पोल्ट्रीमा वैदेशिक लगानी आवश्यक छैन : त्रिलोचन कँडेल

सफल खबर संवाददाता

विहीबार, १० माघ २०७५, १७ : ००
पोल्ट्रीमा वैदेशिक लगानी आवश्यक छैन : त्रिलोचन कँडेल

नेपाल अण्डा उत्पादक संघ २०५६ सालमा स्थापना भएको हो । यसको केन्द्रीय कार्यालय नारायणगढ, पुल्चोकस्थित न्यूरोडमा रहेको छ । यस संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेल हुन् । उनले यतिबेला अण्डा उत्पादक किसानहरुको लागि थप नयाँ योजनाहरु ल्याएका छन् । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष कँडेलले कसरी संघलाई अगाडि बढाइरहेका छन् ? के के योजना ल्याएका छन् त ? यसै विषयमा केन्द्रित भएर उहाँसँग सफल खबरले गरेको संक्षिप्त कुराकानी :

१) नेपाल अण्डा उत्पादक संघ कसरी अगाडि बढिरहेको छ ?
७५ जनाबाट सुरू भएको नेपाल अण्डा उत्पादक संघमा अहिले १५ सयको हाराहारीमा सदस्य भएका छन् । संघको सक्रियताको कारण अण्डामा नेपाल आत्मनिर्भर भएको छ । संघको नेतृत्व मैले हाँकिरहँदा यसलाई अझ अगाडि बढाउनु पर्ने मैले महसुुुस गरेको छु । अहिले देशभर ११ वटा शाखा छन् । प्रदेश ४ को पोखरामा प्रादेशिक शाखा खोल्ने तयारी भइरहेको छ । ५ नम्बर प्रदेशको दाङमा प्रादेशिक शाखा छ । बुटवलमा सम्पर्क कार्यालय खोलिएको छ । ६ नम्बरकोे बर्दियामा सम्पर्क कार्यालय खोलिएको छ । १ नम्बर प्रदेशको झापामा शाखा छ । यसबाहेक लमजुङ, पर्वतमा पनि शाखा कार्यालय खोलिएका छन् ।

२) अहिले किसानले अण्डाको उचित मूल्य पाउन सकेका छैनन् नि ?
किसानले एउटा अण्डाको मूल्य ८ रूपैयाँ पाउँदै आएका छन् । उपभोक्ताले सोही अण्डा १५ रुपैयाँमा किनिरहेका छन् । किसानले अण्डाको उचित मूल्य पाएका छैनन् । बिचौलियाको कारणले किसानले अण्डाको उचित मूल्य नपाएका हुन् । कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्था आएपछि नेपाल अण्डा उत्पादक संघ आफैँले विभिन्न क्षेत्रमा अण्डाको सस्तो पसल राख्ने योजना बनाइरहेको छ ।

अहिलेको बजार संरचना अनुसार पाँच ठाउँ पार गरेर कुखुराको अण्डा उपभोक्तामा पुगिरहेको छ । जसले गर्दा पनि सस्तो पसल अति आवश्यक भइसकेको छ । बिचौलियाका कारण किसान र उपभोक्ता दुबै मारमा परेका छन् । बिचौलियाको प्रभाव कम गरेर किसान बचाउन नसके आत्मनिर्भर रहेको व्यवसाय संकटमा पर्न सक्छ ।
किसानले दानावालालाई, दानावालाले प्रमुख डिलरलाई त्यसपछि अण्डा सहायक केन्द्र, सहायक केन्द्रबाट बिक्री गर्ने व्यक्ति (सेल्सम्यान) र बिक्री गर्ने व्यक्तिबाट किराना पसलसम्म पुग्छ । यसरी पाँच ठाउँ पार गरेर किसानको अण्डा उपभोक्तामा पुगिरहेको छ । जसले गर्दा किसान र उपभोक्ता दुबै मारमा परेका छन् । त्यसैले हामीले अण्डाको सस्तो पसल राख्ने योजना बनाएका हौँ ।

३) सस्तो पसलबाहेक किसानको हितमा अरु के के काम भएका छन् ?
संघले अण्डा उत्पादन गर्ने किसानको हितमा धेरै काम गरिरहेको छ । किसानले अण्डाको मूल्य आफैँ निर्धारण गर्न पाएका छन् । अण्डा ढुवानीको जोखिम न्यूनीकरण गर्न राहत कोषको व्यवस्था गरिएको छ । अण्डामा क्षति भए राहत कोषबाट रकम निकासा गछौँ । किसानहरुलाई जैविक सुरक्षाको विषयमा जनचेतना दिएका छौँ । किसानहरुलाई फार्म व्यवस्थापनको गोष्ठीहरु दिएका छौँ । तर पनि यो अपुरो छ, अझै किसानको हितमा धेरै काम गर्दै जानेछौँ ।

४) किसानको हितमा हुने गरी पोल्ट्री सहकारी खोल्ने योजना पनि थियो, यो कहाँ पुग्यो ?
मैले पोल्ट्री सहकारी स्थापना गर्ने योजना बनाएको छु । दाङमा पोल्ट्री सहकारी स्थापना भइसकेको छ । जहाँ कुखुरापालन बढी गरेका छन्, त्यहाँ पोल्ट्री सहकारी खोल्ने योजना हो । चितवनमा पनि जुन वडामा बढी कुखुरापालन गरेका छन्, त्यहीँ नै पोल्ट्री सहकारी खोलिन्छ । पोल्ट्रीको विकासमा पोल्ट्री सहकारी कोशेढुंगा बन्नेछ । पोल्ट्री सहकारी खोलेपछि किसानका हरेक समस्या सहकारीमार्फत हल गरिन्छ । पोल्ट्री सहकारी खोल्ने तयारीमा छौँ हामी ।
नेपाली व्यवसायी नै पोल्ट्रीमा सक्षम छन् । पोल्ट्रीमा वैदेशिक लगानी आवश्यक छैन । किसानलाई तालिम दिने काम, बजारीकरण गर्ने काम, गोष्ठी तथा अन्तक्र्रिया गर्ने काम, पोल्ट्रीका समस्याहरुको समाधान गर्ने काम सबै पोल्ट्री सहकारीबाट नै हुनेछ ।

५) अण्डामा सिन्डिकेट छ भन्ने सुनिन्छ नि ?
अण्डा स्टक हुन सक्दैन । स्टक हुन नसक्ने चीज कसरी सिन्डिकेट हुन्छ ? अण्डामा सिन्डिकेट गर्न मिल्दैन । सम्भावना नै छैन । किसानले अण्डाको मूल्य बजारको माग अनुसार आफैँ निर्धारण गर्छन् । संघले पनि समर्थन मूल्य तोक्छ । अण्डाको गुणस्तर, मापदण्ड, प्याकिङ सबै हेरेर अण्डाको मूल्य राखिन्छ । अण्डा कसलाई बेच्ने भन्ने अधिकार किसानसँग रहन्छ । यस्तो अवस्थामा कसरी सिन्डिकेट हुन्छ ?

६) अहिले देशभर नै अण्डा उत्पादनको अवस्था कस्तो छ ? यसका चुनौतीहरु के के हुन् ?
देशभर नै अण्डा उत्पादनको अवस्था धेरै राम्रो बन्दै गएको छ । देशभर दैनिक ३५ लाख अण्डा उत्पादन भइरहेको छ । हप्तामा १ लाख २५ हजार लेयर्स चल्ला उत्पादन भइरहेको छ । नेपालमा प्रत्यक्ष रुपमा पोल्ट्री क्षेत्रमा डेढलाख भन्दा बढीले रोजगार पाएका छन् ।

अण्डा उत्पादनमा धेरै चुनौतीहरु हुन्छन् । यो लामो समयसम्म स्टक राख्नै नमिल्ने भएपछि चुनौतीहरु त झन् बढी हुने भयो । कुखुरामा लाग्ने विभिन्न रोगहरुले अण्डाको उत्पादन घटाइरहेको छ । क्वारेनटाइन चेकपोष्ट २४ घण्टा हुनुपर्छ । त्यो हुन सकिरहेको छैन । पोल्ट्री पकेट क्षेत्रमा ल्याबको व्यवस्था हुनुपर्छ । दाना उत्पादन नेपालमै हुनुपर्छ । दाना पनि विदेशबाट ल्याउँदा लागत बढी पर्छ । दाना बन्ने वस्तुहरु मकै, भटमास, सूर्यमुखीको खेती यहाँ हुन जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस