मोदी र इमरानलाई काठमाडौँ बोलाएर वार्ता गराउनु पर्ने परराष्ट्रविद्को भनाई

सफल खबर संवाददाता

विहीबार, १६ फागुन २०७५, १९ : ०१
मोदी र इमरानलाई काठमाडौँ बोलाएर वार्ता गराउनु पर्ने परराष्ट्रविद्को भनाई

काठमाडौँ । चौध दिनदेखि भईरहेको भारत–पाकिस्तानबीच देखिएको तनावलाई समधान गर्न त्यहाँका नेतृत्वलाई वार्तामा बसाल्नुपर्नेमा नेपालका परराष्ट्रविद्हरुले बताएका छन् ।
एकपछि अर्को गर्दै ‘एक्सन’ मा उत्रिएर घटनाहरु वृद्धि हुँदै गएपछि दुई देशका प्रधानमन्त्री नरेन्द्र मोदी र इमरान खानलाई काठमाडौँमा बोलाई वार्तामा राख्नुपर्नेमा परराष्ट्रविद्हरुले जोड दिएका छन् ।
बुधबार मात्र पाकिस्तानले भारतको लडाकू विमानलाई खसाल्दै भारतीय वायुसेनाका एक पाइलटलाई नियन्त्रणमा लिएको छ । धैरैलाई डर छ – जारी तनावले युद्धको रुप लिने त लिँदैन ? 
दुई देशबीच युद्ध भएको खण्डामा पूरै दक्षिण एसियाको शान्ति, सुरक्षा र स्थिरतामा कस्तो असर पार्ला ? त्यसको असर नेपालमा कस्तो पर्ला ? भन्ने प्रश्नहरु खडा भएका छन् । यस्तोमा नेपालले अपनाउनुपर्ने भूमिका के हुनसक्ला ? नेपालले दुई देशबीच द्वन्द्व हुन नदिन र शान्तिपूर्ण तवरबाट समस्या समाधानको पहल गर्न कति सम्भव छ ? 
भारत नेपालको नजिकको छिमेकी मुलुक हो भने पाकिस्तान दक्षिण एशियाली सार्क सदस्य राष्ट्र । नेपाल हाल दक्षिण एशियाली मुलुक सहयोग संगठन सार्कको अध्यक्ष राष्ट्र हो । यो हिसाबले हेर्दा सार्क मुलुकहरुको नेपाल अहिले अभिभावक बन्न पुगेको छ । यसै विषयमा हामीले परराष्ट्रविज्ञहरुसँग नेपालको अबको भूमिकाबारे सोधेका छौँ । प्रस्तुत छ उनीहरुको जवाफ उनीहरुकै शब्दमा ः 

नारायणकाजी श्रेष्ठ, प्रवक्ता नेकपा 

क्षेत्रीय स्तरमा हुने कुनै पनि द्वन्द्व र अशान्तिले छिमेकलाई पनि प्रभावित पार्छ । हामी कुनै पनि देशहरुबीच द्वन्द्व होस् भन्ने चाहदैनौँ । त्यसमा पनि आफ्नो क्षेत्रका छिमेकीहरुकोबीचमा त झन् द्वन्द्व चाहने कुरै भएन । 

वार्ताद्वारा सहमतिमा शान्ति स्थापना होस् भन्ने हामी चाहन्छौँ । यी दुई देशमा अशान्ति, द्वन्द्व भयो भने त्यसले ती देशलाई मात्रै प्रभावित पार्दैन । ती देशहरुले गर्दा हाम्रो अर्थतन्त्र र सुरक्षामा पनि कुनै न कुनै कोणबाट प्रभावित पार्छ । त्यसैले ति देशमा युद्ध नहोस् भन्ने चाहन्छौँ । 

हिरण्यलाल श्रेष्ठ, परराष्ट्रविद् 

पछिल्लो समय भारत–पाकिस्तानबीच बढेको तनावको असर नेपालमा पनि पर्छ । शान्ति खल्बलिन्छ, व्यापारमा असर गर्छ । लगानी सम्मेलनको आयोजना हुन गइरहेका बेला त्यो सम्मेलनलाई समेत प्रभावित हुन सक्छ । पाकिस्तान र भारत दुवै सार्क सदस्य मुलक हुन् । 

नेपालले अहिले सार्क राष्ट्रको अध्यक्षको हैसियतमा छ । नेपाल सार्कको अध्यक्ष भएको हैसियतमा पनि उनीहरुबीच बढेको तनाव साम्य पार्न नेपालले पहल गर्न जरुरी छ । यस्तो अवस्थामा यो वा त्यो देशको पक्षमा नगई तटस्थताको निति अवलम्बन गर्दै शान्तिपूर्ण ढंगले समस्या समाधानमा सहयोग गर्नुपर्छ । 

दुवैलाई वार्ता गर भन्नुपर्छ । वार्ताका लागि दुवै देशका प्रमुख (नरेन्द्र मोदी र इमरान खान ) लाई नेपालमा तत्काल बोलाएर वार्ता गराउन पनि सक्नुपर्छ । 

आतंकवादले कुनैपनि देशलाई फाइदा गर्दैन भन्ने बुझाउन सक्नुपर्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उन भेटेर वार्ता गर्न सक्छन् भने नरेन्द्र मोदी र इमरान खान भेट्न, वार्ता र छलफल गर्न नसक्ने भन्ने नै हुँदैन । तर, त्यसका लागि सबैको साथ जरुरी हुन्छ । 

