‘रोगले सबै निल्यो श्रीसम्पत्ति, हिसाब नगरौँ पागल भइन्छ’

सफल खबर संवाददाता

शनिबार, ०२ चैत्र २०७५, १५ : २१
‘रोगले सबै निल्यो श्रीसम्पत्ति, हिसाब नगरौँ पागल भइन्छ’

चितवन । काठमाडौँभित्रको पनि राजधानी भनेर चिनिने असन बजारमा लौ त भनम् भने सानोतिनो महल नै थियो । काठमाडौँमा विशाल गार्मेन्ट उद्योग थियो । पुख्र्याैली पेसा घिउ, तेलको व्यापार पनि भइरहेको थियो । व्यवसाय दिनानुदिन जमिरहेको थियो । कमाइ प्रशस्तै हुन्थ्यो । लाग्थ्यो, ‘भगवान दाइना’ भएपछि कसको के नै लाग्छ र ? 
२०५२ साल उता राजु अधिकारीको जीवन सुन्दर थियो । परिवार सुखसयलमा रमाइरहेका थिए । राजुको व्यवसाय फस्टाएको देख्दा छरछिमक पनि चकित हुन्थे र भन्थे, ‘भाग्य त राजु अधिकारीको जस्तो पो हुनुपर्छ ।’ 
तर नियतिको खेल भनाँै या समयको भेल भनौँ, राजुको आज उपचार गर्दागर्दै सबै सम्पत्ति सक्किएको छ । हिजो आसिन महलमा बसेका राजु आज डेरामा बसाइँ सरेका छन् । उनको श्रीसम्पति सबै रोगले हरण गरेको  छ । २३ वर्ष भयो रोगले उनको पैसा निल्न थालेको । अझै छोडेको छैन निल्न । कहिलेकाँही उनलाई भन्न मन लाग्छ, ए, रोग  मसँग कति लुटिरहन्छस् ?
ज्वरोले दियो मृर्गौला फेलको उपहार
२०५२ साल । महिना बिर्से उनले । सुरुमा त उनलाई ज्वरो आएको थियो । मेडिकल गएर औषधि खाए । ज्वरो निको भयो । एकदुई दिनमै पूरा आराम  भयो उनलाई । ज्वरो त निको भयो भन्ने ठाने उनले । तर त्यसको केही दिनपछि उनलाई वान्ता सुरु हुन थाल्यो । 
जे खाए पनि हुलुल्लै आउने । पेटमा केही नअडिने भयो । रातभरि निद्रा परेन । पानी खाए पनि हुलुल्लै आइरहेको छ । ज्वरो त निको भयो, तर  वान्ता सुरु भयो । झिसमिसेमै अस्पताल गएर जाँच गरे । सबै रिपोर्ट आयो । रिपोर्ट आएपछि उनी छाँगाबाट खसेजस्तो भए । चौरतिर अन्धकारमात्र देख्न थाले । उनको मृगौला फेल भइसकेको रहेछ । 
सुरुमा त निको होला नि भन्दै उपचार गर्दै गए, सम्पत्ति सकिँदै गयो, तर पूरा निको हुने कुनै लक्षण देखिएन । उनी भन्छन्, ‘यो त आजीवन सताउने रोग रहेछ ।’

२३ वर्षलाई फर्केर हेर्दा 
उनलाई मृगौला रोगले समातेको २३ वर्ष भएको छ । उनी विगतलाई फर्केर हेर्न चाहँदैनन् । जतिबेला उनलाई रोगले समात्यो, त्यतिबेला ३० वर्षको लक्का काम गर्ने उमेर थियो । श्रीमती र डेढ वर्षकी छोरी थिइन् । उपचार गरे निको होला नि भन्दै खर्च गर्दै गए, तर रोग २० को १९ भएन । अहिले उनको लागि वीर अस्पताल पानीपधेँरो जस्तो भएको छ । २३ वर्षदेखि नियमित वीर अस्पतालमा मृगौला डायलासिस गराइरहेका छन् उनले । 
उनी भन्छन्, ‘आफू खटिन नसक्ने भएपछि गार्मेन्ट उद्योग नै बन्द गरिदिएँ, अरुको भरमा कतिन्जेल घाटा खाएर बस्ने ?’ सम्पत्तिमा त सबैको हाइहाई थियो, तर रोगले उनलाई च्याप्दै गएपछि आफन्त, नातागोता...। उनी गुनासिए, ‘जस्तो दुःख परे पनि कससँग हात पसारिन, आफ्नै पूरा सम्पत्ति सिध्याएँ । मासिक ५० हजारभन्दा बढी मेरो उपचारमा खर्च हुन्थ्यो ।’
सुरुमा त उनलाई उमेर छ, कमाइन्छ भन्ने लागेको थियो, तर उपचार गर्दागर्दै उमेर पनि ढल्कदै गयो । विगतलाई सम्झदै भन्छन्, ‘घर, खेत, गाडी सबै बेच्दै उपचार गर्दागर्दै श्रीसम्पत्ति सकियो, अहिले त भाडामा बसेको छु, कति सम्पत्ति सकियो कुरै नगर्नूस, हिसाब गर्न थाल्ने हो भने त पागल भइन्छ ।’
उनले मृर्गौला प्रत्यारोपणको लागि डोनर खोजेका पनि हुन् तर पाएनन् । दिन चाहनेहरुको पनि मिलेन । दिल्लीको अस्पतालमा एकजना बालकको ब्रेन डेथ भयो, अस्पतालले मृर्गौला प्रत्यारोपणको लागि बोलायो । उनी त्यहाँ गए, तर ती बालकको अभिभावकले पछि दिन्न भने । उनी भन्छन्, ‘त्यसपछि मृर्गौला प्रत्यारोपणको आस मरिसकेको छ ।’
यसरी भयो डायलाइसिस निःशुल्क
२०६९ सालमा नेपाल किड्नी समाज गठन भयो । उनीससहित केही मृगौला फेल भएका साथीहरुले १७ बँदै माग राख्दै आन्दोलन गरे । त्यही आन्दोलनले अहिले सरकारले निःशुल्क डायलासिसको व्यवस्था गरेको छ । उनी भन्छन्, ‘त्यो बेलामा निःशुल्क डायलासिस थिएन, धेरै आफ्नो सम्पत्ति सकेर मर्थे, तर अहिले केही राहत भएको छ ।’
मिर्गौला फेल भएर डायलाइसिसमा बसेका बिरामीले आफ्नो स्वास्थ्यको आफैंले ख्याल गर्नुपर्ने उनको सुुझाव छ । भन्छन्, ‘नियमित आफ्नो स्वास्थ्यको जाँच गर्नुपर्छ । डायलाइसिसमा नियमित आउनुपर्छ । जे पायो त्यही खानु हुँदैन । सक्ने काम गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस