सफल संवाद

ग्रहको नकारात्मक प्रभाव कम गर्न वास्तु आवश्यक छ : मनिष

सूर्यप्रकाश कँडेल

शनिबार, ०४ फागुन २०७५, १७ : ००
ग्रहको नकारात्मक प्रभाव कम गर्न वास्तु आवश्यक छ : मनिष

विशालनगर, काठमाडौं निवासी मनिष नासननी वास्तु परामर्शदाता हुन् । दुई वर्षदेखि पूर्णरुपमा वास्तु सम्बन्धी काम गर्दै आएका मनिष सुरुमा वास्तुविरोधी थिए । वास्तु अध्यात्म नभई विज्ञान भएको थाहा पाएपछि आफू वास्तु क्षेत्रमा सक्रिय रहेको उनको भनाइ छ । व्यवस्थापन विषयमा स्नातकोत्तर तहको पढाई पूरा गरेका मनिष स्वअध्ययनपछि वास्तु क्षेत्रमा आएका हुन् ।

२०३३ साल भदौ १२ गते पनौतीमा जन्मिएका मनिषले सात कक्षासम्म पनौतीमा रहेको इन्द्रेश्वर माध्यमिक विद्यालयमा पढे । आठ कक्षादेखि काठमाडौंको पुरानो वानेश्वरस्थित अम्बर आदर्श बोर्डिङ स्कुलमा अध्ययन गरेका मनिषले सोही विद्यालयबाट २०४९ सालमा एसएलसी दिए । पिपुल्स क्याम्पस पकनाजोलबाट २०५२ सालमा आईकम पूरा गरेका उनले पब्लिक युथ कलेज क्षेत्रपाटीबाट २०५५ सालमा बीबीएसको अध्ययन सिध्याए । २०५८ सालमा शंकरदेव क्याम्पस पुतलीसडकबाट एमबीएसको पढाई पूरा गरेपछि उनले जागीर सुरु गरे । २०५८ सालदेखि थाई एयरवेजमा १३ वर्षसम्म काम गरेका मनिषले त्यसपछिका दुई वर्ष मलेसियाको एयर एसियामा स्टेशन म्यानेजर एवं कन्ट्री हेडका रुपमा काम गरे ।

प्रस्तुत छ, सफल खबर डट कमका लागि पत्रकार सूर्यप्रकाश कँडेलले वास्तु परामर्शदाता मनिष नासननीसँग गर्नु भएको कुराकानी :

तपाइँ व्यवस्थापन विषय लिएर उच्चशिक्षा हासिल गर्नु भएको व्यक्ति । कसरी वास्तु क्षेत्रमा आउनु भयो ?
मेरो ससुरा माधवमंगल जोशी नेपालको प्रसिद्ध वास्तुविद् हुनुहुन्छ । उहाँबाट प्रभावित भएर उहाँकै प्रेरणाले म वास्तु क्षेत्रमा प्रवेश गरेको हुँ । सुरुमा त म वास्तुविरोधी थिएँ । ससुरा बुबाबाट वास्तुको वैज्ञानिक पक्ष थाहा पाएपछि प्रभावित भएँ । औपचारिक पढाईभन्दा पनि वास्तु सम्बन्धी केही किताब र इन्टरनेटमा उपलब्ध विवरण अध्ययन गरेर वास्तु क्षेत्रमा लागेको हुँ ।
वास्तुबारे जानकारी हासिल गरेपछि सुरुमा घरमै परिवर्तन गरेँ । नतिजा सकारात्मक आयो । त्यसपछि साथीभाइको घरमा वास्तुको काम गरेँ, राम्रै भयो । बिस्तारै मैले वास्तु हेरेका व्यक्तिहरुले एकले अर्कोलाई राम्रो भएको सुनाउन थालेपछि प्रचारप्रसार हुन थाल्यो । अहिले कामको चाप बढेको छ । कमाई राम्रै छ ।

नेपालमा पछिल्लो समय वास्तु फेशनजस्तो बनेको छ । भौतिक संरचना निर्माणमा विशेषगरी घर बनाउँदा वास्तु हेर्ने गरिन्छ । वास्तु भनेको के हो ?
वास्तु बुझ्नको लागि पहिले ग्रह र मानव शरीरबारे बुझ्नु पर्छ । पञ्च तत्वलाई बुझ्नु पर्छ । पृथ्वी एउटा ग्रह हो, जहाँ हामी बसिरहेका छौं । ग्रह र मानव शरीरमा चुम्बकीय तरंगहरु बहन्छन् । पृथ्वी एउटा ठूलो चुम्बक हो । वास्तुशास्त्रमा पृथ्वीलाई भौगोलिक चुम्बक (जियोम्याग्नेट) र मानव शरीरलाई जैविक चुम्बक (बायोम्याग्नेट) का रुपमा लिइन्छ । भौगोलिक चुम्बक र जैविक चुम्बकको अन्तरसम्बन्ध नै वास्तु हो । वास्तुले प्रकृतिमा रहेको ऊर्जालाई मानव हितमा सदुपयोग गर्न सघाउँछ ।
वास्तु अनुसार उत्तर दिशातिर सिरान गरेर सुत्नु हुँदैन । यसको कारण छ । जसरी पृथ्वीमा उत्तरबाट दक्षिणतर्फ सकारात्मक ऊर्जा प्रवाह हुन्छ, त्यसरी नै मानव शरीरमा पनि प्रवाहित हुन्छ । जब हामी उत्तर दिशातिर सिरानी राखेर सुत्छौं, पृथ्वीको चुम्बकीय ऊर्जा र मानव शरीरको चुम्बकीय ऊर्जा दुबै एउटै दिशामा पर्छन् । विज्ञानका सामान्य विद्यार्थीलाई पनि जानकारी भएको कुरा हो, चुम्बकका एउटै ध्रुव एकापसमा टाँसिदैनन्, विकर्षण हुन्छन् । यस्तो विकर्षण हुँदा सकारात्मक ऊर्जा नष्ट हुन्छ । त्यसैले उत्तरतिर सिरान गर्नु हुँदैन भनिएको हो ।

कतिपयले वास्तुलाई धर्मसँग पनि जोडेर हेरेको पाइन्छ । वास्तुशास्त्र आध्यात्मिक विषय हो कि भौतिक ?
वास्तु एकदमै भौतिक विषय हो । यो निर्माणसँग सम्बन्धित छ । मानिसको बसाई, सुताई, अनि पृथ्वीका चार मुख्य दिशा र चार सहायक दिशासँग सम्बन्धित छ । पूर्व, पश्चिम, उत्तर र दक्षिण पृथ्वीका चार मुख्य दिशा हुन् । इशान (उत्तरपूर्व), आग्नेय (दक्षिणपूर्व), नैरिद्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) पृथ्वीका चार सहायक दिशा हुन् । चार सहायक दिशाहरु र यिनीहरुको केन्द्र भागलाई पञ्चतत्वसँग जोडेर हेर्छ वास्तुशास्त्रले ।
वास्तुशास्त्र अनुसार इशानलाई पानी, आग्नेयलाई आगो, नैरिद्यलाई माटो, वायव्यलाई हावा र यी चार सहायक दिशाको केन्द्रीय भागलाई आकाशका रुपमा लिइन्छ । हाम्रो शरीरमा पञ्चतत्वको प्रभाव विज्ञानले पुष्टि गरिसकेको छ । पञ्चतत्वको प्रतिनिधित्व गर्ने यिनै दिशाहरुलाई सकारात्मक ऊर्जा बढी लिने र नकारात्मक ऊर्जा कम लिने गरी व्यवस्थापन गर्ने कुरा वास्तुले सिकाउँछ र सघाउँछ । त्यसैले वास्तु धर्मसँग सम्बन्धित छैन ।
वास्तु भनेको प्रकृतिविज्ञान (साइन्स अफ नेचर) हो । वास्तुशास्त्रका पुराना लेखहरु सँस्कृत भाषामा लेखिएको हुनाले यसलाई धर्मसँग जोडिएको हुन सक्छ । तर वास्तुशास्त्री भनेका पुरानो जमानाका इञ्जिनियर र आर्किटेक्चर नै हुन् ।

तपाइँले सकारात्मक र नकारात्मक ऊर्जाको कुरा गर्नुभयो । चार मुख्य र चार सहायक दिशा अनि पञ्चतत्वको पनि कुरा गर्नुभयो । यिनीहरु एकाआपसमा सम्बन्धित छन् कि छैनन् ?
ऊर्जा, दिशा र पञ्चतत्वबीच आपसी सम्बन्ध हुन्छ । सकारात्मक ऊर्जा सधैं उत्तरबाट दक्षिण र पूर्वबाट पश्चिमतर्फ बहन्छ । यसको ठीक उल्टो नकारात्मक ऊर्जा दक्षिणबाट उत्तर र पश्चिमबाट पूर्वतर्फ बहन्छ । इशान कोणमा सकारात्मक ऊर्जामात्र हुन्छ । नैरिद्य कोणमा नकारात्मक ऊर्जामात्र हुन्छ । आग्नेय र वायव्य कोणमा सकारात्मक र नकारात्मक दुबैथरी ऊर्जा हुन्छन् ।
हाम्रो शरीरमा सकारात्मक ऊर्जाको प्रवेश बढी भयो भने हाम्रो सोचाईमा पनि सकारात्मकता आउँछ, नकारात्मक ऊर्जाको प्रवेश बढी भयो भने नकारात्मक सोचाई आउँछ । हाम्रो सोचाईको असर कर्ममा पर्छ । हामीभित्र सकारात्मक सोचाई भयो भने कामको नतिजा पनि सकारात्मक आउँछ, नकारात्मक सोचाई भयो भने कामको नतिजा नकारात्मक नै हुन्छ ।
हामीलाई बढीभन्दा बढी सकारात्मक ऊर्जा प्राप्त हुने वातावरण वास्तुबाट प्राप्त गर्न सकिन्छ । उत्तरबाट आउने भूचुम्बकीय ऊर्जा फाइदाजनक हुन्छ । पूर्वको ऊर्जा (सूर्यको किरण) सूर्योदयदेखि मध्याह्नसम्म फाइदाजनक हुन्छ भने मध्याह्नदेखि सूर्यास्तसम्मको किरण हानिकारक ।

हामीले प्रकृतिबाट बढीभन्दा बढी सकारात्मक ऊर्जा प्राप्त गर्न के गर्नु पर्छ ?
प्रकृतिबाट बढीभन्दा बढी सकारात्मक ऊर्जा प्राप्त गर्न पूर्व र उत्तरको ऊर्जा बढी लिने, दक्षिण र पश्चिमको ऊर्जा कम लिने गर्नु पर्छ । हाम्रो घर र काम गर्ने ठाउँ सकारात्मक ऊर्जा बढी र नकारात्मक ऊर्जा कम उपलब्ध हुने हिसाबले मिलाउनु पर्छ । यस्तो गर्न वास्तुले सघाउँछ । वास्तु पञ्चतत्वसँग सम्बन्धित छ । आगो र पानी एकैठाउँमा राख्न भएन । वास्तुले भन्ने नै यही हो ।
पानीको स्वभाव शान्त हुन्छ । पञ्चतत्वमध्ये पानी भनेको इशान कोण हो । हामीले घर निर्माण गर्दा बैठककोठा, अध्ययनकोठा र पूजाकोठा इशान कोणमा पा¥यौं भने सकारात्मक ऊर्जा प्राप्त गर्छौं । यसले हाम्रो सोचाई र काममा सकारात्मक प्रभाव पार्छ । भान्साकोठामा आगो चाहिन्छ, आग्नेय कोणमा बनाऔं । घरमूलीको कोठा नैरिद्य कोणमा र पाहुनाकोठा वायव्य कोणमा बनाउनु वास्तुका हिसाबले राम्रो मानिन्छ । यी सबै कुरा मिलाउन सकियो भने ऊर्जा खल्बलिँदैन । पञ्चतत्वलाई सकारात्मक ऊर्जा बढी पाउने गरी मिलाउनु नै वास्तु हो ।

त्यसो भए वास्तु बिग्रँदैमा सबै कुरा बिग्रने र वास्तु राम्रो भएमा सबै कुरा राम्रो हुने हो त ?
त्यस्तो पनि होइन । वास्तु नै सबै कुरा होइन । वास्तुले सबै राम्रो गर्ने पनि होइन । पृथ्वी एउटा ग्रह हो । सौर्यमण्डलमा यस्ता धेरै ग्रह छन् । सबै ग्रह सूर्यबाट चोइटिएर बनेका हुन् । हामी पृथ्वीवासी भएकोले हामीलाई सूर्यको र अन्य ग्रहको प्रभाव पर्छ । ग्रहको गति, यात्रा निश्चित छ । त्यसैले हामीले सूर्य वा ग्रहलाई वा तिनको प्रभावलाई केही गर्न सक्दैनौं ।
राम्रो नतिजा प्राप्त गर्न कर्म पनि राम्रो र सकारात्मक हुनु पर्छ । कर्मलाई सकारात्मक बनाउने कर्ताको सोचाईले हो । हामीले जस्तो सोच्छौं, हाम्रो काम र त्यसले दिने नतिजा त्यस्तै हुन्छ । हाम्रो सोचलाई सकारात्मक बनाउने काममा वास्तुले सहयोगमात्र गर्छ । वास्तुको सहयोगले हामी सकारात्मक ऊर्जा प्राप्त गर्ने वातावरण बनाउन सक्छौं । सकारात्मक ऊर्जाले सोचाईलाई सकारात्मक बनाइदिन्छ । सकारात्मक सोचबाट गरिएका कामको नतिजा सकारात्मक नै हुन्छ ।
भवनको निर्माण प्रकृतिबाट सकारात्मक ऊर्जा बढी र नकारात्मक ऊर्जा कम लिने गरी मिलाउनु नै वास्तु भएकोले केही राम्रो त अवश्य हुन्छ । हामीले खगोलीय पिण्डहरु (सूर्य, ग्रह र उपग्रह) को प्रभाव रोक्न नसकेपनि वास्तु अनुसार सकारात्मक ऊर्जा बढी प्राप्त हुने वातावरण निर्माण गर्न सक्छौं । यसो गर्न सकेमा वास्तुले हाम्रो सोचविचार, काम र नतिजालाई सकारात्मक बनाइदिन्छ ।

प्रतिक्रिया दिनुहोस