अन्तर्राष्ट्रिय महिला दिवस

यसरी पुगे ८ नारी नेपालको उच्च शिखरमा

सफल खबर संवाददाता

शुक्रबार, २४ फागुन २०७५, १२ : ४६
यसरी पुगे ८ नारी नेपालको उच्च शिखरमा


चितवन । आज अन्तर्राष्ट्रिय महिला दिवस । महिला भन्ने बितिकै हाम्रो सामाजिक दृष्टिकोण फरक रहँदै आयो । महिला र पुरूषबीचको विशाल खाडलले महिलालाई अगाडि बढ्नको लागि सधैँ रोक्ने प्रयास भयो । जति पुरूषप्रति समाज उदार बन्यो त्यति नै महिलाप्रति अनुदार बन्यो । जसको फलस्वरुप महिलाले पुरूषसरह शिक्षा, कामको स्वतन्त्रता केही पनि पाउन सकेनन् । तर त्यसका बाबजुत पनि महिला कहिल्यै पछि हटेनन् । 
यी सब समस्यालाई चिर्दै अगाडि बढ्ने कोशिस गरिरहे र सफल पनि भएका छन् । समय अनुकुल र परिस्थितिअनुसार महिलाले आफूलाई काली, शक्ति स्वरुप तथा अन्य देवीको रुप धारण गरेका हुन्छन् । नारीका यही विभिन्न रुपका कारण समाज व्यवस्थित र अनुशासित हुन सकेको छ । आज अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा देशका सफल नारीहरुलाई सफल खबरले उतारेको छ । कसरी सफलताको शिखरमा पुगे यी सफल नारीहरु ? उनीहरुकै संघर्षको कथा यहाँ प्रस्तुत गरिएको छ :

अनेरास्ववियुदेखि देशको बागडोरसम्म
विद्यादेवी भण्डारी, राष्ट्रपति

भोजपुरबाट विद्यार्थी राजनीतिमा उदाएकी विद्यादेवी भण्डारी नेपालको प्रथम महिला राष्ट्रपति हुन् । उनी दुई पटकसम्म राष्ट्रपति बन्न सफल महिला हुन् । जननेता मदन भण्डारीकी श्रीमतीसमेत रहेकी उनी २०५० सालको चुनावमा कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर संसदीय राजनीतिमा होमिएकी थिइन् । गणतान्त्रिक नेपालको पहिलो महिला राष्ट्रपति बन्न सफल उनी एक उदारणीय व्यक्तित्व हुन् । वातावरणमन्त्री, रक्षामन्त्री हुदैँ नेपालकै अभिभावकत्व निर्वाह गर्ने पद राष्ट्रपति बन्न सफल भएकी उनी राजनीतिमा मात्र नभएर पारिवारिक जीवनमा समेत सफल रहिन् । 
यसो त पहिलो महिला राष्ट्रपति बन्न सफल उनले आफ्नो कार्यकाल सफलता पूर्वक पूरा गरिन् । हाल दोस्रो कार्यकाल सम्हालिरहेकी छन् । माने भन्ज्याङ भोजपुरमा जन्मिएकी भण्डारी एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुबाट आफ्नो राजनीतिक यात्रा सुरू गरेकी थिइन् ।
बोहरेश्वर प्राथमिक विद्यालय भोजपुरबाट प्राथमिक शिक्षा गरेकी उनले भोजपुरबाटै एसएलसी उत्तीर्ण गरेकी थिइन् । भोजपुर क्याम्पसमा आइए अध्ययनको थालनी सँगै विसं २०३५ देखि नेकपा मालेका युवा लिगमा संगठित हुँदै विद्याले राजनीतिक जीवनको थालनी गरेकी थिइन् । भूमिगत अवस्थामा विवाह बन्धनमा बाँधिएकी उनी आफ्ना श्रीमान्को जीप दुर्घटनामा मृत्यु भएपछि राजनीतिमा पुनः सक्रिय भएकी हुन् । 
स्थानीय चुनाव, प्रतिनिधि तथा प्रदेश निर्वाचनपछि तेस्रो राष्ट्रपति निर्वाचनको बेलामा चौतर्फी विरोध नभएको भने होइन तर समय, योग्यता र कार्यक्षमताले गर्दा दोस्रो पटक पनि राष्ट्रपति बन्ने अवसर उनैको पोल्टोमा आयो । उग्ररुपमा राजनीतिक जीवनको चर्चा भए पनि भण्डारी सफल, अब्बल महिला तथा राजनीतिज्ञको रुपमा समाज र राष्ट्रमा परिचित छिन् ।
आफ्नो उर्वर समय राजनीतिमा बिताएकी उनले परिस्थिति अनुसार निर्णय गर्न सक्ने निडर नेताको रुपमा आफ्नो छवि बनाइन् । राजनीति तथा महिलाहरु सेवामूलक कार्यमा संलग्न भएमा बिग्रन्छन्, महिलाहरु आरक्षणमा मात्र सिमित रहनुपर्छ, महिलाले नेतृत्व लिन सक्दैनन् भन्ने धारणालाई पछि पार्न सफल उनलाई धेरै महिलाहरुले आफ्नो आइडलको रुपमा लिने गरेका छन् । 
गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वािचत हुनु पूर्व उनी एक राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी अध्यक्षसमेत थिइन् । महिला तथा बालबालिकाको क्षेत्रमा विशेष योगदान समेत पु¥याउँदै आएकी उनी पुरूष प्रधान समाजका लागि हठ सोच भएकी व्यक्ति हुन् । महिला अधिकारका लागि लडेर देशको बागडोर सम्हाल्न सफल व्याक्तित्व हुन् ।


सिएनए हिरोदेखि प्रदेश प्रमुखसम्म 
अनुराधा कोइराला

सामाजिक क्षेत्रमा सफल अनुराधा कोइरालाको जन्म ओखलढुंगा जिल्लाको रूम्जाटारमा भएको हो । उनका बाबु कर्णेलप्रताप सिंह गुरूङ र आमा लक्ष्मी गुरूङ हुन् । उनी सानैदेखि सामाजिक क्षेत्रमा काम गर्न रूचि राख्थिन् । विशेषगरी विभिन्न देशमा विभिन्न माध्यमबाट नेपाली चेलीबेटी बेचिदै आएको र सकेसम्म बेच्न नदिने र बेचिएका चेलीलाई उद्धार गर्ने कार्य गर्दै आएको संस्था माइती नेपालको संस्थापक हुन् उनी । सिएनए हिरो अवार्ड पाउन सफल उनी पछिल्लो समय नेपाली राजनीतिमा समेत सक्रिय रहेकी छन् ।
माइती नेपालमा प्रवेश गर्नु पूर्व गौशला बसाइँ भएकी अनुराधा पशुपतिको नियमित दर्शन गर्ने गर्थिन् । सोही क्रममा पशुपति परिसर बाहिर बाटोमा बच्चा अगाडि राखेर भिक्षा माग्नेहरू प्रशस्त देखा पर्थे, उनलाई त्यो दृष्य देख्दा मनमा प्रश्न उब्जन्थ्यो । 
यसरी दिनभरी सडकमा मागेर राति आकाशको ओत लाग्नेहरू यौनजन्य हिंसाबाट टाढा रहन सक्लान त ? यही प्रश्नको उत्तर खोज्ने क्रममा एक मगन्ते महिलासँगको वार्तालापबाट थाहा भयो उनको शंका ठीक रहेछ । यौनजन्य हिंसाबाट मुक्त गर्न उनले भेटिएकामध्ये नौ जनालाई सहयोगस्वरूप कोठा लिन तथा नाङ्लो पसल थाप्न प्रतिव्यक्ति १ हजार रूपैयाँका दरले उपलब्ध गराएर उनले समाजसेवाको बाटो प्रारम्भ गरेकी थिइन् ।
महिलाको क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच बोकेर त्यसपछि उनले आफ्नो बचत रकमको केही हिस्सा जोगाउन थालिन् र आँफूले लगानी गरेर पसल सुरु गरेका महिलाहरुबाट पनि प्रतिदिन दुई रूपैयाँ उठाउन थालिन् । उक्त रकमबाट १० जना बालबालिकालाई सहयोग गर्न थालिन् । तलबले तिनलाई खुवाउन पुग्ला भन्ने आशा राखेकी अनुराधामा ऋण थपिँदै गएको थियो । यसैबीचमा उनलाई क्षयरोगले समात्यो तर पनि उपचारपछि मुलुकको गम्भीर समस्याका रूपमा फैलिएको चेलीबेटी बेचबिखनविरुद्ध चेतना फैलाउने उद्देश्य छाडिनन् । 
पद्मकन्याका विद्यार्थी र प्रहरीलाई साथमा लिई बेचबिखनको मुख्य स्थान भनेर चिनिएका स्थानहरुमा घुम्न थालिन् । यसरी उनी सन् १९९३ मा स्थापना भएको माइती नेपालको संस्थापकको रुपमा काम गर्न थालिन् । १० कक्षासम्म भारतको कालिम्पोङमा अध्ययन गरेकी उनले भारतकै कोलकाताबाट बिए पास गरेकी हुन् । 
चार जना दाजुभाइ र दुई दिदी बहिनीमध्येकी उनी काँइली हुन् । मन्त्रिपरिषद्को बैठकले प्रदेश ३ को प्रमुखमा अनुराधा कोइरालालाई नियुक्त गरेको छ । २०७४ माघ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश ३ को प्रमुखमा अनुराधा कोइरालालाइ नियुक्त गरेको हो । १९ वर्षे किशोर उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी उनको दाम्पत्य जीवन भने सफल रहेन । तर सधँै न्यायको लडाइँमा अग्रणी भूमिका निर्वाह गर्न उनी सफल रहिन् । महिला हिंसा विरूद्ध उनका पाइलाहरु अगाडि बढि रहे फलस्वरुप उनी नेपालमा मात्र होइन विश्वमा नै परिचित बन्न पुगिन् ।

जनआन्दोलनदेखि पवक्तासम्म
पम्फा भुसाल, राजनीतिज्ञ

नेपाली राजनीतिमा साहसिक नेतृका रुपमा चिनिन्छन् पम्फा भुसाल । विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेकी भुुसाल पार्टी एकीकरण हुनभन्दा अगाडिसम्म नेकपा माओवादी केन्द्रका प्रवक्तासमेत रहेकी थिइन् । राजनीतिमा विभिन्न सिंढी चढ्दै आएकी भुसाल माओवादीको १० वर्षे जनआन्दोलनमा आफ्नो ज्यानसमेत दाउमा राखेर समानताको लागि लडिन् । समाज परिवर्तन हुनको लागि विभिन्न किसिमका पितृसत्तात्मक सोच परिवर्तन हुन जरुरी छ र त्यसको लागि आँफू स्वयंले प्रयास गर्नुपर्छ भन्ने लाग्छ उनलाई । 
परिवर्तन प्रत्येक व्याक्तिको सोचमा हुनुपर्छ अनि मात्रै सम्भव छ यही विचार लिएर परिवर्तनका लागि लागिरहेकी योद्धा हुन् उनी । समाज परिर्वतन सम्भव छ तर त्यसका लागि योद्धाको खाँचो रहेको महसुस गरेकी उनलाई तत्कालीन सरकारी पक्षबाट २५ लाख टाउकोको मूल्य समेत तोकिएको थियो । परिवारमा छोरी मात्र जन्माएको कारण समाजले गरेको अनौठो किसिमको व्यवहार र आफ्नो स्वभाव र विचारका कारण कम्युनिष्टमा अर्थात माओवादीमा प्रवेश गरेकी थिइन् भने जेलनेल सम्पूर्ण कुरा भोगेर सांसद, मन्त्री हुदै पार्टीको प्रवक्ता समेत बन्न सफल भइन् ।
कक्षा ८ मा पढ्दादेखि नेपाली राजनीतिमा प्रवेश गरेकी उनलाई विद्यालयमा हुने केटा र केटी बिचको विभेदले मन पोलेको थियो । एसएलसीपछि घरदेखि काठमाडौँ पढ्न आउने क्रममा काठमाडौँबाट नै युद्धमा प्रवेश गरेकी भुसाल तत्कालीन प्रचण्डको नेतृत्वमा रहेको १९ सदस्यीय केन्द्रीय समितिमा पहिलो महिला सदस्य रहेकी थिइन् । 
देशमा जसरी पनि शान्ति स्थापना हुनुपर्छ र विभिन्न जातीय धर्म तथा लिंगका नाममा विरोध तथा होच्याउने प्रवृत्तिको अन्त्य हुनु पर्छ भन्ने मान्यता राख्ने नेतृ हुन् उनी । पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत ललितपुर ३ बाट विजयी संविधानसभा सदस्य पम्फा भुसाल माओवादी केन्द्रीय सदस्य पनि थिइन् र हाल नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीयसदस्य समेत छिन् । जनमोर्चा नेपालको पहिलो अध्यक्ष बनेकी भुसालले विक्रम सम्बत २०३३ सालदेखि विद्यार्थी जीवनबाट राजनीति गरेकी हुन् ।
विद्युत उपनामले चिनिने भुसालले २०३७ सालमा चौथो महाधिबेसनको सदस्यता लिएकी हुन् भने २०५१ सालमा माओवादीकी केन्द्रीय सदस्य भइन् । फुर्सदको बेला समाजिक तथा राजनीतिक विषयमा अध्ययन गर्न रुचाउने भुसाल सामाजिक असमानता देखेर नै राजनीतिमा लागेको बताउँछिन् । औसत नेपालीभन्दा सम्पन्न परिवारमा जन्मिएकी उनी ग्रामीण समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । 
पटकपटक गरेर १ वर्ष जेल बसेकी भुसाल फुन्टीबाङ बैठकपछि माओवादीकी पोलिटब्युरो सदस्य बनेकी थिइन् । अन्तरिम कालमा माओवादी सरकारमा हुँदा महिला बालबालिका तथा समाजकल्याण मन्त्री समेत बनेकी थिइन् भने प्रतिनिधि तथा प्रदेशसभाको चुनाव पश्चात सांसदसमेत रहेकी हुन् । समाजमा महिला र पुरुषको भूमिका समान हुनुपर्छ भन्ने सोचेर अगाडि बढिरहेकी भुषाल पार्टी बाहिर होस् या भित्र सधै आफ्नो आवाजलाई बुलन्द पार्दै आएकी छन् ।

जनयुद्धदेखि महानगर प्रमुखसम्म
रेनु दाहाल भरतपुर महानगर प्रमुख 

देशको ६ वटा महानगरपालिकामध्ये एक मात्र महिला प्रमुख रहेको चितवनको भरतपुर महानगपालिका नै हो । ती प्रमुख हुन् रेनु दाहाल । राजनीतिक घरानाकी सदस्य भएकाले उम्मेद्वार बन्दादेखि नै रेनु चर्चामा थिइन् । 
मेयर निर्वाचित भएपछि गरेका कामका कारण रेनुको प्रशंसा अहिले सवत्र्र भइरहेको छ । चितवनको तत्कालीन शिवनगर भीमसेननगरमा जन्मेकी दाहाल १० वर्ष जनयुद्धमा समेत संलग्न भएकी थिइन् । 
विक्रम सम्वत् २०३३ साल असार २२ गते चितवन शिवनगरको भीमसेन नगरमा जन्मेकी रेनु दाहाल पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्ड अध्यक्ष प्रचण्ड र सीता दाहालकी माहिली छोरी हुन् । विक्रम सम्वत् २०५१ सालमा पार्टी प्रवेश गरेकी दाहाल २०५२ सालको माओवादी सशस्त्र द्वन्द्वकालमा भूमिगत भएकी थिइन् ।
प्रवासमा अखिल महिला समाजकी केन्द्रीय समिति अध्यक्ष, सशस्त्र द्वन्द्वकालमा रोल्पामा सहइन्चार्ज, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव रहेकी दाहाल काठमाण्डुकी जिल्ला सचिव हुँदै हाल नेकपा सदस्य रहेकी छन् । प्रवेशिकासम्म अध्ययन गरेकी दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् भएकी थिइन् ।
महानगर प्रमुख दाहाल हाल भरतपुर महानगरपालिका प्रमुख भएपछि ९५ किलोमिटर कालोपत्रेदेखि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटीहल सम्मको काम अघि बढेको छ । महानगर प्रमुख दाहाल महानगरमा सुशासन कायम गर्दै तिव्र विकासको गतिमा क्रियाशिल रेहेकी छन् । निडर र स्पष्ट स्वभावकी दाहलले रिङ रोड र लिंक रोडका कुरा अनि लामा सडकहरू शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमार्फत विकासको काम अगाडि बढाइरहेकी छन् ।


‘न बिर्से’देखि ‘कोइली’को उपमासम्म 
अन्जु पन्त, गायिका
‘न बिर्से तिमीलाई न पाए तिमीलाई’बाट चर्चाको शिखर चुम्न सफल भएकी गायिका हुन् अन्जु पन्त । उनी गीतसंगीतमा मात्र होइन अहिले सामाजिक काममा पनि उत्तिकै सक्रिय छिन् । अन्जु पन्त फाउण्डेसनमार्फत उनले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा थुप्रै बालबालिकाको शिक्षाका लागि सहयोग पु¥याउदै आएकी छन् । थुप्रै हिट गीत दिन सफल पन्त रेडियो नेपालमा भजन रेकर्ड गराएर नेपाली सांगीतिक आकाशमा उदाएकी थिइन् ।
समय समयमा विवादमा समेत आउने गरेकी पन्त लगातार स्रोताको रोजाइमा परिरहिन् भने फिल्म निर्माताहरुले पनि प्ले ब्याक सिगंरको रुपमा सकेसम्म उनलाई नै खोजिरहेका हुन्छन् । लामो समय सम्म एकछत्र राज गर्न सफल अन्जुले गाएको ‘धर्तीको स्वर्ग कहाँ छ भने यही हो नेपाल’ ‘तिम्रो खुसी बन्न सकुँ म तिमीमा हाँसो छर्न सकुँ म’ ‘तिम्रा हजार गल्तीलाई माफ गरे मैले’ ‘तिम्रो यादले सताउँछ तिम्रो मायाले बोलाउँछ’जस्ता आधुनिक र राष्ट्रिय गीतका साथै ‘पूर्वपश्चिम रेल’ जस्ता थुप्रै चलचित्रका गीतहरु स्रोताको मनमा बस्न सफल भएका छन् । 
उनलाई आधुनिक गीत संगीत क्षेत्रमा कोईलीको उपनाम दिने गरेको पाइन्छ । नेपालमा होस् या विदेशमा आयोजना हुने अवार्ड समारोहमा आधुनिक गीत, चलचित्रका गीत यी सबैमा उनको नाम कतै छुटेको हुँदैन । सबैभन्दा बढी अवार्ड पाउने गायिकाका रुपमा पनि उनलाई चिन्न सकिन्छ । 
एक छोरीकी आमा अन्जुसांगीतिक जीवनमा भने अत्यान्तै सफल रहेकी छन् । सबैभन्दा बढी गीत गाउने, सबै भन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्न सफल छिन् उनी । पछिल्लो समय रोयल्टी बढी पाउनेमा पनि उनी पहिलो नम्बरमा नै रहदै आएकी छन् ।
अन्जु नेपाली सांगीतिक क्षेत्रकी बहुआयामिक व्यक्तित्व हुन् । उनले नेवारी, थारु, भोजपुरी लगायत भाषाहरुमा गीत गाएकी छन् । धेरै स्रोताहरुको मन मष्तिष्कमा बस्न सफल पन्तको यो वर्ष पनि सम्पूर्ण गीतहरुले सफलता प्राप्त गरे । पाँचथरमा आफ्नो बाल्यकाल बिताएकी पन्तले आफूलाई सफल बनाउन धेरै संघर्ष भने गरेकी छन् । 


आत्मविश्वासले सफल संगीता
संगीता कडरिया, व्यवसायी

हामीमा अझै पनि महिलाहरुलाई कमजोर सोच्ने गलत संस्कार छ । महिला अघि बढ्नको लागि कोटामा नै भर पर्नुपर्छ भन्ने सोचले छाडेको छैन । तर, महिलाहरु अब पुरानो ठाउँमा छैनन् र उनीहरु पुरूषहरुजत्तिकै सक्षम छन् भन्ने कुरा हरेक ठाउँमा प्रमाणित पनि भइसकेको छ । यिनै महिला मध्येकी एक हुन संगीता कडरिया । 
२०४२ सालमा विरगञ्जमा जन्मिएकी कडरियाको बालापन मामाघर रामेछापमा नै बितेको थियो । पढाइमा अब्बल उनी एसएलसीमा जिल्ला टपर भएकी थिइन् । जिद्धी स्वभावकी उनीमा आफूमा दृढ विश्वास तथा नेतृत्व गर्ने क्षमता छ भन्ने सोच्दै अगाडि बढिन् । सानो उमेरमा नै शिखर सुजका संस्थापक रामकृष्ण प्रसाईसँग विवाह बन्धनमा बाधिएकी उनले सन् २०१० मा सिए पास गरेकी हुन् । 
सिए पास भए पछि एनसेलमा काम गरिरहेकी उनलाई आफ्नै संस्थामा केही गर्नु पर्छ भन्ने सोच आयो र उनले शिखर सुजलाई फरक व्यवस्थापनका साथ अगाडि बढाउन थालिन् । २०६८ सालमा देखि आफ्नै व्यवसाय शिखर सुजमा लागिपेरकी उनले छोटो समयमा नै कम्पनीको नाम देशका कुना कन्दरामा गुन्जाउन तथा सबैको रोजाइमा पार्न सफल समेत भइन् ।
एक सामान्य विद्यार्थी देखी जागिरे सम्मको अनुभव बटुलेकी उनी अहिले शिखर सुज कम्पनीका मालिक हुन् भने सफल गृहिणी पनि हुन् । दुइ छोराकी आमा समेत रहेकी संगीतको प्रगति विवाह पछि नै सुरू भयो । विवाह पश्चात महिलालाई अगाडि बढ्न ठूलो समस्या पर्छ भन्ने कुराको अपवाद हुन् संगीता । 
उनको कामलाई विवाहले रोकेन बरु थप सहयोग पुग्यो । विवाह भएको बेला भर्खरै मात्र आइए पढ्दै थिइन् तर अहिले महिला उद्यमीहरुको लिस्टमा आफूलाई अग्रणी स्थानमा राख्न सफल भएकी छन् । उनले आफू कम्पनीमा आए पश्चात कम्पनीको नाम, दाम र इमानमा थप प्रगती गराउन सफल भइन् । श्रीमानले गरेको व्यवसायमा उनले थप निरन्तरता दिएकी हुन् । 
कडरिया शिखर सुजमा आए पछि नै महिलाहरुको रोजगारीको सख्यामा समेत वृद्धि गरिन् । यद्यपी उनी कोटा तथा आरक्षण विरोधी हुन् । उनी एक व्यवसायी मात्र नभएर समाजसेवी पनि हुन् उनले देशमा आइपरेको प्राकृतिक प्रकोप जस्ता कठिन समयमा आफ्ना तर्फबाट सक्नेजति सहयोग गर्दै आएकी छन् । 
सामाजिक काम गर्नको लागि पनि पहिला आर्थिक रुपमा आफू बलियो हुनुपर्छ भन्ने लाग्छ उनलाई त्यसैले पनि हरेक समय मिहिनेत गरिरहेकी छन् । आफूलाई सधँै सामाजिक, व्यावसायिक र पारिवारिक कामहरुमा एक्टिभ बनाइराखेकी छन् ।


कलाकारदेखि क्रिकेट रंगशालासम्म 
कुन्जना घिमिरे, कलाकार तथा समाजसेवी 

नेपाली हाँस्य टेलिशृङ्खला मेरी बास्सैबाट कुन्जना घिमिरेले आफ्नो वास्ताविक नामभन्दा पनि सुन्तली नामले बढी ख्याती कमाएकी छन् । कुन्जना कलाकार मात्र नभएर सफल समाजसेवी समेत हुन् । देशै रोएको बेला हामी हाँसेर बस्न हुदैँन र देश समृद्ध बनाउन हामीले एक थोपा भए पनि पसिना बगाउनै पर्छ भन्ने भावना राख्ने घिमिरे आत्मविश्वासी, साहासी तथा हिम्मतवाली महिला हुन् । कलाकारिता भित्र पनि विशेष गरी हाँस्यव्यग्यको क्षेत्रमा आफ्नो नाम उच्च स्थापित गराएकी छन् उनले ।
धुर्मुस सुन्तली फाउण्डेसन मार्फत २०७२ को महाभूकम्प पश्चात बस्ती निर्माणको अभियानमा लागेकी घिमिरे ललितपुरको चापागाउँमा जन्मिएकी हुन् । उनी सानैदेखि नृत्य तथा सामाजिक सेवामा व्यस्त रहन्थिन् । सानो उमेरमा बुबासँगै विद्यालयको विभिन्न क्रियाकलापमा भाग लिन्थिन् । धेरै मान्छेले उनको नृत्य तथा क्रियाकलाप मन पराउँथे त्यही बेलादेखि उनलाई कलाकार बन्ने रहर जागेर आएको थियो । 
नमुना नेपाल बनाउने अभियानमा श्रीमान्सँगै फिल्डमा उत्रिएर हिँडेकी उनी धेरैको आशाको केन्द्रबिन्दु हुन् । कोमल हृदय भएकी घिमिरे र उनका श्रीमान् मिलेर नमुना बस्ती बनाउदैँ गर्दा पैसा पोको पार्ने दाउको लाञ्छना समेत खेप्नु परेको थियो । ‘काग कराउदैँ गर्छ पिना सुक्दै गर्छ’ भन्दै उनी अगाडि बढिरहिन् । कलाकारिता सँगससँगै सामाजिक अभियानलाई अंगालेका कुन्जना र धुर्मुसले हाल विभिन्न समूहहरुसंग सहकार्य गरेर सरकारलाई सघाउने गर्दैछन् । 
‘देश विकास गर्नको लागि सफा मन भए पुग्छ’ भन्ने लाग्छ उनलाई । आफूहरुलाई कसैको सहयोग नभए पनि ३ करोड जनताको साथ र सहयोग रहेको छ भन्ने उनी यसलाई ठूलो उपलब्धि मान्छिन् । देशलाई योगदान दिन पाउदा गर्व पनि महसुस गरेकी छन् कुन्जनाले । 
रेडियो नेपालको प्रवेश र नाटकमा अभिनयकै कारण उनले कलिलै उमेरमा परिपक्व कलाकारको संगत पाइन् जसले उनलाई कलाकारितामा खारिनलाई सहयोग पुग्यो । रेडियोमा बोल्दाबोल्दै उनले टेलिभिजनको पर्दामा समेत देखिने अवसर पाइन् ।
जनस्वास्थ्यसम्बन्धी एउटा सिरियलमार्फत सानो पर्दामा ‘डेब्यु’ गरेकी कुन्जना २०६१ सालबाट ‘मेरी बास्सै’ टेलीचलचित्रमार्फत चर्चामा आएकी हुन् ।
धेरैको नजरमा उनी ‘रियल लाइफ हिरो’ हुन् । एक छोरीकी आमा समेत रहेकी उनले आफ्नो छोरीलाई दिनुपर्ने समय समेत सामाजिक कामहरुमा दिदै आएकी छन् । उनको कलाकारिता यात्रा होस् या सामाजिक अभियान श्रीमान् सीताराम कट्टेल धुर्मससँगै अगाडि बढेको छ । सरसफाई, संयुक्त बस्ती निर्माण, बाढी पिडितलाई सहयोग गर्ने जस्ता कार्य गर्दै आएका धुर्मुस र सुन्तलीले यो साल भने देशलाई अत्ति आवश्यक रहेको क्रिकेट स्टेडियम बनाउने घोषणा सँगसँगै कार्य पनि थालनी गसिकेका छन् ।
केही दिनअघि चितवनमा आएर कुञ्जनाले तोकिएकै समयमा क्रिकेट स्टेडियम सक्ने बताइन् । उनले भनिन्, ‘काम अघि बढेको छ, सम्पूर्ण नेपालीहरुको सहयोगमा तोकिएकै समयमा क्रिकेट स्टेडियम बन्छ ।’


गायिकादेखि महिला रेस्लरसम्म 
भगवती खड्का, रेस्लर

रामेछापको मन्थलीमा जन्मिएकी भगवती खड्का ५ फिट ८ इन्च अग्ली छन् भने तौल ८१ किलो । सानैदेखि मोटीघाटी उनी माछामासु र दूधदही निकै खाने गर्छिन् । गाउँभरि सबैले ‘राजेश हमाल’ भनेर तत्कालीन अवस्थामा चिनिएकी उनी नेपालको पहिलो महिला रेस्लर हुन् । विद्यालय जीवनमा एकैचोटी चार जना केटासाथीलाई रामधुलाई गरेकी उनी कुस्तीवाजकै नामले परिचित हुन पुग्लिन् भन्ने चाहिँ कल्पना पनि गरेकी थिईनन् । उनी भन्छिन् ‘त्यतिखेर मलाई काली नै चढे जस्तो भएको थियो ।’ जुन घटनापछि उनले नयाँ नाम पाइन् नयाँ राजेश हमाल ।
खेल क्षेत्रमा महिलाको सहभागिता कम नै छ, त्यसमाथि पनि रेस्लिङ्को क्षेत्र भने पछि महिलाहरु डराउने नै भए । बलको हिसाबले पनि महिलाहरु कम्जोर हुन्छन् भन्ने मानसिकतालाई उनको अदम्य साहसले उल्टाएको छ । वर्तमान संघर्षपूर्ण र भविष्य अन्यौलग्रस्त हुन्छ भन्ने मान्यताका कारण खेलकुद क्षेत्र धेरै कम महिलाको प्राथमिकतामा पर्छ ।
एकैपटकमा २१ वटासम्म अण्डा खाने गर्छिन् भगवती । रेस्लिङको लागि खानपानमा विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ । गायिक बन्ने उनको सोच थियो उनको तर रेस्लिङको अगाडी गायिका बन्ने सपना छायाँमा प¥यो । भगवती कुशल ‘फाइटर’ हुन् भन्ने त परिवारलाई थाहा थियो, तर रेस्लर बन्ने निर्णयमा खासै खुसी थिएनन् । 
‘फाइट खेल्नमा पो च्याम्पियन, म रेस्लर नै बन्छु भनेर त कसले पो सोचेका थिए र !’ उनले भनिन्, ‘मलाई यो क्षेत्रमा लाग्न प्रोत्साहन गर्ने कोही थिएन । राम्रो, नराम्रो जे भए पनि मैले आफैं रोजेकी हुँ । तर परिवारले मेरो निर्णयमा कहिल्यै बाधा÷विरोध गरेनन् ।’
राष्ट्रिय भारत्तोलन खेलाडी झम्क कटवालसँग तालिम लिएकी उनी यहिँबाट खेलकुद क्षेत्रमा प्रवेश गरेकी हुन् । यसबीचमा उनले बक्सिङ्, कराँते र पौडी पनि सिकिन् । गितार, भोकल, फिल्म फाइट र नृत्य पनि सिकिन् । गायिका बन्ने रहर पूरा गर्न‘युनिका’ एल्बम निकालिन् । भगवती रेस्लिङमा यही नामले परिचित छिन् । 
भारत्तोलन छाडेर फिल्मको फाइट र नृत्य सिक्ने क्रममा उनलाई भोजपुरी फिल्म ‘हम है हिरो हिन्दुस्तानी’ खेल्ने प्रस्ताव आयो । त्यसपछि उनी नेपाली फिल्म ‘प्रतिकार’मा खलनायिका भइन् । अरू पनि केही फिल्म र टेलिसिरियलमा काम गरेकी छन् । फिल्म क्षेत्रमा प्रशंसा कमाए पनि उनको रस बसेन । त्यही बेलाको कुरा हो, फाइट गुरू योगेन्द्र श्रेष्ठले उनलाई भने, ‘तिमीले रेस्लिङ ग¥यौ भने एकदम राम्रो हुन्छ ।’ अहिले महिला रेस्लरको नामले एकछत्र राज गरिरहेकी छन् उनी ।

प्रतिक्रिया दिनुहोस