जोगीकै भूमिमा चौताराको विजोग, भोगीलाई संरक्षणमा केको चिन्ता

प्रकाश सिग्देल

सोमबार, १३ जेठ २०७६, १७ : २४
जोगीकै भूमिमा चौताराको विजोग, भोगीलाई संरक्षणमा केको चिन्ता

– प्रकाश सिग्देल
चितवन । थकाइ लाग्दा मन बिसाउने चौतारीहरु आजभोलि कालोपत्रे सडक र खण्डहरमा परिणत भएका छन् । सहरमा जन्मिएर दूध कहाँबाट आउछभन्दा डेरीबाट भन्नेहरुका लागि चौताराको खासै महत्व थाहा नहोला नत्र पुराना पुस्ताहरुका लागि चौतारो नासिदै गएकोप्रति निकै चिन्ता र पिडा हुने गरेको छ । बेसी गएर घाँसको झारी, अन्नपात बोकेर बीचबाटोमा वरपीपलका चौतारामा बसेर थकाई मार्दै आधा जीवन कटाएर तराई बसाई सरेर आएकाहरु अझै पनि चौताराको माया मोहबाट टाडिन सकेका छैनन । सुरुवातमा चितवनका राजमार्ग छेउमा चौताराहरु रोप्ने, सरकारी कार्यालय परिसर र चोक चोकहरुमा चौताराहरु रोप्ने मध्येका एक ज्येष्ठ नागरिक गोविन्दबहादुर पौडेललले चितवनको बढ्दो गर्मीलाई छल्न र भर्खरै राजमार्ग विस्तार भएकाले यात्रा गर्दा बटुवा यात्रुहरुलाई पनि थकाई मार्न सहज होस भन्ने उद्देश्य र यसले वातावरणमा पनि शुद्धता आउने भएकाले वरपीपल रोपेर चौतार निर्माण गरेको बताउनु हुन्छ । पीपलले रातिमा पनि अक्सिजन दिने भएकाले पिपल निकै उपयोगी हुने उहाँको तर्क छ । पछिल्ला समय आफ्नै आँखा अगाडि धमाधम चौताराहरु नासिन थालेकोमा उहाँको चिन्ता छ ।

धर्मिक रुपमा महत्वपूर्ण मानिएको वरपीपलका चौताराहरु विस्तारै नासिदै जान थालेकोमा पुराना पुस्ताहरुमात्रै होईनन नयाँ पुस्ताका युवा र साधुसन्तहरु पनि चिन्तित हुन थालेका छन् । पछिल्लो समयमा मानिसमा धार्मिक आस्था र विश्वास घट्दै गएकाले धार्मिक र सामाजिक आस्थाका केन्द्रहरु संकटमा पर्न थालेको उनीहरुको बुझाई छ ।

हिन्दु धर्म परम्पराअनुसार वरपीपल र समिसहितको चौतारा, पाटी—पौवा, धारा, कुवा र पोखरीलाई निकै महत्वका साथ हेर्ने गरिन्छ । वरपीपल र समि धार्मिक कार्यमा प्रयोग गरिन्छ भने पिपललाई अक्सिजनको मुख्य स्रोत समेत मानिन्छ । नेपाली संस्कृतिमा पाश्चात संस्कृतिको बढ्दो हस्तक्षेपका कारणले अहिले पाटी—पौवा, धारा कुवा र पोखरीको अस्तित्व समाप्त हुने स्थितीमा पुगेको योगी व्यघ्र बेधनाथ बताउनु हुन्छ । उहाँका अनुसार चौताराहरुको अस्तित्व संकटमा पर्दै गएको छ । हिन्दु धर्मालम्बिहरुको मुख्य तिर्थस्थल देवघाटमा समेत यसको प्रभाव परेको छ । वागेश्वरी आध्यात्मिक परिषददेखि दवघाटधाम वेडीसंंगमसम्म रहेका ४ दर्जन बढी चौताराहरुको अस्तित्व अहिले लगभग समाप्त हुने अवस्थामा पुगेको छ । उक्त क्षेत्रका चौताराहरु मध्ये एक दर्जन चौतारामात्रै अस्तित्वमा छन् भने अन्य तीन दर्जन चौताराहरुको अस्तित्व समाप्त भइसकेको छ । पुराना चौताराहरुको संरक्षण हुन नसक्नु र चौतारामा भएका वरपीपल र समी काटेर दाउराको रुपमा प्रयोग गर्न थालेपछि अहिले चौतारा नाङ्गगा र जिर्ण भएको देखिएको छ ।

देवघाट सडक छेउका अधिकांस चौताराहरु जिर्ण र वरपीपलविहिन् छन् । जसले गर्दा देवघाटमा धर्म गर्न आउने तिर्थालु र भक्तालुहरुले पनि चौताराको अवस्थाप्रति चिन्ता व्यक्त गर्न थालेका छन् । बुबाको काज्र्यका लागि गुल्मीदेखि देवघाट आउनुभएका हरिप्रसाद अधिकारीले चौताराको जिर्ण अवस्थाले आफूलाई चिन्तित बनाएको बताउनु भयो ।  धार्मिक आस्थाका केन्द्रहरु विजोग हुनु दुखद भएको उहाँको तर्क छ । देवघाट क्षेत्रलाई पवित्र तिर्थस्थल र धार्मिक क्षेत्रको रुपमा विकास गरिंदै लगेपनि धार्मिक आस्थाका केन्द्रहरु संकटमा पर्दै जानुले हिन्दुहरुको अस्तित्व समेत खतरामा पर्ने हो की भन्ने शंका बढ्दै जान थालेको देवघाटका साधु सन्तहरुले बताएका छन् । जोगीकै भूमिमा चौताराहरुको विजोग हुनु दुखद भएको उनीहरु तर्क गर्छन् । यतिबेला देवघाटका केही व्यापारीहरुले चौतारो नै मिचेर घर र टहरा समेत बनाएका छन् । आफनो कार्यकालमा आफूले केही चौतारा संरक्षणका लागि काम थालेको भएपनि त्यसले पूर्णता पाउन नसकेको देवघाट क्षेत्रविकास समितिका पूर्व अध्यक्ष टंकनाथ पौडेलले बताउनु भयो । पहिले चौतारा निर्माण गरिदिने केही दातालाई पुन आफूले सम्पर्क गरी मर्मत र संरक्षण गर्न भनेको उहाँ बताउनु हुन्छ । केहीले मर्मत र संरक्षणको काम गरेका र केही त्यसै भत्किएर गएको पौडेल बताउनु हुन्छ ।

चौताराको बढ्दो विनासबाट चिन्तित भएर पुनरुत्थानवादी शक्ति नेपालले केही दिन अगाडि संरक्षणको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापन पत्र समेत बुझाएको थियो । विगतका बर्षहरुमा झै यस वर्ष पनि वरपीपलका चौतारहरु नासिदै गएको र गर्मीको समयमा समेत सित्तल बस्ने ठाउँको अभाव भएको भन्दै यस्ता चौतारहरु जोगउन माग गर्दै ज्ञापन पत्र बुझाएको संयोजक तारा बरालको भनाइ छ । चितवनका अधिकांस सरकारी कार्यालयहरुले पनि वरपीपल काटेर चौतारा मासिसकेका छन् ।

पोखराले पोखराको पहिचानः चौतारा, पोखरी र पाटन भन्ने नारा विकास गरिरहँदा देवघाट र राष्ट्रिय निकुञ्ज भएको जिल्लामा वरपीपल मासिनु दुखद हो यसको संरक्षणमा जिल्लाले विशेष ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस