नेकपाको पोलिटब्यूरो र कार्यविभाजन फेरि स्थगित

प्रधानमन्त्री ओली बजेट तयारीमा ब्यस्त रहनु परेपछि जेठ १८ सम्मलाई एकतासम्वन्धि सबै काम स्थगित

सफल खबर संवाददाता

शुक्रबार, १० जेठ २०७६, ०७ : ३७
नेकपाको पोलिटब्यूरो र कार्यविभाजन फेरि स्थगित

काठमाडौं । सत्तारुढ दल नेकपाको पार्टी नेताहरुको कार्यविभाजन र पोलिटब्यूरो गठन प्रक्रिया फेरि पछि धकेलिएको छ । पार्टी एकताको वर्षगाँठ अघि नै यी सबै कामको टुंगो लगाउने नेताहरुले बताएपनि अझै टुंग्गिन सकेको छैन ।

केही दिन अघिसम्म अन्तिम गृहकार्यका लागि दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले अनेकन कोसिस गरेपनि त्यो अन्तिम हुन सकेको थिएन ।

अध्यक्षद्धयले प्रस्ताव तयार पारेपछि सचिवालय वैठक वसेर अनुमोदन गराउने तयारी नेकपाको थियो । तर, गृहकार्य नपुगेको भन्दै सचिवालयको वैठक वस्न सकेको छैन । पोलिटब्यूरो गठन र नेताहरुको कार्यविभाजन टुग्याउन ५ जेठमा सचिवालयको बैठक बोलाएपनि अन्तिम समयमा स्थगित भएको थियो ।

अब यो  बैठक १८ जेठ सम्म बस्न नसक्ने भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली सरकारले जेठ १५ गते संसदमा प्रस्तुत गर्ने सरकारको आगामी वर्षको वजेटमा केन्द्रीत रहेर ब्यस्त रहनु पर्ने कार्यतालिका बनेपछि १८ गतेसम्म एकतासँग सम्वन्धित काम स्थगित भएको छ ।

केन्द्रीय सदस्य विष्णु रिजालले एकता प्रक्रिया लम्विएको पुष्टि गरेका हुन् । उनले सामाजिक सन्जालमार्फत १८ जेठसम्म एकतासम्वन्धि सवै काम स्थगित भएको पुष्टि गरेका हुन् ।

‘पार्टी एकता झन् लम्बिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली बजेट निर्मणमा व्यस्त हुनुपर्ने भएकाले जेठ १८ गतेसम्म एकतासम्बन्धी सबै काम स्थगित भएका छन् । थाहा छैन, यस्तो भाका कति सर्दै जाने हो !’ रिजालले भनेका छन् ।

नेकपाले ३ जेठ २०७५ मा पार्टी एकताको घोषणा गर्दा तिन महिनाभित्र एकतासम्वन्धि सवै काम सक्ने सार्वजनिक घोषणा नै गरेको थियो । तर पार्टी एकता भएकै वर्ष दिन पुगिसक्दा समेत उसले पोलिटब्यूरो गठन गर्न सकेको छैन । केन्द्य्रीय विभाग, आयोगहरु गठन गर्न सकेको छैन । कम्युनिष्ट जेष्ठ मञ्च र सल्लाहकार समिति वनाउन सकेको छैन भने केन्द्रीय नेताहरुको समेत कार्यविभाजन गर्न नसक्दा काम दिन सकेको छैन । जसकाकारण नेकपाका केन्द्रीय नेताहरुनै वेरोजगार अवस्थामा वस्नु परिरहेको छ ।

नेकपाले कुल केन्द्रीय समितिको एक तिहाई अर्थात १४७ जनाको पोलिटब्यूरो बनाउनु पर्नेछ । तर तत्कालिन दुवै पार्टी एमाले र माओवादीभित्र नै पोलिटब्यूरोमा समावेश गर्नुपर्ने नेताहरुको सूचि तयार पार्न अध्यक्षद्दय ओली र प्रचण्डलाई नै सकस परेपछि पोलिटब्यूरो गठन हुन सकेको छैन । पोलिटब्यूरोमा तत्कालिन एमाले तर्फका ८१ र माओवादी तर्फका ६६ जना नेता समेटिने सहमति भने बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस