गैंडालाई चार वर्षले जन्मायो खाग

सफल खबर संवाददाता

शनिबार, २५ फागुन २०७५, १५ : २७
गैंडालाई चार वर्षले जन्मायो खाग

चितवन । चितवन राष्ट्रिय निकुञ्जका पूर्वअधिकारी कमलजंग कुँवरले २०६६ साल साउनमा एउटा पुस्तक प्रकाशन गरे, जसको सर्वत्र चर्चा भयो । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा तस्करहरुको वास्तविक अवस्थासहितको कथाव्यथा पुस्तकमा उतारिएको थियो । पुस्तकको अहिले पनि रोयल्टी आइरहेको छ । हालसम्म पुस्तक १० हजार प्रति विक्री भइसकेको छ । चित्रबहादुर कुँवर स्मृति गैंडा संरक्षण प्रतिष्ठानले पुस्तक बजारमा ल्याएको थियो । अहिले त्यही पुस्तकको विषयवस्तुलाई लिएर चलचित्र खाग बनेको छ । सो चलचित्र देशभरका हलहरुमा प्रदर्शन भइरहेको छ ।

पुस्तक र यससँग जोडिएका हरेक विषयमा लेखक कुँवरले खोतलेका भित्री गन्थनहरु उनकै शव्दमा : 
म जागिरको सिलसिलामा चितवन राष्ट्रिय निकुञ्ज पुगेँ । म चितवनमा गएपछि मेरो जिम्मेवारी गैँडा संरक्षण हो भन्ने लाग्यो । देशमा द्वन्द्वको अवस्था थियो । त्यतिबेला गैंडा तस्करहरुले मारेर कता सिद्धिने हुन् कि जस्तो भएको थियो । गोली पड्केको आवाज सुनेपछि हामी त्यो ठाउँमा जान्थ्यौँ । जाँदा खाग काटेर लगिसकेका हुन्थे । गैंडामात्र ढलेको देखिन्थ्यो । यो घटनाले मलाई भित्रैदेखि गहिरो चोट पारेको थियो । त्यही सोचर म आफ्नो कुशलतापूर्वक जिम्मेवारीमा लागेको थिएँ । यस्तो चुनौतीपूर्ण अवस्थालाई हामीले बिस्तारै निराकरण गर्दै अगाडि बढेका थियौँ । सफल पनि भएका थियौँ । ०५९मा गैँडा संरक्षणका लागि जिम्मेवारी पाएपछि हामीलाई सफलता हात लाग्दै गइरहेको थियो ।

तर एकदिन...
गैंडा संरक्षणमा लागेको चार वर्ष हुँदै थियो । एउटा यस्तो घटना घट्यो, जसले मलाई पनि भावविह्वल बनायो । निकुञ्जको हिरासतमा एकजनाको मृत्यु भयो । यातना दिएर मृत्यु भएको भन्ने आरोप हाम्रो टिमलाई लाग्यो । यस घटनालाई अतिरञ्जित गरियो । अफवाहहरु फैलाइयो । हामीलाई दोषी देखाउने गरी अनुसन्धान भयो । प्रधानमन्त्रीदेखि, प्रहरी प्रशासन र न्यायालयसम्मले मलाई दोषी देखाए । 
पुर्पक्षको लागि मलाई थुना पठाइयो । निकुञ्जमा स्थानीयको मृत्यु हुँदा म नेपालमा थिइनँ, भारत गएको थिएँ । तर पनि मलाई न्यायालयले दोषी देखायो । यो घटनाको मेडिकल रिपोर्ट पनि त्यतिबेला विवादास्पद देखिएको थियो । यो देशको सम्पदा गैंडा जोगाउन जो दिनरात खटियो, त्यो निर्दोष थियो, त्यो माथि नै यत्रो ठूलो सजायँ दिइयो । मलाई कहिल्यै पनि डर भएन । किनकी यो घटनामा म निर्दोष थिएँ, तर पनि परिवारमा भने केही पीडा भएको थियो । 
मैले ०६३ कात्तिकदेखि जेलमै पुस्तक लेख्न थालेँ । चार वर्ष गैंडा संरक्षणमा बिताएको क्षणलाई पुस्तकमा समेट्ने प्रयास गरेको छु । तस्करहरुको जालो भत्काएदेखि आफू जेल परेको खबरसम्म पुस्तकमा राखेको छु । आज पुस्तकलाई नेपाली दाजुभाईहरुले मनपराउनुभएको छ । यही पुस्तकलाई लिएर नेपाली चलचित्र खाग निर्माण पनि भएको छ । मलाई गैंडाको चोरीसिकारीको अन्तर्वस्तु आम जनतालाई थाहा होस् अनि संरक्षणको चेतना जागृत होस् भन्ने हेतुले पुस्तक लेखेको हुँ । 

चलचित्रको सोच 
मैले पुस्तक लेख्दा नै फिल्म पनि बनाउन मिल्ने गरी लेख्ने कोशिश गरेको थिएँ । कुनै दिन फिल्म पनि बनाउने भन्ने सोच आयो भने त फिल्म पनि बनाउनुपर्छ भन्ने कुरा मैले त्यतिबेला सोचिसकेको थिएँ । यो फिल्मीशैलीमा लेखेको पुस्तक हो । आज खुसी लागेको छ, मैले लेखेको पुस्तकमा आधारित रहेर फिल्म निर्माण भएको छ । पुस्तक प्रकाशित भएपछि यो विषयलाई लिएर फिल्म बनाउनु भनेर एक पत्रकारले सुझाव दिनुभएको थियो । आज त्यो साकार भएको छ । हलहरुमा फिल्म चलिरहेको छ । गैँडालाई चार वर्ष पुस्तक पढेपछि मनोज पण्डितजीले फिल्म बनाउने प्रस्ताव राख्नु भयो । मलाई उहाँको प्रस्ताव मन प¥यो अनि हामीले फिल्म बनाउने निर्णय ग¥यौँ ।​

चलचित्र बनाउँदा गाह्रोसाह्रो 

चलचित्रमा भन्दा कितावमा विस्तृत रुपमा व्याख्या गर्न सकिन्छ भने चलचित्रको छोटो समयमा सबै कुरा समेटेर प्रस्तुत गर्नु पर्दा अलि कठिन नै हुनेरहेछ । कितावमा समयको सीमा हुँदैन भने चलचित्रमा समयको सीमामा बाँधिनु पर्ने हुनेरहेछ ।  मलाई चलचित्र निर्माणको बारेमा खासै ज्ञान थिएन त्यसैले मैले चलचित्र निर्माण कार्यको सम्पूर्ण जिम्मा मनोज पण्डितजीले लिनु भएको थियो । तर निर्माण गर्दा लागेको समय अवधि, आर्थिक स्रोत खोज्नुपर्ने, छायाङ्कनका लागि व्यवस्थापनका अन्य तारतम्य मिलाउनु पर्ने, चलचित्रसँग सम्बन्धित कागजपत्र मिलाउनु पर्ने हुँदा चुनौतीपूर्ण, प्रतिक्षा र धैर्यता गर्नु अलि कठिन नै थियो । 
हाम्रो फिल्ममा सबै उमेर समूहका दर्शक आकर्षित भइरहेको हामीले पाएका छौँ । मेरो पुस्तक पढेका, संरक्षणका विषयमा नजिकबाट नियालिरहेका यस चलचित्रका खास दर्शक हुन् । धेरै किसिमका तस्करीमध्ये गैँडाको खाग तस्करी रोक्नुपर्छ, यसलाई पर्यापर्यटनका माध्यमबाट देशको समृद्धिसँग जोड्नु पर्छ भन्नेहरु नै दर्शक बनिरहेका छन् । 

अबको गैँडा संरक्षणको पाटो
|गैंडा संरक्षणमा अझै पनि चुनौती छ । फिल्ड तहमा पनि यदाकदा देखिन्छ, नीतिगत तहमा, राजनीतिक तहमा, कार्यान्वयन र न्यायिक क्षेत्रमासमग्रमा चुनौतीको अवस्था रहेको छ । निकुञ्ज, सुरक्षा निकाय र स्थानीय समुदायबीचको प्रभावकारी समन्वय हुन सकेन भने यो सबैभन्दा चुनौती पूर्ण हुुन जान्छ । त्यसैले यी सबैको समन्वय र सहकार्य कायम गर्नु नै सबैभन्दा ठूलो चुनौती हो । 
गैँडाको खागको बढ्दो मागका कारण यो गिरोह कहिले निष्कृय हुुने वा अन्यत्र देशमा जाने र हाम्रो कमजोर अवस्था फेला पारेमा फेरि सक्रिय हुने गरेको पाइएको छ । तस्करी संजाल समाप्त भयो भनेर ढुक्क हुने अवस्था छैन । मौका पाउँदा पुन टाउको उठाउने चेष्टा पटकपटक भइरहेको पाइन्छ । सजगता अपनाउन जरुरी छ । 


 

प्रतिक्रिया दिनुहोस