आज चाँही बस्ला नेकपा सचिवालय बैठक ?

स्कुल विभागको विवाद कायमै रहँदा जनवर्गीय संगनठको इन्चार्जका लागि पनि विवाद बल्झियो

सफल खबर संवाददाता

विहीबार, ३० साउन २०७६, ०७ : ३३
आज चाँही बस्ला नेकपा सचिवालय बैठक ?

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक पार्टी जीवन अझै अस्तब्यस्त छ । केन्द्रीय समितिकै नेताहरुले काम पाएका छैनन् भने तल्लो तहका नेता कार्यकर्ताको अवस्था उस्तै छ ।

केन्द्रीय आयोग, विभाग गठनका लागि बस्न खोजेको सचिवालय बैठक पटक–पटक सरेको छ । प्रधानमन्त्री ओलीको हठका कारण बैठक प्रभावित हुँदै आएको एक स्थायी समिति सदस्य बताउँछन् ।

वुधबार वोलाईएको सचिवालय बैठक प्रधानमन्त्री ओलीले अझै गृहकार्य नपुगेको र आफ्नो पूर्ववत पार्टीभित्र पनि केही भागबन्डा विवाद मिलाउनु पर्ने भएकोले थप एक दिन छलफल गरौं भन्ने प्रस्ताव अर्का अध्यक्ष प्रचण्डसँग गरेपछि बैठक आजका लागि सरेको हो ।

पछिल्ला दुई दिन यता नियमित बैठक सर्दै आईरहेको छ । १३ साउनमा सचिवालय बैठक बसेर २८ साउनमा केन्द्रीय नेताहरुको कार्यविभाजन टुंग्याउने बताईएको थियो । तर प्रधानमन्त्री ओली २७ साउनमा मात्र सिंगापुरबाट स्वदेश फर्किएको, स्कुल विभागमा दुई अध्यक्षको बीचमा अझै सहमति जुट्न नसकेको र जनवर्गीय संगठनको इन्चार्जमा पूर्व एमाले पक्षभित्रै ओलीले वरिष्ठ नेता नेपाललाई पेल्न खोजेको आरोप पार्टीभित्रै उठेपछि सचिवालय बैठक प्रभावित हुदै आएको छ ।

नेताहरुका बीचमा समझदारी जुट्ने भन्दा झन दिनप्रतिदिन नयाँ विवादका रुपमा देखा पर्न थालेको छ । त्यही भएर पनि पछिल्ला दुई दिन यता सचिवालय बैठक प्रभावित हुदै आएको छ ।

२८ गते बोलाईएको बैठक नेताहरुले २९ गते सारेका थिए । फेरि २९ गते पनि बैठक नै नबसी ३० गते (आज) का लागि सचिवालय बैठक बोलाईएको छ ।

‘अध्यक्षहरु आन्तरिक गृहकार्यमै हुनुहुन्छ, गृहकार्य नसकिएको र छलफलमै रहेको कारण आज ३ बजेसम्मका लागि बैठक स्थगितको सूचना हिजो सुनाउनुभयो,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले भने,–‘आज (बिहिबार) दिउँसो चाँही बैठक बस्छ की ?’

अध्यक्षद्धयका बीचमा भएको छलफल पार्टी सचिवालय सदस्यहरुलाई समेत जानकारी गराईएको छैन । पार्टीमा स्कुल विभागको नेतृत्वका लागि अध्यक्ष प्रचण्डले दिएका अनेक विकल्पमा पनि ओली सकारात्मक बन्न नसकिरहेको स्रोत बताउँछ ।

अध्यक्ष प्रचण्डले पहिलो विकल्पका रुपमा प्रवक्ता श्रेष्ठलाई स्कुल विभागको नेतृत्वको दाबी गरिरहेका छन् । त्यसो हुन नसक्दा अन्य सर्वसहमति हुने नेताको विकल्पमा जान, त्यसो पनि नभए अध्यक्षकै मातहात स्कुल विभाग राख्न प्रचण्डले ओलीसमक्ष प्रस्ताव राखेको स्रोत बताउँछ । तर ओली अझै पनि नेता इश्वर पोखरेलकै पक्षमा अडिग देखिए पछि विवाद मिल्न सकिरहेको छैन ।

पूर्व एमालेभित्र पनि स्कुल विभागमा पोखरेलको नाममा सहमति छैन । वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायत नेताहरुले प्रवक्ता श्रेष्ठलाई नै स्कुल विभाग दिदा हुने संकेत गरेपनि ओलीले अझै टेरेको देखिदैन ।

स्कुल विभागमा देखिएको विवाद अहिले पूर्व एमालेभित्रको अर्काे विवादमा आएर ठोक्किन पुगेको छ । जनवर्गीय संगठनको इन्चार्जको जिम्मेवारी तोक्ने सवालमा ओलीले आफु पक्षधरलाई पेल्न खोजेको वरिष्ठ नेता नेपाल पक्षको आरोप छ ।

प्रभावशाली जनसंगठनको इन्चार्जमा आफ्नो भागमा परेका सबैमा ओली पक्षले एकलौटी गर्न खोजेको नेपाल पक्षको आरोप छ । युवा, महिला र मजदुर संगठनको इन्चार्जमा ओली पक्षले आफ्नो पक्षका नेताहरुलाई मात्र जिम्मेवारी दिन खोजेको आरोप नेपाल पक्षको छ । यही विवादका कारण ओली नेपाल चर्काचर्की नै परेको समाचार पनि बाहिर आएको छ ।

ओलीले युवामा महेश बस्नेत, मजदुरमा आफ्नै राजनीतिक सल्लाहकार विष्णु रिमाल र महिलामा राष्टपति विद्यादेवी भण्डारीको सिफारिसमा गोमा देवकोटालाई जिम्मेवारी दिन खोजेका छन् ।

माओवादीतर्फकाले पाएको विद्यार्थीको फ्याक्सन इन्चार्जमा भने हितमान शाक्यले जिम्मेवारी पाउने करिब सहमति छ ।

दुई अध्यक्षले सचिवालय बैठक रोकेर हिजो दिउसो पून छलफल गरेका थिए । आज पनि बैठक अगाडी फेरि छलफल हुने नेताहरुको भनाई छ । ‘आज चाँही बैठक बस्छ नै होला,’ प्रवक्ता श्रेष्ठले भने । 

प्रतिक्रिया दिनुहोस