घरघरमै पुगे व्यापारी, बढ्यो फूलको मूल्य

रासस

शनिबार, ०१ कार्तिक २०८२, १७ : १३
घरघरमै पुगे व्यापारी, बढ्यो फूलको मूल्य

भक्तपुर । यस पटकको तिहारमा सयपत्री र मखमली फूलको मूल्य वृद्धि भएको छ । घरघरमै व्यापारी र बिचौलिया फूल लिन आउन थालेपछि मूल्य वृद्धि भएको हो ।

भक्तपुरमा सबैभन्दा बढी फूल खेती हुने सूर्य विनायक नगरपालिका-७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका-९ ताथलीसम्मका किसानलाई प्रतिस्पर्धामा व्यापारीले घरघरमै गएर मूल्य बढी तिरेर फूल लिइरहेका छन् ।  

आइतबारदेखि तिहार सुरु हुँदैछ । तिहारको संघारमा फूल र मालाको मूल्य वृद्धि भएपछि उपभोक्ता भने मारमा परेका छन् । व्यापारीले आज एउटा मखमली फूलको माला रु. ८० मा बिक्री गरिरहेका छन् । गुण्डुका किसानबाट भने शुक्रवारसम्म मखमली फूलको प्रतिमाला रु. २२ देखि रु. २५ सम्म खरिद गरेका किसानहरूले जनाएका छन् ।

गुण्डुका पुष्प व्यवसायी रामेश्वर बस्नेतले आजबाट घरदैलोमा आएका व्यापारीले किसानबाट रु. ३० देखि रु. ३५ मै मखमली फूलको माला लिन थालेको र बजारमा प्रतिमाला रु. ८० देखि रु ९० मा बिक्री गर्न थालेको बताए । किसानले भन्दा व्यापारी र बिचौलियाले तेब्बर मूल्यमा बिक्री गर्न थालेपछि उपभोक्ता मारमा परेको उनले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस