मकैको बोटमा कीरा लागेपछि किसान चिन्तित

सफल खबर संवाददाता

शुक्रबार, १० जेठ २०७६, १५ : १७
मकैको बोटमा कीरा लागेपछि किसान चिन्तित

उर्गेन तामाङ

चितवन । मकैको बोटमा कीरा लागेपछि राप्ती नगरपालिका वडा नं. १ दुबीचौरका किसानहरु चिन्तित बनेका छन् । पाक्नै लागेको मकैको बोटमा अज्ञात कीरा लागेपछि सो क्षेत्रका किसानहरु चिन्तित बनेका हुन् । कीराले सवै पात खाएपछि बोट सुक्न थालेको किसान मनबहादुर स्याङबोले गुनासो गरेका छन् । घोगाको जुङ्गा पनि खाइदिएको उनले बताए । 

भाँचेर घरमा थन्क्याउने बेलाको मकैको बोटमा कीरा लागेपछि मनबहादुरसँगै अन्य आधा दर्जन किसान यतिवेला चिन्तामा छन् । २, ३ दिनअघि देखापरेको कीराले अहिलेसम्म आधा दर्जन किसानको एक बिघाभन्दा धेरै क्षेत्रफलमा रहेको मकैको पात खाएर सखाप पारेको छ । 

मनबहादुरका अनुसार उद्धव त्रिपाठी, अर्जुन ढकाल, यमबहादुर लामा, प्रताप स्याङबो, मञ्जु ढकाललगायत किसानको मकै बारीमा कीराको प्रकोप देखिएको हो । कीराले मकैको पात खानुका साथै घोगाको टुप्पोमा थुप्रिएर बस्ने गरेको पीडित किसानहरुको भनाइ छ । ‘कीराका कारण पाक्नै लागेको मकैको बोट सुक्न थालेको छ । दाना राम्रोसँग नछिप्पिदै बिग्रिने डरले किसानलाई पिरोलेको छ’ स्याङबोले भने ।

स्याङबोका अनुसार फौजी कीराजस्तो देखिने कीरा दिउँसोको समयमा घामले गर्दा भुइँमा झर्ने र रातको समयमा मकैको बोटमा चढेर खाने गरेको पाइएको छ । मकै र धान बाली लगाइने सो क्षेत्रमा धानमा भने लागेको छैन । मकै बारीमा अन्य घाँस, झारपात भएपनि कीराले मकैको बोट रोज्ने गरेका छन् । आफू ४० वर्षदेखि सो क्षेत्रमा बस्दै आए पनि यस्तो कीरा यसपल्ट पहिलोपल्ट देखिएको स्याङबोले बताए ।

कीरा अन्य स्थानमा पनि तीव्र रुपमा फैलिदैं गइरहेकाले चाँडै नियन्त्रण गर्न नसके सखाप पार्ने उनले बताए । लागेको स्थानमा मकैको खानेकुरा सकिदै जाँदा अन्य स्थानमा सर्दै गइरहेको छ । उनले नगरपालिकाका बाली संरक्षण शाखामा समेज आजै खवर गरेको बताएका छन । गत फागुन अन्तिम साता तिर छरेको मकै यही जेठ अन्तिम साता भाँच्ने समय हुने किसानको भनाइ छ । मकै भाँचेर असारे धान रोप्ने तयारीमा रहेका किसान मकै उत्पादन नहुने चिन्तामा छन् । 

राप्ती नगरपालिकाका बाली संरक्षण अधिकृत श्रीकृष्ण न्यौपानेले झुसिलकीरा प्रजातिको लार्भा कीरा वा कुनै फौजी कीराले मकै नष्ट गरिरहेको हुन सक्ने बताए । उनले किसानको समस्याबारे जनाकारी भईसकेकाले तत्काल प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरिने र कीरा नियन्त्रणमा लाग्ने बताएका छन । तत्काल कीरा नियन्त्रण गर्न नसके उत्पादनमा प्रभाव पर्ने उनको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस