लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा

सफल खबर संवाददाता

सोमबार, २३ चैत्र २०८२, २० : ५०
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूसँग सिंहदरबारमा विकास र सुशासनका विषयमा विस्तृत छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म चलेको बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रमदेखि दीर्घकालीन पूर्वाधार विकाससम्मका विषयमा बहस भएको थियो।

छलफलमा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सिँचाइ, खानेपानी, सुशासन तथा सामाजिक क्षेत्रका मुद्दा उठाइएको थियो। सहभागी सांसदहरूले आ-आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना र योजनाहरू प्रस्तुत गरेका थिए। अधिकांश सांसदहरूले सिँचाइ, खानेपानी र स्वास्थ्य क्षेत्रमा विशेष जोड दिएका थिए।

कपिलवस्तु केन्द्रित विकास प्रस्तावहरू पनि बैठकमा प्रमुख रूपमा उठेका थिए। कपिलवस्तु-२ का सांसद विक्रम थापाले तिलौराकोटलाई “स्मार्ट हेरिटेज सिटी” का रूपमा विकास गर्ने प्रस्ताव अघि सारेका छन्। उक्त प्रस्तावअन्तर्गत तिलौराकोटलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गराउने, डिजिटल प्रविधिमार्फत ऐतिहासिक अनुभव विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र स्थापना गर्ने योजना समावेश गरिएको छ।

त्यसैगरी वाणगंगा नदी नियन्त्रण, ५४ किलोमिटर तटबन्ध निर्माण तथा भारत सरकारको अनुदान सहयोगमा स्वीकृत डीपीआर कार्यान्वयनमा लैजान माग गरिएको छ। कृषि क्षेत्रमा कपिलवस्तुमा करिब ६० हजार मेट्रिक टन मल आवश्यक भए पनि आपूर्ति न्यून रहेको भन्दै तत्काल व्यवस्थापन गर्नुपर्ने विषय उठाइएको छ। साथै बाँदरका कारण कृषि क्षेत्रमा परेको असर समाधानका लागि सरोकारवाला निकाय र विज्ञसँग छलफल भइरहेको गुल्मी–१ का सांसद सागर ढकालले बताएका छन्।