सिभिलमा प्रहरी परिचालन गरी निगरानी बढाइरहेका छौं : जीसी

आइतबार, २४ चैत्र २०७५, १३ : ११
सिभिलमा प्रहरी परिचालन गरी निगरानी बढाइरहेका छौं : जीसी

नेपाल प्रहरीमा गरेको प्रवेशलाई देश र जनताको सेवा गर्ने अवसरको रुपमा लिने प्रहरी निरीक्षक लोकबहादुर जीसीले इलाका प्रहरी कार्यालय गैंडाकोटको नेतृत्व सम्हालेको ६ महिना भएको छ । यसअघि प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थिए उनी । उनै प्रहरी निरीक्षक जीसीसित गैंडाकोटको शान्ति सुरक्षाको अवस्थाबारे सफल खबरका लागि अजय गोर्खालीले गरेको कुराकानी :

गैंडाकोटमा शान्तिसुरक्षाको अवस्था कस्तो छ ?
पछिल्लो तीन वर्षलाई हेरेर विश्लेषण गर्ने हो भने मुद्दा दर्ता संख्या र आपराधिक घटना क्रमशः घट्दो छ । गैंडाकोट नगरपालिकाभित्रको शान्ति सुरक्षाको अवस्था चुस्तदुरुस्त छ ।

यस क्षेत्रमा हुने आपराधिक तथा अराजक गतिविधि नियन्त्रणका लागि कार्यालयबाट के कस्ता कदम चालिएका छन् ?
विशेषगरी गैंडाकोट नगरपालिकाभित्र घरेलु हिंसा र लागुऔषधसँग सम्बन्धित आपराधिक गतिविधि हुने गरेको पाइएको छ । त्यसको न्यूनीकरणको लागि हामीले समुदाय, टोल एवम् वडा अध्यक्ष तथा स्थानीय सरकारसँग मिलेर उनीहरुसितको सहकार्यमा न्यूनीकरणका कार्यहरु अगाडि बढाइरहेका छौं । नतिजा पनि राम्रै आएको छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटले कहाँदेखि कहाँसम्मको क्षेत्र र कति जनसंख्यालाई सुरक्षा दिइरहेको छ ?
इलाका प्रहरी कार्यालय गैंडाकोटको कार्यक्षेत्र भनेको गैंडाकोट नगरपालिकाभित्रका १८ वटा वडा पर्दछन् । यसको हाइवेमात्रै २२ किलोमिटर छ, जुन नारायणी पुलदेखि झराही खोलासम्म पर्दछ । पछिल्लो जनगणना अनुसार यहाँको जनसंख्या ४६ हजारको हाराहारीमा हो, अहिले त बढिसक्यो, त्यसको यकिन तथ्याङ्कचाहिँ छैन ।

तपाईंहरुलाई काम गर्नलाई स्रोतसाधनको अभाव छ कि छैन ? कार्यालय मातहत कति जनशक्ति रहेको छ ?
स्रोतसाधनको कुरा गर्नु पर्दा हामीसित दुई वटा गाडी छन् । हाम्रो आफ्नो भवन राम्रो नहुँदा प्रहरी कर्मचारी बस्न र खानको लागि पूर्वाधारको अभाव छ । २०४० सालमा बनेको भवनमा नै हामीले वर्तमान गुजार्नु परिरहेको अवस्था छ । जनशक्ति पनि पर्याप्त छैन । इलाका प्रहरी कार्यालयमा जम्मा ३१ जनाको मात्रै दरबन्दी रहेको छ । हाल इलाका प्रहरी कार्यालय गैंडाकोट मातहत अस्थायी प्रहरी पोष्ट बेल्डिहा छ । हामी ४३ जना कार्यरत छौं । कम्तीमा ६० जना भएमा राम्रोसँग काम गर्न सकिन्छ । बेल्डिहामा जस्तै थुम्सीको वरिपरि एउटा अस्थायी प्रहरी पोष्ट बनाइयो भने काम गर्न सजिलो हुन्छ । विशेषगरी सडक दुर्घटनामा हिट एण्ड रनको अवस्थालाई नियन्त्रण गर्न पनि त्यो आवश्यक छ ।

सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरी स्तरबाट के कस्ता क्रियाकलाप भएका छन् ?
बाहिरबाट झट्ट हेर्दा दुर्घटना नियन्त्रणमा प्रहरी सक्रियता कम भएजस्तो देखिन्छ । विकासको क्रमसँगै, जनसंख्या वृद्धिसँगै सवारीको चाप बढ्दो छ तर हामीसँग त्यही पुरानै दुई लेनको सडक छ, त्यो पनि जीर्ण अवस्थामा छ । जसले गर्दा यो क्षेत्रमा सडक दुर्घटनाको समस्या बढी नै छ । त्यसको नियन्त्रणको लागि हामीले विभिन्न समयमा ट्राफिक प्रहरीसँग समन्वय गरेर, विभिन्न एनजीओ÷आइएनजीओ अनि सहकारी संस्था, बैंकहरुसित समन्वय गरेर, स्कूले भाइबहिनीहरुलाई पनि लिएर जनचेतनामूलक काम गर्दै आएका छौं । पैदलयात्री कसरी हिँड्नु पर्छ ? ड्राइभिङ गर्दा कसरी गर्नु पर्छ भनेर चालकहरुलाई पनि सचेत गराउँदै आएका छौं ।

यस क्षेत्रमा घरेलु मदिरा उत्पादन र बिक्रीको समस्या छ कि छैन ?
गैंडाकोट नगरपालिकाको वडा नं. ३ र १८ मा जनजातिको बसोबास बढी छ । उहाँहरुले घरेलु मदिरा उत्पादन गर्ने, सेवन गर्ने गर्नु हुन्छ । यसले घरेलु हिंसा बढ्ने गरेको पाइन्छ । त्यसको नियन्त्रणको लागि हामीले सम्बन्धित वडाका प्रतिनिधिसित समन्वय गरेर काम गरिरहेका छौं । त्यसलाई अझ नियन्त्रण गर्न सकियो भने घरेलु हिंसालाई धेरै हदसम्म न्यूनीकण गर्न सकिन्छ ।

अनि लागुऔषधको समस्या नि ?
लागुऔषधको समस्या पहिलेभन्दा कम छ । १५ देखि २५ वर्षका युवायुवतीमा लागुऔषध प्रयोग गर्ने प्रवृत्ति बढी पाइएको छ । उनीहरुलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौं । लागुऔषध प्रयोग गरिसकेको वा गर्दै गरेको अवस्थामा हामीले महिनामा १५ जना फेला पारेका छौं । उनीहरुलाई नियन्त्रणमा लिएर अभिभावक बोलाई सम्झाईबुझाई गर्ने, पुनस्र्थापना केन्द्रमा पठाउने र केहीलाई मुद्दा चलाउने काम गरिरहेका छौं ।
उनीहरुलाई लागुऔषध सेवनबाट टाढा राख्ने प्रयास हामीले गरिरहेका छौं । यसो हुँदै गर्दा त्यो लक्षित वर्गका लागि हामीले अझै प्रभावकारी ढंगले काम गर्न सक्यौं भने यो क्षेत्रमा पनि धेरै राम्रो काम हुनेछ । 

यतिबेला सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधि नियन्त्रणमा लागेको छ । यसै क्रममा गैंडाकोटबाट विप्लवका कार्यकर्ता कोही समातिएका छन् ?
हालसम्म हामीले कोही पनि समातेका छैनौं । सरकारको त्यो निर्णयपछि हामीले खोजी कार्य जारी राखेका छौं । गैंडकोटमा त्यस्ता व्यक्ति रहेको रेकर्डमा देखिएको छैन । तर अन्तबाट समेत आउन सक्ने सम्भावनालाई मध्यनजर गरेर सिभिलमा प्रहरी परिचालन गरी निगरानी बढाइरहेका छौं ।

बलात्कार र हत्याका घटना भएका छन् कि छैनन् ? छन् भने अपराधी पक्राउ परे कि परेनन् ?
म यहाँ आइसकेपछिको छ महिनामा कुनै पनि कर्तव्य ज्यान तथा हत्याको घटना भएको छैन । जबरजस्ती करणीका दुई वटा घटना दर्ता गरिएकोमा दुई वटै घटनाका दोषीलाई पक्राउ गरेर अनुसन्धानपश्चात् दुवै प्रतिवादी अहिले कारागारमा छन् ।

तपाइँले प्रहरी सेवामा कहिलेदेखि कुन पदबाट जागिर सुरु गर्नु भएको हो ? कहाँसम्म पुग्छु भन्ने लागेको छ ?
२०७० साल चैत ९ गतेदेखि मैले प्रहरी निरीक्षक पदबाटै जागिर सुरु गरेको हुँ । म कहाँसम्म पुग्छु भन्ने मेरो व्यक्तिगत कुरा होइन । मेरो अहिलेसम्मको काम र भविष्यको काम कस्तो रहन्छ ? संगठन र राष्ट्रलाई मैले के दिन सक्छु ? त्यस अनुसार नै मेरो वृत्तिविकास हुने हो ।

प्रतिक्रिया दिनुहोस