डेंगी परीक्षणको नाममा लुट्ने काम बन्द गर: स्वास्थ्य मन्त्री पौडेल

सफल खबर संवाददाता

बुधबार, ३२ असार २०८२, १२ : ५९
डेंगी परीक्षणको नाममा लुट्ने काम बन्द गर: स्वास्थ्य मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताएका छन् । बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी परीक्षणको सकेसम्म निःशुल्क परीक्षण गर्न प्रयत्न गर्ने र नसके एउटा निश्चित शुल्क निर्धारण गर्ने बताए ।

‘जसरी हामीले आवश्यकता अनुसार यसलाई महसुस गरेको स्थिति छैन, हामीले यसको जटिलता, चुनौती, समस्या जति हो, त्यसरी नै समाजलाई महसुस गराउन जरुरी छ’ उनले भने, ‘मलाई लागेको छैन, म सुरक्षित छु भन्नेकुरा बेकार हो ।’

उनले थपे, ‘परिवारमा एक जना बिरामी भएपछि परिवारमा असहजता हुन्छ । समाजका सबै मान्छे प्रभावित भएको स्थिति छ । वर्षेनी बढिरहेको छ ।’उनले गरिब र दुःखी मानिसलाई परीक्षणको नाममा झनै लुट्ने काम बन्द गर्न पनि उनले चेतावनी दिए ।

‘यसको परीक्षणमा पनि शुल्क तय गरिनुपर्छ । मान्छे गरिब छ, दुःख परेको छ भने उसबाट झन धुत्न खोज्ने ? निजीलाई पनि यसको शुल्क निर्धारण गरिनुपर्छ,’ उनले भने, ‘निःशुल्क गराउनसक्छौँ भने निःशुल्क गराउन प्रयत्न गर्नुपर्छ । दूरदराजमा धेरै समस्या छ ।’

उनले प्रश्न गरे, ‘खान लगाउन समस्या छ अनि यसको जटिलता थपिएपछि कस्तो अवस्था हुन्छ ?’उनले डेंगीबारे सरकारले गर्नुपर्ने जति काम गर्न नसकिरहेको पनि स्वीकारे । डेंगीबाट समाज नै प्रभावित बनिरहेको बताए । उनले भने, ‘डेंगी समस्या भन्दा माथि गइसकेको छ ।’

मन्त्री पौडेलले सञ्चारमाध्यमसँग सहकार्य गरेर प्रचारप्रसारका लागि सरकार अघि बढ्ने तयारी गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस