‘न कमिसन चल्छ, न फाइल रोकिन्छ, दुई वर्षमा रंगशाला सकिन्छ’

सफल खबर संवाददाता

मंगलबार, २१ फागुन २०७५, ११ : ४७
‘न कमिसन चल्छ, न फाइल रोकिन्छ, दुई वर्षमा रंगशाला सकिन्छ’

चितवन । फागुन महिना, गर्मी ह्वात्तै पलाउने बेला हो तर पनि मौसम चिसो नै छ । चिसो मौसमको गोधुली साँझमा भरतपुरमा भेटिए सीताराम कट्टेल ‘धुर्मुस’ । मेलापात गरेर फर्कदै गरेका खेतालाजस्ता निकै थकानमा देखिन्थे उनी । यस्तो थकान उनलाई यतिबेला मात्र होइन, गिरानचौरको ढलेको बस्ती उठाउँदा र मुसहर बस्ती ठडाउँदा पनि भएको थियो । 
अहिलेको थकान उनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको हो । यो थकानले गिरौनचौरदेखि मुसहर बस्तीसम्मको थकानलाई जितेको छ । वीर अस्पताल रंगाउँदाको थकान त के हो र ! तर पनि उनलाई थकानको महसुस छैन, चिन्ताले गालेको छैन । जाँस, जाँगर र साहसले सबैलाई जितेको छ र पो, यत्रो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अघि बढेको छ । 
खुकुरीको धारमा नै हिँडेर रंगशाला निर्माणको आँट गरेका हुन् उनले । निर्माण सम्पन्न नभएसम्म उनी खुकुरीकोृ धारमा नै हिँडेका हुन्छन् । चाहे गिरानचौरको बस्ती होस्, चाहे मसहर बस्ती दुबै निर्माणमा पनि उनले कपासमा हिँडेको महसुुुस गरेनन्, त्यहाँ पनि खुकुरीको धारमा नै हिँडेर काम फच्चे गरेका हुन् धुर्मुसले । अहिले पनि उनलाई झन ठूलो खुकुरीको धारमा दौडिरहेको महसुस भएको छ ।  
तीन अर्बको प्रोजेक्ट छ, आफूसँग सुको छैन । मागेर प्रोजेक्ट सम्पन्न गर्छु भन्नु कहाँसम्मको दुस्साहस हो, जोकोहीलाई त पत्याउन मुस्किल होला, तर पनि हिम्मत हारेका छैनन् उनले । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाएर छोड्ने संकल्प गरेका छन् । त्यो पनि वर्सौ लगाएर हो र ! मागेर उठाएको पैसाले दुई वर्षमा रंगशाला तयार पार्छु भन्ने संकल्प चानचुने छ र ? कदापि छैन ।
काम गर्दा टीकाटिप्पणी हुन्छन् । रत्तिभर डगमगाउँदैनन् उनी । हिजो वीर अस्पताल रंगाउँदा पनि टीकाटिप्पणी भएका हुन् । गिरानचौर बस्ती ठडाउँदा पनि भए होलान् । आज रंगशाला निर्माणमा दौडधूप गरिरहँदा पनि टीकाटिप्पणी आइरहेका होलान् । तर पनि उनी एउटा अठोट लिएर हिँडेपछि पूर्णविराम नलगाएसम्म डगमगिने अवस्थामा देखिदैनन् । 
सरकारले गर्न नसकेको काम धुर्मुस सुन्तलीले गर्ने ? बजारमा यस्ता हल्लाहरु पनि नसुनिएका होइनन्, तर पनि सामाजिक क्षेत्रमा बगेको यस्तो खोला हो, धुर्मुस सुन्तली फाउन्डेसन । कुनै तटबन्धले छेक्न सक्दैन । 
अहिले धुर्मुसको पैतालाको कान्छीऔंलादेखि शिरको तालुसम्म रंगशालाबाहेक केही छैन । यसरी लागेका छन् उनी रंगशाला निर्माणमा, मानौँ अहिले नै तयार भइसक्यो । उनी भन्छन्, ‘म त रातमा पनि रंगशाला देख्छु, दिनमा पनि रंगशाला देख्छु । नसानसामा रंगशाला बगिरहेको छ ।’
रंगशाला निर्माणको लागि गाउँगाउँमा सहयोग संकलनको लागि क्लबहरु बनेका छन् । खुत्रुकेहरु तयार भएका छन् । गोजीहरु खुलेका छन् । बाकसहरु भरिनेक्रम जारी छ । कुन नेपालीको मन नहोला यत्रो महान् कार्यमा सक्दो सहयोग गर्न ? कुन नेपाली तयार नहोला यो अंशको केही अंशियार बन्न ? 
‘यो ३ करोड नेपालीको रंगशाला हो, यसमा नेपालीको रगत पसिना बगेको छ, नेपाली जनताले विश्वमा एउटा उदाहरण देखाउनुछ’ थकित चेहरामा मुस्कानले भरिएका शब्दहरु यसरी पोखे धुर्मुसले, ‘शिलान्यास भएको दुई वर्षभित्र रंगशाला तपाइँको आँखैअगाडि ठडिन्छ ।’

यसरी पलायो रंगशाला
जतिबेला गतवर्ष नेपाली क्रिकेटले ओडीआई स्ट्याटस मान्यता पायो, त्यतिबेला नेपाली क्रिकेटप्रेमीहरुको एउटै मुख भयो, ‘नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम चाहियो ।’ दिशाहीन भएको सरकार कानमा तेल हालेर बस्यो । कतै कुनै चासो देखिएन । त्यो बेलाको क्रिकेट प्रेमीहरुको एउटै मुखले सीताराम कट्टेल ‘धुर्मस’लाई सम्झे । त्यही सम्झनाले उनलाई क्लिक गरेको थियो । 
गतिलो रंगशाला बिना नै नेपालले क्रिकेटमा पाएको सफलताले धुर्मसको मनमा रंगशाला निर्माणको टुसा पलायो । ‘गतिलो क्रिकेट रंगशाला बिना नै पाएको यत्रो सफलताले मलाई टच गरेको थियो, अहिले पनि अभाव खड्किरहेको छ, तर अब दुई वर्षपछि यो अभाव खड्किने छैन’ हँस्यौली पारामा उनले भने, ‘शिलान्यास भएको दुई वर्षभित्र हो नि, शिलान्यास भएको दिनबाट औंला भाच्न थाल्नुहोला ।’
नेपालले पछिल्लो समय प्रगति गरेको क्रिकेटमै हो । अहिले पनि नेपाललाई क्रिकेटले नै चिनाइरहेको छ । यस्तो खेल क्षेत्रलाई अगाडि बढाउन कुनै नै कुनै योजना अघि सार्नु नै पर्छ भन्ने धुर्मुसलाई लागेपछि उनी जग्गाको खोजीमा निस्केका थिए । 

यसकारण भरतपुर रोजाइमा  
सबैभन्दा धेरै नियम भएको खेल हो क्रिकेट । क्रिकेट रंगशाला बनाउने निष्कर्षमा पुग्दा धुर्मुसको हात रित्तो थियो । मस्तिष्कमा रंगशालाको भूत चर्को थियो । भावनाका भकारीहरु टन्नै थिए । क्रिकेट स्टेडियमबारे जिरो ज्ञान थियो । कहाँ बनाउने ? कसरी बनाउने ? कति खर्चमा बनाउने ? यस्ता थुप्रै प्रश्नले घरेको थियो धुर्मुसलाई ।
विज्ञ टोली खोजे अनि रंगशालाको लागि जग्गा खोज्न देश दौडाहामा निस्के उनी । धुर्मुस सुन्तलीले क्रिकेट रंगशालाको लागि जग्गा खोज्दै हिँडेका छन् भन्ने खबर भरतपुर महानगर प्रमुख रेनु दाहालको कानमा पनि ठोक्कियो । तुरुन्त खबर गरिन् रेनुले, ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि भरतपुर महानगरले उपलव्ध गराउँछ जग्गा, आउनूस् हामी स्वागत गर्न तयार भएर बस्नेछौँ ।’
जग्गाको खोजीमा विज्ञ टोलीसहित देश दौडाहामा निस्केका धुर्मुस सुन्तली भरतपुर महानगर पनि आइपुगे । भरतपुर महानगरले पहिलो पटक देखाएको जग्गा पुगेन । धुर्मुस सुन्तलीको विज्ञ टोलीले जग्गाको चौडाइ पुगेन भनिदियो । व्याक भए धुर्मुस । अन्यत्र जग्गाको खोजीमा लागे । 
कतै के निमिल्ने, कतै केही नमिल्ने यस्तै भइरहेको थियो भरतपुर महानगर प्रमुख दाहालले फेरि फोन गरिन्, ‘आउनूस् अर्को ठाउँमा राम्रो जग्गा पाइयो ?’ 
कहाँ कति जग्गा ? धुर्मुसले सोधे । 
‘भरतपुर १६ मा कृषि तथा वन विश्वविद्यालयको जग्गा । २० विघाभन्दा बढी छ, क्रिकेट रंगशालामात्र होइन, सबै किसिमका खेल खेल्न मिल्ने जग्गा हामी उपलव्ध गराउँछौँ’ महानगर प्रमुख दाहालले भनिन् । 
फेरि धुर्मुस विज्ञ टोली लिएर आए । जग्गा पुग्यो तर कृषि तथा वन विश्वविद्यालयको नाममा छ । महानगरले जग्गा आफ्नो मातहतमा ल्याउन झन्डै एक वर्ष लाग्यो । 
‘भरतपुर महानगर यसरी लाग्यो, झन्डै एक वर्षमा महानगर मेयरलगायतको टिमले विश्वविद्यायको जग्गा हामीलाई उपलव्ध गराउन सफल हुनुभयो’ धुर्मुसले भने, ‘भरतपुर देशकै मध्येभागमा छ, यहाँको हावापानी सुवाउँदो छ, त्यसैले यो ठाउँ रोजाइमा परेको हो । तर यसको अपनत्व तीन करोड नेपालीको हो । जहाँ बने पनि यो नेपालको हो, अनि नेपालीको हो ।’

