भरतपुर महानगरपालिकामा ठूला आयोजना : सिटी हलदेखि रंगशालासम्म

सफल खबर संवाददाता

आइतबार, ०६ माघ २०७५, ११ : ३८
भरतपुर महानगरपालिकामा ठूला आयोजना : सिटी हलदेखि रंगशालासम्म

चितवन । भरतपुर महानगरपालिकामा ठूला पूर्वाधार आयोजनाका काम सुरु भएका छन् । महानगरपालिकाभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेवासुविधा प्रदान गर्न सक्ने गरी तयार गरिएका योजनाका काम अगाडि बढेका छन् ।

अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम अगाडि बढाएको बताउँदै महानगरपालिका प्रमुख रेनु दहालले ठूला परियोजनाहरुको काम अगाडि बढिसकेको जानकारी दिनुभयो । नेपालकै नमुना महानगर बनाउन स्वदेशी र विदेशी संघसंस्थासँगको सम्बन्ध र सहयोगलाई विशेष प्रथामिकता दिएको उहाँले बताउनु भयो । हरेक क्षेत्रमा काम गर्नका लागि स्वदेशी तथा विदेशी संघ संस्थाहरुको चासो बढिरहेको बताउँदै उहाँले पछिल्लो समय चितवनमा ठूलो प्लान्टमा अर्गानिक कृषि प्रविधि ल्याउन, प्रविधिक शिक्षालय बनाउन र विकास निर्माणका लागि चासो बढी रहेको दहालले जानकारी दिनुभयो ।

महानगर क्षेत्रमै पर्ने चितवन क्षेत्र नं. ३ का सांसदसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साथले पनि महानगरभित्रका ठूला आयोजनाले गति लिन थालेका हुन् । देशको मध्यभागमा रहेको भरतपुर महानगरपालिकामा पछिल्लो समय विकासका लागि सहयोग गर्न स्वदेशी एवं विदेशी लगानीकर्ताको चासो बढ्दै गएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
महानगरभित्र अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने काममा लामो समयदेखि प्रयास जारी रहेको थियो । केही समय अन्यौलजस्तो अवस्थामा पुगेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने काम अगाडि बढेको छ । महानगरभित्रै पर्ने कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको रामपुरमा जग्गा प्राप्त भएपछि निर्माणको प्रकृया अगाडि बढेको हो ।
धुर्मुस सुन्तली फाउण्डेशनसँगको सहकार्यमा निर्माण हुने गरी प्रकृया अगाडि बढेको प्रमुख दहालले बताउनु भयो । यही महिनामा एउटा विशेष कार्यक्रमको आयोजना गरी कामको सुरुवात हुने उहाँले बताउनु भयो । ३० बिघा क्षेत्रफलमा बन्ने रंगशाला निर्माणका लागि लगभग ३ अर्ब रुपैयाँ लगानी हुने र एशियाकै नमूना रङ्गशाला बन्ने महानगरले जनाएको छ ।

नमुना सिटी हल
परिकल्पना पहिल्यैको भएपनि जमिनको बिषयमा विवाद भएका कारण केही समय अन्यौलमा रहेको सभागृह निर्माणको काम पनि अगाडि बढेको छ । शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा सभागृह निर्माणका लागि जिल्ला समन्वय समितिको परिसरमा रहेको चार बिघा चार कठ्ठा जग्गा महानगरपालिकाको नाममा हस्तान्तरण भइसकेको छ ।


सिटी हल निर्माणको लागि नक्साङ्कनका लागि प्राविधिक टोली आएर काम शुरु गरिसकेको जानकारी दिँदै महानगर प्रमुख दाहालले जतिसक्दो छिटो नक्साङ्कन गरेर बोलपत्र आह्वान गरिने बताउनु भयो । शहरी विकास तथा भवन निर्माण विभाग मार्फत ५१ करोड रुपैयाँ विनियोजन गरिसकेको र अपुग हुने रकमका लागि संघीय सरकारबाट उपलव्ध गराउने प्रतिवद्धता भइसकेको महानगर प्रमुख दहालले बताउनु भयो । सिटी हल निर्माणका लागि परामर्शदाताद्वारा जग्गाको नापजाँच भएको र शहरी विकास तथा भवन निर्माण विभागले चैत महिना सम्ममा डिपीआर दिएमा असारमा शिल्यान्यास गर्न सकिने बताइएको छ ।

बहुउद्देश्यीय व्यावसायिक भवन
नारायणगढ बजारको लायन्सचोकमा बहुउद्देश्यीय व्यावसायिक भवन बनाउने कामको प्रकृया पनि महानगरले अगाडि बढाएको छ । केही समय अगाडिसम्म फलफूल तथा तरकारी बजार रहेको त्यस क्षेत्रमा ८० करोड रुपैयाँ बराबरको लागानीमा पार्किङसहितको बहुतले भवन बनाइने प्रमुख दाहालले बताउनु भयो ।
विस्तृत अध्ययन गरी नक्साङ्कनको काम अन्तिम चरणमा पुगेको बताउदै उहाँले व्यस्त बजार नजिकै आधुनिक शैलीमा बहुउद्देश्यीय व्यावसायिक भवन निर्माण भएपछि नारायणगढ बजार थप व्यवस्थित हुने उहाँले बताउनु भयो ।