विशेषगरी नेपालले अग्रसरता जनाउनुपर्छ । नेपालले मध्यस्थतामा यो काम गर्न सकियो भने नेपाललाई पनि फाइदा हुन्छ भने ति देशमा शान्ति कायम हुन्छ । 

डा. प्रेमसिंह बस्नेत, पूर्व जर्नेल

भारत–पाकिस्तान तनाव बढ्दै यूद्धमा परिणत भयो भने त्यसको असर नेपालमा नपर्ने कुरै छैन । त्यसपछिको अवस्था भयाभह हुनसक्छ  । त्यसको असर या प्रभावका आयाम धेरै हुन सक्छन् । यदि साँच्चै युद्ध नै भयो भने बाध्य बनाएर भारतले नेपाललाई समेत पाकिस्तानविरुद्ध लड्न बाध्य बनाउनेछ । किनभने भारतले नेपालमा धेरै ठूलो लगानी गरेको छ । त्यतिबेला नेपालमा ठूलै डिजास्टर नहोला भन्न सकिँदैन । हिन्दु र मुस्लिमबीचको झगडा नेपालमै पनि हुनसक्छ । चीनले समेत निर्यात रोक्न सक्छ । आर्थिक सामाजिक, सांकृतिक र धार्मिक दंगाका कुरा पनि जोडिन्छन् । 

यसो भन्दै गर्दा शान्तिपूर्ण वार्तामार्फत दुई देशबीचको समस्या समाधान होस् भन्ने हाम्रो चाहाना र कामना हुनुपर्छ । दुवै देश आणविक शक्ति भएको राष्ट्र भएकाले पनि हामी उनीहरुको तुलनामा कमजोर नै छौ । 

तर सार्क राष्ट्रको हैसियतले हामीले यो वेलामा आफ्नो भूमिका बढाउन सक्नुपर्छ – शान्तिको पक्षमा । हाम्रो सरकारले निर्णय गरेर पूर्व राजदुत वा नेपाली सेनाका पूर्व जर्नेलहरुलाई शान्तिपुर्ण अवतरणका लागि पठाउन सक्छ । त्यसो गरे सार्क राष्ट्रको पहल पनि देखिन्छ र समस्या समाधानमा सहयोग पनि पुग्छ । 

यदि त्यसो भएन र युद्ध नै भयो भने, नेपालले आफ्नो सुरक्षा तयारी पनि गर्नुपर्ने हुन्छ । सीमा बन्द गर्नुपर्ने हुनसक्छ । त्यसकारण सरकार क्रियाशिल हुने बेला हो जस्तो लाग्छ । यो वेलामा सरकारले औपचारिकताका लागि वक्तव्य निकालेर मात्रै आफ्नो जिम्मेवारी पुरा भयो भनेर बस्नुहुन्न ।

रमेशनाथ पाण्डे, पूर्व मन्त्री 

कश्मिर समस्या आतंकवादको वढावासँग गाँसिएर भारत र पाकिस्तानको सम्बन्धलाई कटुतापूर्ण बनाउँदै बेला बेलामा दुश्मनीमा परिणत हुने गरेको छ । अहिले जे घटनाहरु भइरहेका छन् ती घटनाहरुको पछाडि भारत र पाकिस्तान दुवैको उत्तिकै हात रहेको छ । 

यो समस्याले दक्षिण एसियामा अस्थिरता र अनावश्यक जोखिम थप्ने गरेको छ । नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो स्वतन्त्र राष्ट्र हो । स्वाभिमानी राष्ट्र नेपालको काश्मिर समस्या चासोको विषय पनि हो ।

नेपाल सार्कको राजधानी भएकाले र संयोगले सार्कको अध्यक्ष पनि भएकाले यसमा अहिले भइरहेको घटनामा नैतिक र सीपमूलक नेतृत्वको भूमिका लिन सक्नुपर्दछ । 

भारत र पाकिस्तानको द्वन्द्वमा दक्षिण एसिया नच्यापिओस् र यस क्षेत्रमा छिटो शान्त होस् भन्नका लागि नेपालले दुवै सदस्य राष्ट्रहरुलाई संयम र परिपक्वताको सन्देश दिनुपर्छ ।

नेपाल सरकारले इतिहासलाई सम्झनु उचित हुन्छ । भारत र पाकिस्तान जन्मने बित्तिकै पहिलोपटक भएको द्वन्दमा संयुक्त राष्ट्र संघले पर्यवेक्षकको भूमिका नेपाली सेनालाई दिएको थियो । १९६५ र १९७१ मा भारत र पाकिस्तानका बीचमा भएको युद्धमा नेपालले संयम र विवेकका लागि गरेको प्रभावकारी पहलबाट प्रेरणा लिनुपर्दछ ।

बाबुराम भट्टराई प्रधानमन्त्री बनेपछि नेपाल भारतबीच गरिएको सन् १९५० को सम्झौताबारे सक्रियरुपमा कुरा उठाइयो । १९५० को सन्धी अनुसार भारतले पाकिस्तानसँग युद्ध सुरु गरेको भए वा अन्य देशबीच द्वन्द्व सुरु भएलगत्तै जानकारी दिनुपर्दथ्यो । के भारतले नेपाललाई यसबारे जानकारी दिएको छ, यसबारे बुझ्नुपर्दछ । 

 

प्रतिक्रिया दिनुहोस