउनुभयो । “दैनिकजसो फूलको अडर आउने गरेको छ छ”, उत्पादन गरेको फूल कहाँ लिएर बिक्री गरौँ भन्ने समस्या छैन”, रोकाले भन्नुभयो । आफूले उत्पादन गरेको फूल जिल्लामा नै सकिने गरेको उहाँको भनाइ रहेको छ । जिल्लाका घोराही, तुलसीपुर, लमही, भालुवाङका शहरबाट समेत फूल लिन आउने गरेका छन् । “काठमाडौँबाट फूलको माग भए पनि फूल पठाउन सकिएको छैन”, रोकाले भन्नुभयो । मागअनुसार जिल्लामा फूल उत्पादन हुन नसकेको उहाँको भनाइ छ । अहिले उहाँले एक वटा मालालाई रु १०० मा बिक्री गर्ने गरेको बताउनुभयो । 

पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले यस वर्षदेखि बाह्रै महीना फूल उत्पादन गर्ने बताउनुभयो । 
गत वर्ष उहाँले गरेको फूलखेतीबाट रु एक लाख नाफा गर्न सफल भएको बताउनुभयो । आफूसँगै परिवार तथा अन्य तीनजनालाई समेत रोजगार प्रदान गरेको उहाँको भनाइ छ । (रासस)

प्रतिक्रिया दिनुहोस