रिङरोड र लिङ्करोड
महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सडकको स्तर उन्नति, कालोपत्रे र सडक बिस्तारको कामलाई प्रथामिकतामा राखेको दाहालले बताउनु भयो । महानगरको योजनामा परेका सघन शहरी विकास कार्यक्रम अन्तर्गत १३ वटा सडक कालोपत्रे निर्माणको लागि सम्झौता भई काम थालिएको छ । महानगरभित्र रिङरोड र लिङ्करोड निर्माणका लागि शहरी विकास तथा भवन निर्माण विभागले भरतपुर महानगरमा एक अर्ब ५० करोड खर्च गर्न सक्ने गरी काम अघि बढाएको छ । रिङरोड र लिङ्करोडका लागि बाटाका लागि बोलपत्र आह्वान भई ठेकेदार कम्पनीले काम अघि बढाइसकेका छन् ।

बसपार्क
सोही कार्यालयको सहयोगमा भरतपुरस्थित केन्द्रीय बसपार्क र नारायणगढमा रहेको बसपर्कलाई थप व्यवस्थापन गर्ने योजना महानगरले अगाडि बढाएको छ । ठेक्का सम्झौता भई काम अगाडि बढिसकेको महानगर प्रमुख दाहालले बताउनु भयो । कुनै समय दक्षिण एसियाकै नमुना बसपार्क भनिएको केन्द्रीय बसपार्कको व्यवस्थापनदेखि थप भौतिक पूर्वाधार विकास गरी नमुना बसपार्क बनाउने गरी काम अगाडि बढेको उहाँले बताउनु भयो ।

आधुनिक पार्क
महानगरपालिकाले नगर वनलाई गौरवको आयोजनाको रुपमा विकास गर्ने तयारी गरेको छ । नगरवन, रानीपोखरी, लक्ष्मीनारायण मन्दिरमा पार्क निर्माणका लागि लगभग १४ करोड खर्च गर्ने गरी काम अगाडि बढाएको छ । महानगरमा रहेका तीन वटा पार्क पर्यटकको आकर्षण केन्द्र बन्ने अपेक्षा गरिएको छ । पार्क निर्मााणका लागि बोलपत्र आह्वान भइसकेको बताउँदै उहाँले स्वदेशी एवं विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो ।

नारायणी नदी किनारमा रहेको नगर वनलाई गौरवको आयोजनाको रुपमा विकास गरी अन्तर्राष्ट्रिय पर्यटकहरुलाई समेत आकर्षित गर्ने गरी पर्यटकीय क्षेत्र बनाइने उहाँले बताउनु भयो । विभिन्न क्षेत्रबाट सहयोगको प्रस्ताव आइरहेकोले यसलाई विभिन्न सरोकार राख्ने निकायहरुसंग समन्वय गरेर काम सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।

अस्पताल विकास
महानगरले जिल्लामा रहेका दुई वटा अस्पताललाई ठूलो अयोजनाको रुपमा लिएर काम अगाडि बढाएको छ । भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्ने महानगरकै अगुवाइमा विभागको सहयोगमा भरतपुर अस्पतालमा ६ करोड रुपैयाँ लगानी गरी बिरामी कुरुवा घर निर्माणको काम अगाडि बढिसकेको दाहालले बताउनु भयो ।

चौथो प्याकेज अन्तर्गत ६ करोड रुपैंयाँको लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी रविना–जोशी–फूलजोर जेभीसँग सम्झौता भएको हो । कुरुवा घरमा ५० वटा बेड रहने छन् । कुरुवा घरभित्र रेष्टुरेण्ट, पार्किङ लगायतको व्यवस्था हुनेछ । महानगरले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्न गृहकार्य अघि बढाइएको छ । क्यान्सर रोगसँग सम्बन्धित बिषय अध्ययन अनुसन्धानका लागि प्रतिष्ठनकै रुपमा अस्पतालको विकास गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

शव दाहगृह
देवघाटमा १० करोडको लागानीमा शव दाहगृह बनाउने तयारी भइरहेको छ । ठेक्का सम्झौता भइसकेको छ । सरकारको लगानीमा देवघाटमा बन्ने शवदाह गृह निर्माणका लागि मिलिनियम–सिद्धगढी जेभी काठमाडौंसँग यसै हप्ता सम्झौता हुने प्रमुख दाहालले बताउनु भयो । १० करोड रुपैयाँको लगानीमा दुई वर्ष्भित्र शवदाह गृह निर्माण हुने निर्माण भएपछि एक घण्टामा एउटा शव दहन गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस