सिके राउतसँग प्रचण्डको तुलना गर्दा प्रधानमन्त्रीको आलोचना

सफल खबर संवाददाता

आइतबार, २६ फागुन २०७५, १५ : ११
सिके राउतसँग प्रचण्डको तुलना गर्दा प्रधानमन्त्रीको आलोचना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतसँग पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तुलना गर्दा सामाजिक सञ्जालमा प्रधानमन्त्रीको आलोचना भइरहेको छ । नेपालबाट मधेसलाई स्वतन्त्र बनाउने मूल एजेण्डासहित पृथकतावादी आन्दोलनमा उत्रिएका सिके राउतसँग ११ बुँदे सम्झौता  कार्यक्रममा प्रधानमन्त्री ओलीले राउतलाई प्रचण्डसँग तुलना गरेका थिए । प्रधानमन्त्री केपी ओलीले व्यक्त गरेका अभिव्यक्ति यतिखेर आलोचना बनिरहेको छ । सिके राउतसँगको सहमतिको स्वागत र विरोध भइरहँदा प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना पनि सतहमा आइरहेको छ ।  
प्रधानमन्त्री तथा नेकपाका अध्यक्षबाट अर्का अध्यक्ष प्रचण्डबारे व्यक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा पहरो आइरहेको छ । यद्यपी प्रसङ्ग सामान्य थियो, तर सामाजिक सञ्जाल आलोचनाले भरियो । प्रधानमन्त्रीले भनेका थिए– सिके राउतमा पनि प्रचण्डजी जस्तै तत्काल निर्णय गर्न सक्ने क्षमता रहेछ । अर्थात् परिस्थितिको आँकलन गरेर निर्णय गर्ने प्रचण्डको क्षमता जस्तै सिके राउतको पनि क्षमता रहेछ । यो सामान्य अर्थमा व्यक्त भएको थियो, समग्र व्यक्तित्वको तुलना थिएन होला । तर प्रचण्ड र सिके राउतबीच कुनै पनि कोणबाट तुलना हुन नसक्ने भन्दै आलोचना भइरहेको छ ।  
पृथकतावादी आन्दोलनलाई परित्याग गरेर नेपालको सार्वभौमसत्ता, अक्षुणता तथा अखण्डताका पक्षमा सिके राउत उभिएको अर्थमा प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएका थिए । उनको आशय सम्भवतः जसरी प्रचण्डले हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आउने ऐतिहासिक निर्णय गरे, त्यही अनुरुप सिके राउतले पनि निर्णय गर्न सके भन्ने थियो होला ।
तर प्रधानमन्त्रीको यही अभिव्यक्ति अहिले उनका लागि आलोचनाको मुख्य विषय बनेको छ । माओवादी तप्कादेखि गैर माओवादी तप्काले समेत प्रचण्डलाई सिके राउतसँग तुलना गरेको भन्दै व्यापक आलोचना गरिरहेका छन् । 
सिके राउतको राजनीतिक दर्शन नै नभएको, उनी देश विखण्डनमा लागेको, उनको राजनीतिक आन्दोलनको कुनै दिशा नभएको, देशलाई टुक्र्याउन खोज्ने व्यक्तिलाई नेपालको आमूल रुपान्तरणको सपनालाई व्यवहारमा उतार्न खोज्ने प्रचण्डसँग तुलना गरिएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध छ्याप्छ्याप्ती भएको छ ।
प्रचण्ड नेपालमा माओ स्कूल अफ थाउट अर्थात माओको विचारलाई श्रृंखलाबद्धरुपमा विकास गर्दै व्यवहारमार्फत कार्यान्वयन तर्फ अघि बढाउने नेता हुन । शक्ति सन्तुलनको अवस्थामा उनले भनेजस्तो गरी जनवादी क्रान्ति अघि बढेन । र, केही कुरा त्याग गर्ने तर केही हासिल गर्ने अवस्था सिर्जना गरेर प्रचण्ड शान्तिपूर्ण राजनीतिमा आएका हुन । प्रचण्डको शान्तिपूर्ण राजनीतिमा अवतरणले देशमा गणतन्त्रको वातावरण सिर्जना गर्यो भने मात्रात्मकरुपमा कैयन् उपलब्धिसहितको संविधान जारी भयो ।
संविधानमा आफ्नो फरक मत अझै पनि कायम भएको प्रचण्डले बताउँदै आएका छन् । प्रचण्डले त्यही संविधान कार्यान्वयन गर्ने सिलसिलामा पहाड, मधेश र हिमालको एकताका पक्षमा निरन्तर आफूलाई व्यस्त राखे । मधेसमा आगो बलेको बेला, मधेस नेपालमा रहने या नरहने भन्ने अवस्था भएको बेला उनले निकै मेहनत गरेर त्यो आगो रोक्न सफल भए ।
२०७४ वैशाख ९ गतेका दिन मधेसी दलहरुसँग निर्णायक वार्ता गर्न उनी सफल भए । उनी आफै मधेस दौडाहामा निस्किए । स्थानीय तहको निर्वाचनको बेला तत्कालिन एमाले र नेपाली कांग्रेसका नेताहरु समेत मधेसमा छिर्न नपाएको बेला प्रचण्ड धनुषादेखि बारा, पर्सा, महोत्तरी, सिरहा सप्तरीका गाउँबस्ती पुगे । उनको एउटै ध्येय राष्ट्रिय एकता थियो ।
मधेससँग लभ परेको भन्ने प्रचण्ड र मधेसलाई नेपाललाई अलग पार्नुपर्छ भन्ने सिके राउत । प्रसँगवश एउटा सन्दर्भमा प्रधानमन्त्रीले दुबैको तुलना गर्दा सामाजिक सञ्जाल आलोचना भइरहेको छ । 
जनकपुरको रामानन्द चोकमा स्थानीय तहको निर्वाचनको बेला स्थानीयसँग प्रचण्ड प्रचण्डको कोशीसले सफलता पायो । पहिलो चरणको निर्वाचन हुने कि नहुने, दोश्रो चरणको अवस्था के होला भन्ने धरमर भएको बेला, राज्य र मधेसको बीचमा, पहाडी र मधेसको बीचमा चरम तिक्तता चुलिएको बेला मधेसमा उनले गरेको कसरतकै फरस्वरुप मधेसी दलहरु समेत निर्वाचनमा होमिए । 
 सामाजिक सञ्जालमा पूर्व माओवादीका स्थानीय कार्यकर्तादेखि केन्द्रीय नेताहरुले यसबारेम असन्तुष्टि पोखेका छन् । केहीको प्रश्न छ– देशको नेतृत्व गर्ने सक्ने क्षमता भएका राष्ट्रनायक प्रचण्ड जस्तो ब्यक्तीसँग सुके राउतको तुलना गर्ने अधिकार कस्ले दियो ? गैर माओवादी समर्थकहरुले समेत यो तुलनामा टिप्पणी गरेका छन् ।
एउटा ट्विट छ– ओलीले सिके राउतलाई प्रचण्डसंग तुलना गरेर प्रचण्डको अपमान गरेको हो कि सिके राउतको सम्मान वा दुबै एकै ड्याङ्गको मुला हुन् भन्न खोजेको राम्ररी बुझिएन । माओवादी समर्थक एकजना ट्विटरमैं लेख्छन– उनी भलै प्रचण्ड बाट पुष्पकमल बने होलन,तर उनी महान १० बर्षे जनयुद्धका नायक हुन,उनि प्रती आज पनि मेरो गहिरो सम्मन छ, प्रचण्ड र सिके राउत एउटै होइनन। यो तुलना गर्नै नहुने बिषय हो।
प्रधानमन्त्रीको आशय त्यसरी व्यक्तित्व तुलना गर्ने नभएर निर्णय गर्ने क्षमताका बारेमा मात्रै तुलना गरेकोले यसलाई त्यति गलत अर्थमा समेत लिन नहुने केही बताउँछन् ।
कतिपयले भने प्रधानमन्त्रीको उखान टुक्काको शैलीसँग यसलाई जोडेर हेरेका छन । एकजनाले लेखेका छन्– सिके राउतको पछिल्लो घटनालाई रत्नाकार र बाल्मिकीसँग तुलना गर्नेले यो भुले की नेपालमा अरु नी टुक्का छन्, सर्पलाई दुध पिलाए नी बिष नै ओकेल्छ ।
सिके राउतले इमान्दारितासाथ नेपाली राजनीतिमा आउँछन भने त्यो स्वागतयोग्य हुने अधिकांशको धारणा छ । तर सम्झौताबारे सिके राउतले व्यक्त गरेको धारण, त्यसपछि उनीहरुले दिपावली गर्दा सम्झौता विरित स्वतन्त्र मधेसका पक्षमा गरेको प्रचारबाजी आदिले उनी यो सम्झौतामा इमान्दा नभएको बरु उनलाई राज्यले अनावश्यक स्पेष दिएको भन्दै सकारत्मकमा आशंकाले बास लिएको छ ।
पार्टीका एकताका पक्षमा हरेक जसो सम्बोधनमा अभिव्यक्ति दिँदै आएका प्रचण्डले खुलेर यो विषयमा टिप्पणी गरेको हेर्न खोजेका छन् धेरैले ।  कतिपयले त्यसरी तुलना गर्दा समेत प्रचण्ड केही नबोलेका भन्दै टिप्पणी समेत गरेका छन् । पार्टीका अध्यक्ष भएका नाताले प्रचण्डका अगाडि भने यो विषयमा टिप्पणी गर्न सक्ने अवस्था नभएको समेत केहीको ठम्याई छ । अर्कोतर्फ प्रधानमन्त्रीको आशय त्यसरी व्यक्तित्व तुलना गर्ने नभएर निर्णय गर्ने क्षमताका बारेमा मात्रै तुलना गरेकोले यसलाई त्यति गलत अर्थमा समेत लिन नहुने केही बताउँछन् ।
सम्भवतः प्रचण्डले यो विषयमा टिप्पणी गर्ने देखिन्न । यद्यपी विगतमा सिके राउतका पृथकतावादी आन्दोलनमाथि चरम टिप्पणी उनले गर्दै आएका थिए । देशमा बिखण्डनकारी शक्तिको उदय र बिस्तारलाई उनले निकै चनाखोपूर्णरुपमा आलोचना गर्दै एकताका लागि मधेस, पहाड र हिमालमा सन्देश फैलाए पनि । तर अहिलेको परिस्थितिमो सिके राउतले विगतका सबै गतिविधि छोडेर राष्ट्रिय एकताका पक्षमा लाग्ने बताएपछि प्रचण्डका लागि समेत यो सकारात्मक विषय भएको उनी नजिकको श्रोत बताउँछ । 
.

प्रतिक्रिया दिनुहोस