विदेशको भिसा फालेर झ्याउ नमानी च्याउखेतीमा

सफल खबर संवाददाता

शनिबार, १८ फागुन २०७५, ११ : ४१
विदेशको भिसा फालेर झ्याउ नमानी च्याउखेतीमा

चितवन । ‘कुनै झ्याउ नमानौँ, च्याउखेती गरौँ, चर्को भाउमा बेचौँ ।’ राजेश्वर ढकाल ४७ को नाराजस्तै भएको छ यो भनाइ । भरतपुर ९ शरदपुर कँडेलचोक निवासी ढकाल यतिबेला कुनै झ्याउ नमानी च्याउखेतीमा मस्त र व्यस्त छन् । 
‘सालोले विदेशबाटै भिसा पठाएको थियो, भिसा फालेर च्याउखेतीमा लागेको हुँ’ च्याउको टनेलमा भेटिएका ढकालले भने, ‘अहिले च्याउको चर्को माग र भाउले विदेश नगएर ठीक गरेछुजस्तो लागिरहेछ ।’ विभिन्न व्यवसाय गर्दै च्याउखेतीमा जम्प गरेका ढकाल अब कतै जम्प नगर्ने सुरसारमा छन् । उनी भन्छन्, ‘जे छ, च्याउमा छ ।’
उनी ६ वर्षदेखि च्याउमा मस्त छन् । उनीमात्र होइन, उनको परिवार नै च्याउमा व्यस्त छन् यतिबेला । ढकाललाई कृषिमा केही गरौँ भन्ने हुटहुटी त पहिल्यैदेखि चलिरहेको  थियो, तर अन्यखेतीमा भन्दा च्याउखेतीले नै उनको ध्यान तानेको हो । 
पाइलैपिच्छे उनले थुप्रै अवसर पाएका थिए । तर कुनै अवसरले उनलाई छोप्न सकेन । च्याउले नै छपक्कै छोपेको छ । ‘च्याउखेतीमा लागेको धेरै त भएको छैन, थोरै समयमा यो जम्प गर्न पाउँदा खुसीले मन दसैँको चङ्गा भएको छ’ उनी गुनासिए । 
काठमाडौँको सातदोबाटोमा च्याउखेती हेरेपछि उनले चलाइरहेको किरानापसल छोडेका हुन् । ‘कृषिमा केही गर्छु भन्ने मन थियो, तर च्याउमै लाग्छु भन्ने थाहा थिएन, काठमाडौँमा च्याउखेती देखेपछि च्याउ नगरी छोड्दिनँ भन्ने भयो र सुरु गरेँ’ च्याउ किसान ढकालले भने । 
सुरुमा त केही पत्तो थिएन, कसरी गर्ने ? उनी व्यवसायीसँग गएर सोधखोज गर्न थाले । यूटुयबमा सर्च गरे, च्याउखेती कसरी गर्ने भनेर । भगवानले भन्छन् रे, तँ आँट म पूरा गर्छु ! ढकालले आँटे अहिले पूरा भइरहेको छ । खाने मुखलाई जुँगाले छेक्ने कुरा त आउँदैन नि ! ढकाल अहिले यही उखान सम्झदै मुसुमुसु हाँस्छन् ।

घरमै आउँछ बजार 
अरु खेती गरे किसान आफैँले विक्रीको लागि उपज बजारसम्म लैजानुपर्छ । बजार पाउँछ कि पाउँदैन, थाहा पनि हुँदैन । बजार पाए पनि भाउको कुनै भर हुँदैन । तर च्याउको बजार घरमै आउने किसान ढकाल बताउँछन् । उनको घरमै आएर व्यवसायीहरु च्याउको चर्को भाउ दिइरहेका छन् । 
‘अन्य तरकारीखेती गर्ने किसानहरुले बजारसम्म तरकारी ओसारेको आसारै छन्, उनीहरुलाई मैले भन्ने गर्छु, मेरो त बजार घरमै आउँछ भन्दा दंग पर्छन्’ च्याउ टिप्दै गरेका ढकालले भने, ‘व्यवसायीले नभ्याउने भए लगिदिने कुरा छुटै भयो, नत्र उनीहरु नै च्याउ टिप्नुभयो भन्दै घरबाटै उठाउँछन्, नगदनारायण पनि घरमै छोड्छन् ।’
च्याउमा बजारको कुनै समस्या छैन, भाउको पनि समस्या छैन । च्याउले बजारमा राम्रै भाउ पाइरहेको उनी बताउँछन् । ‘यतिबेला चाडबाड छैन, तर पनि भाउ च्याउले पाइरहेको छ’ उनी पछुतो मान्दै मान्छन्, ‘च्याउखेती अझै केही ढिलो गरियो, अझै पहिल्यै गर्न पाएको भए...’

१० कठ्ठामा च्याउखेती 
उनले पहिला भरतपुर १२ मुनालचोकमा च्याउखेती गरेका थिए । जग्गाको एग्रिमेन्ट थिएन, फल्दाफल्दैको च्याउ फाल्नुपरेको थियो । अहिले भरतपुर ९ शरदपुरमा १० वर्षको लागि १० कठ्ठा जग्गा लिजमा लिएका छन् । वार्षिक ५० हजार भाडा बुझाउँछन् । 
ढकालले च्याउ उमार्ने १० वटा टनेल बनाएका छन् । १० वटा टनेलमा उनको ८ हजारसम्म बल (पोका) छ । एउटा बलको २ महिनासम्म आयु हुन्छ । उनले भने, ‘एउटा बलबाट २ महिनासम्म ४ किलोको हाराहारीमा उत्पादन लिन सकिन्छ ।’ 
एउटा बल बनाउन ३०० रुपैयाँसम्म खर्च हुन्छ । बल बनाउन च्याउको बीउ, पराल, सुतरी, थैला, चाहिन्छ । गत वर्ष ३ वटा टनेलमात्र बनाएका थिए उनले । अहिले उनको थप गरेको ७ सहित १० टनेबाट उत्पादन दिइरहेको छ । 
एउटा बलबाट च्याउ टुसाउन ३० दिन लाग्छ, भने ४५ दिनमा टिप्न मिल्ने हुन्छ । बल बनाउँदा च्याउको बीउ छरिन्छ । परालबाट बल बनाइने हो । एउटा बलमा ६० रुपैयाँको २ सय ग्राम बीउ चाहिन्छ । 
उनी भन्छन्, ‘अहिलेसम्म लगानी नै भनौँ, अब फाइदा लिने बेला आयो ।’ च्याउ टिप्ने बेलामा १० जनासम्म कर्मचारी नै राखेका थिए उनले । अहिले पनि ५ जनालाई रोजगार दिएका छन् । यसबाहेक श्रीमती, गोमा, छोरा श्याम, ज्वाइँ दीपक कँडेलसमेत च्याउखेतीमै जीवन समर्पित गरेका उनी बताउँछन् । 
‘डेढ लाखबाट सुरु गरेको हुँ, २० लाखसम्म लगानी पुगेको छ, अब ऋण सकेपछि लगानी बढाउने सुरसार गरेको छु’ उनले भने, ‘अहिले १० वटा टनेलको च्याउ उत्पादन भएर बेच्दा मासिक एकडेढ लाख आम्दानी भइरहेको छ ।’

घरको कोठाभन्दा सफा चाहिन्छ च्याउघर 
टनेल भनेको च्याउको घर हो । च्याउले फोहोर र चर्को गर्मी सहन सक्दैन । थोरै फोहोर भयो भने च्याउ नउम्रने हुन्छ । बल बनाउन जानिएन वा फोहोरको कसिङ्गर परेमा बलमा च्याउ टुसाउँदैन । ढकाल भन्छन्, ‘घरको कोठाभन्दा सफा चाहिन्छ च्याउघर । सफा हुनुपर्छ बल, अनि ओसिलो ठाउँ चाहिन्छ, घाम पर्न हुँदैन ।’
मौरीको घार ओसारेझैँ चिसो ठाउँमा बल ओसारेर च्याउखेती गर्न सकिने ढकाल बताउँछन् । उनी भन्छन्, ‘मैले पनि जेठ असारको चर्को गर्मीमा अन्यत्र लगेर च्याउ खेती गर्ने विचार गरेकी छु ।’ 
ढकालका अनुसार च्याउजति अर्गानिक कुनै तरकारी हुँदैन । टनेलमा कुनै किसिमको विषादी परेको खण्डमा च्याउ सोतर हुन्छ । उनले भने, ‘विषादीको गन्ध पनि सहन सक्दैन च्याउले ।’ उनले च्याउ स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक हुने बताए । उनले भने, ‘पायल्सका रोगीहरु, सुगर प्रेसरका बिरामीहरु च्याउले ठीक गरेको छ, भन्दै घरमै किन्न आइरहेका छन् ।’

राज्यले अनुदान दिए...
ढकालका अनुसार राज्यले च्याउखेतीमा कुनै अनुदान दिएको छैन । कृषि र पशुपालनमा अनुदानको व्यवस्था गरेको छ । तर च्याउखेतीलाई कुनै किसिमको अनुदान छैन । सर्वसुलभ व्याजमा ऋण पनि छैन । 
राज्यले च्याउखेतीलाई पनि नजिकबाट हेरेको खण्डमा किसान यसखेतीतर्फ आकर्षित हुने उनको भनाइ छ । उनले भने, ‘मैले एक रुपैयाँ पनि अनुदान पाएको छैन, अनुदान त के ऋणसमेत पाएको छैन राज्यबाट ।’ उनी च्याउखेतीलाई पनि राज्यले नजिकबाट हेरेर अनदान दिए मजस्ता धेरै किसान च्याउखेतीमा लाग्ने बताउँछन् । 

 

प्रतिक्रिया दिनुहोस