भवन भट्टले गरे एनआरएनकै बेइज्जत, रक्सी खाएर प्लेनमा बबाल गरेपछि निकालियो

सफल खबर संवाददाता

आइतबार, ०८ भदौ २०७६, ०८ : ११
भवन भट्टले गरे एनआरएनकै बेइज्जत, रक्सी खाएर प्लेनमा बबाल गरेपछि निकालियो

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष हुन् भवन भट्ट । उनको एक हर्कतले एनआरएनकै बेइज्जत बन्न पुगेको छ । मदिराले अनियन्त्रित भएर ‘क्रु मेम्बर’ लाई अभद्र व्यवहार गरेपछि  भट्टलाई उड्न लागेको जहाज रोकेर बाहिर निकालिएको खुलासा भएको छ । 

सिल्क एयरको नियमित उडानबाट शनिबार सिंगापुर जान लागेका अध्यक्ष भट्ट सहितको टोलीले उडानदलका सदस्यहरुलाई अभ्रद व्यवहार गरेपछि प्रहरीको सहयोगमा जहाजबाट निकालेर फिर्ता पठाइएको हो । गएराती प्रधानमन्त्री केपी ओलीलाई भेट्न भन्दै सिंगापुर हिँडेका उनलाई मदिराको सुरमा बबाल गर्न थालेपछि बाहिर निकालिएको थियो । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षास्रोतका अनुसार एमआइ ४१३ नम्बरको कल साइन भएको सिल्क एयरको विमान काठमाडौबाट सिंगापुर उड्नलाई अन्तिम तयारी भइसकेको थियो । तर, विमान उड्ने बेला मदिराबाट अनियन्त्रित भएका एनआरएन अध्यक्ष भट्ट र भट्टसँगै यात्रामा रहेका अर्का व्यक्तिद सनत न्यौपानेले उडानदलका सदस्यमाथि अभद्र व्यवहार गरे ।

यसपछि चालक दलका सदस्यले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षालाई जानकारी दिएर जहाजबाट निकाल्न सहयोग मागे । उड्न लागेको विमानमा पुन भर्‍याङ लगाएर उनीहरुलाई ‘अफ लोड’ गरिएको बताइएको छ । 

यता घटना भएको केही घण्टामै फेसबुकमार्फत लाइभ आएका न्यौपानेले आफूमाथि सिल्क एयरले अभद्र व्यवहार गरेको दाबी गरेपनि के कारणले त्यस्तो भएको हो भन्नेबारे केही खुलाएका छैनन् ।
 

प्रतिक्रिया दिनुहोस