कञ्चनपुरको घटना हाम्रो सामु चुनौती बनिरहेको छ : प्रहरी प्रवक्ता

सफल खबर संवाददाता

मंगलबार, १५ माघ २०७५, १५ : ०४
कञ्चनपुरको घटना हाम्रो सामु चुनौती बनिरहेको छ : प्रहरी प्रवक्ता

चितवन । समाजमा अपराध न्यूनीकरण गर्न नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अघि बढाइरहेको छ । यस कार्यक्रम अन्तर्गत देशभरमा ३ सय ६० वटा विभिन्न समितिहरु गठन भएका छन् ।

‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी यो कार्यक्रम अघि बढेको छ । समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेर प्रहरीले यो कार्यक्रम अगाडि बढाएको हो । प्रहरी यतिबेला सबै क्षेत्रमा समिति गठन गर्दै अगाडि बढिरहेको छ । देशभरमा ३ सय ६० जिल्ला समिति, पालिका समिति, वडा समिति, टोल समिति र विद्यालय समिति निर्माण गरिसकिएको छ ।

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम कस्तो कार्यक्रम हो ? समग्र देशको शान्तिसुरक्षा कसरी अगाडि बढिरहेको छ ? समाजमा कस्ता खालका विकृति बढिरहेका छन् ? समाजमा आपराधिक गतिविधि किन बढिरहेको छ ? यस्ता विविध विषयमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीको धारणा :

समुदाय–प्रहरी साझेदारी कार्यक्रम के हो ? अपराध न्यूनीकरणमा यो कत्तिको प्रभावकारी छ ?
‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम प्रहरीले अगाडि बढाइरहेको छ । यो कार्यक्रम कार्यान्वयनमा आएको तीन महिना भयो, समाजमा यसको प्रभावकारिता देखिन थालेको अनुभव नेपाल प्रहरीलाई भएको छ । हरेक गाउँ र टोलमा समिति निर्माण गर्ने अवधारणामा स्थानीय जनसहभागिता उत्साहजनक छ । प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत् स्थानीय जनसमुदायको सहयोगमा कार्तिकदेखि यता देशभरबाट १ सय १० जना फरार अपराधी नियन्त्रणमा लिइसकेको छ ।

समाजमा शान्ति, सुरक्षा र अमनचैनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी भइरहेको छ । देशभरका ६ सय २० स्थानीय तहसँग सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भई कार्यक्रम अगाडि बढिरहेको छ । ७ सय ५३ स्थानीय तहसम्म कार्यक्रम लैजाने लक्ष्यका साथ प्रहरी अगाडि बढेको छ । १० हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक यो कार्यक्रममा प्रत्यक्ष संलग्न भइरहेका छन् ।

कार्यक्रमलाई सफल पार्न प्रहरीले पर्चा–पम्प्लेट वितरण गर्नेदेखि घरघरमा पुगेर समाजमा हुने अपराध सम्बन्धी जानकारी गराउने, प्रशिक्षण दिने, सामुदायिक गस्ती गर्ने, अन्तक्र्रिया कार्यक्रम सञ्चालन तथा सार्वजनिक सुनुवाई लगायतका कार्यक्रम गरिरहेकोे छ । अपराध रोकथामका लागि विद्यालयसँग सहकार्य गरेर छुट्टै पाठ्यक्रम निर्माण गरेर लागू गर्ने तयारी पनि भइरहेको छ ।

सामाजिक सञ्जालको दुरुपयोगले समाजमा अपराध बढ्यो भन्ने सुनिन्छ । यसबारेमा तपाईंको धारणा के छ ?
फेसबुक, यूट्युबलगायतका सामाजिक सञ्जालको सदुपयोगको ठाउँमा दुरुपयोग भइरहेको छ । यसको दुरुपयोग बढीमात्रा युवा पुस्ताले गरिरहेका छन् । अधिकांश अपराधहरु सामाजिक सञ्जालको दुरुपयोगले बढिरहेका छन् । कतिपय अपराधहरु त अझ प्रहरी समक्ष आएकै हुँदैन । भित्रभित्रै पैसाको सेटिङले कुरा मिलाइन्छ, अपराध लुकाइन्छ । अचेल मिडियाको पहुँच, चेतना, सामाजिक सञ्जालको बढ्दो प्रयोगले समाजमा कमैमात्रामा अपराध लुकेको छ, तर अझै पनि सबै घटना प्रहरीसम्म आइपुगेको छैन ।

सामाजिक सञ्जालको दुरुपयोगले सामाजिक विकृतिहरु बढिरहेका छन् । ८० प्रतिशत हत्या, हिंसा, बलात्कारको घटना सामाजिक विकृतिबाट भइरहेको पाइन्छ । नक्कली आइडी बनाएर चरित्र हत्या गर्ने घटना बढेका छन् । ८२ लाखभन्दा बढी नेपालीहरु फेसबुक प्रयोगकर्ता छन् । तीमध्ये १८ देखि ३० वर्ष उमेर समूहका बढी छन् । धेरैजसो यही उमेर समूहले सामाजिक सञ्जालको दुरुपयोग गरी अपराध बढाइरहेका छन् । नेपालमा सामाजिक सञ्जाल दुरुपयोगको भयावह अवस्था देखिएको छ ।

कानुनी रुपमा यस्तो अपराध गर्नेलाई एक लाखदेखि दुई लाखसम्म जरिवाना, २ वर्षदेखि ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । जिल्लामा सामाजिक सञ्जालको मुद्दा दायर गर्न पाइँदैन । यो मुद्दा काठमाडौँ जिल्ला अदालतले मात्र हेर्ने गरेको छ । अब यसलाई प्रदेश स्तरसम्म छिट्टै ल्याउन प्रहरी लागिरहेको छ ।

हाम्रो समाजमा बलात्कारका घटना डरलाग्दो बन्दै गइरहेका छन् । यसलाई रोक्न नेपाल प्रहरीले के गर्दैछ ?
नेपालमा अहिले डरलाग्दो रुपमा बलात्कारका घटना देखिएको छ । यसको मूल कारण सामाजिक सञ्जालको दुरुपयोग नै हो । पछिल्लो समयको केन्द्रीय प्रहरीको तथ्यांक अनुसार ९७ प्रतिशत बलात्कार घटनाका दोषीहरु पक्राउ परेका छन् । यो संसारकै एउटा नमुना नेपालले प्रस्तुत गरेको छ । तर पनि कञ्चनपुरको घटना हाम्रो सामु चुनौती बनिरहेको छ । तथ्यांक अनुसार ६४ प्रतिशत १५ वर्षमुनिका बालिकाहरु बलात्कारमा परिरहेका छन् । यो भयावह अवस्था हो ।  

बालिका बलात्कारमा परिरहेका छन्, तर कोबाट ? बुबा, बाजे, काका, आफन्त, सहपाठीबाटै बालिका बलात्कारमा परिरहेका छन् । अब त बाबु र बाजेबाट बालिकाहरु जोगाउनु पर्ने अवस्था आइसक्यो । मेरो घर सुरक्षित छ भनेर भन्न सकिने अवस्था रहेन । अपराध समाजबाट जन्मछ । जबसम्म समाज अपराधीहरुलाई सामाजिकीकरण गर्न लाग्दैन, तबसम्म अपराध घट्दैन । यस्ता अपराध नियन्त्रण गर्न प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अघि बढाएको हो । समाजसँग जोडिएर सचेतनाको कार्यक्रम गरिनेछ ।

स्थानीय सरकारसँग सहकार्य गरेर प्रहरी अघि बढ्छ । नैतिक शिक्षाका कार्यक्रम अघि बढाइने छ । विद्यालयलक्षित कार्यक्रमहरु अगाडि बढाइने छ । सबैभन्दा बढी १६ देखि २५ वर्ष उमेरका मानिसहरु अपराधमा संलग्न छन् । ती उमेरका व्यक्ति भनेका विद्यालय तथा कलेज युवा पुस्ता नै हुन् । तिनीहरुलाई लक्षित गरेर कार्यक्रम अघि बढाइने छ । पाठ्यक्रममा अपराध र अपराधिक गतिविधिसँग सम्बन्धित भएका घटनाहरुलाई समावेश गरिने छ । चार कक्षा पुगेका बालबालिकालाई अब गुड टच र ब्याड टच के हो भनेर सिकाउने बेला आयो ।

प्रतिक्रिया दिनुहोस