अन्तिम पटक माग्दै छौँ 
गिरानचौरको बस्ती उठाइयो मागेर । मुसहर बस्ती उठाइयो मागेर । कहिलेसम्म मागिरहने धुर्मसलाई यही कुराले हिजाआज सताउन थालेको छ, एक मनले भन्छ, कहिलेकाहीँ त कतै जीवनभर मागेर जीवन जान्छ, अर्को मनले भन्छ, देशको विकास गर्न मागिएको हो । 
‘सधैँभरि मागिरहने पक्षमा हामी छैनौँ, यो नै हामीले अन्तिम पटक मागिरहेका छौँ । अब फेरि माग्न नपर्ने गरेर मागेका छौँ’ उनले भने, ‘क्रिकेट रंगशालाले हामीलाई अर्को पटक माग्न नपर्ने अवस्थामा ल्याउँछ, हामी विश्वास गर्छौँ ।’ देशविदेशबाट खुत्रुके भरिँदै छन्, थैलीहरु टम्म हुँदैछन् । यतिबेला सहयोग आउने क्रम जारी छ ।  
‘मनमा आँट भएपछि पुग्दो रहेछ, अहिले पुगेको अनुभव भइरहेको छ । देशविदेशमा बस्ने नेपालीहरुको सहयोगको जुन उत्साह छ, त्यो उत्साहले हौसला बढाएको छ’ उनले भने, ‘सहयोगको बाढीजस्तै भइरहेको छ, म झापाबाट चितवनसम्म आइपुग्दा जुन माहोल देखेँ, यसले मनलाई प्रफुल्ल बनाएको छ । ६ करोडको हाराहारीमा रकम संकलन भइसकेको छ ।’ 

खेलको हब हुन्छ 
एउटा क्रिकेट रंगशाला मात्र बन्ने होइन । ३० भन्दा बढी खेल खेल्न मिल्ने ठाउँ बन्दैछ । ‘खेलको हब बनाउँदैछौँ, यहाँ सञ्चालन गरेर आउने आम्दानी खेलाडीको हितमा खर्च गरिनेछ, खेलकुद एकेडेमी चलाइनेछ’ उनी गुनासिए, ‘यो त मल्टी प्रोजेक्ट हो, सबै नेपालीले धित फुकाएर सहयोग गर्नुहुनेछ ।’ उनका अनुसार यतिबेला देशभर नै सहयोग समिति बनाएर आर्थिक अभियान नै चलिरहेको छ । 
‘एक रुपैयाँ दुरुपयोग हुँदैन, न यहाँ कमिसन हुन्छ, न यहाँ कुनै ठेकेदार, न यहाँ कुनै फाइल अड्किन्छ, न त ढिलासुस्ती नै, त्यसैले त समयमै क्रिकेट रंगशाला ठडिन्छ’ उनले भने, ‘विश्वमा जनताबाट बनेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नेपालको पहिलो हुनेछ, जसरी पनि बनाइनेछ ।’ 
रंगशाला निर्माणको काम धमाधम अघि बढिरहेको छ । रंगशालाको कम्पाउण्डिङमा धुर्मुस आफैँ खटिएका छन् । ‘बोल्नेहरु धेरै छन्, तर काम गर्नेहरु हातहरु हामी खोजिरहेका छौँ, ती हातहरु हामीले पाइरहेका छौँ, अझ हातहरु बढ्नेछन्’ छुट्टिने बेलामा उनले भने, ‘एउटा सन्देश छोड्ने धोका पूरा हुने दिन धेरै छैन, जम्मा दुई वर्ष ।’


 

प्रतिक्रिया दिनुहोस