बिरासतको राजनीति

आइतबार, १५ पुस २०७५, १३ : ०६
बिरासतको राजनीति

- किशोर नेपाल

पुसको जाडो कठोर हुन्छ काठमाडौंमा । मिनपचास सुरु भइसकेको छ । काठमाडौं सहरको मुख्य भागमा जाडो निकै चम्किन्छ । सहरमा कहिल्यै घाम नदेखिने चोक र गल्ली छन् । यस्तो मौसममा यहाँका बासिन्दा तातो वस्तु र तातो पदार्थको खोजीमा हुन्छन् भने अस्वाभाविक होइन । मानिसहरू तातो ‘क्वाँटी’को तातो झोलमा डुबेको रसिलो मःम रुचाउँछन् । दोलाइँ ओढेर तातो समाचारको खोजी गर्छन् । राजनीतिक दलहरूले तातो कुरा गरेको सुन्न चाहन्छन् । कांग्रेस पार्टीमा होस् वा कम्युनिस्ट पार्टीमा अथवा वैकल्पिक भनिने भर्खर–भर्खर जन्मिएका ससाना पार्टीमै भए पनि, कुरा अलि चर्कियोस्, भनाभनको अवस्था आओस्, रमाइलो होस् भन्ने चाहन्छन् । सहरको जटिल जीवनमा अलिकति कुरा गर्ने बहाना त चाहिन्छ नै । स्थानीय छापालाई पनि त खबर चाहिन्छ ।

कांग्रेसको महासमिति बैठक लम्बियो । शीर्ष नेताहरू झगडाबाट अघाइसकेका थिए । उनीहरू विधानलाई समावेशी बनाउने सूत्रको खोजीमा लागे । कांग्रेसको आन्तरिक राजनीतिक जीवन पहिलोपल्ट खुला र प्रतिस्पर्धी बन्यो । विधानले सभापतिलाई कस्यो । नेताहरू लस्करै उभिएर हात मिलाउँदै रमाए । त्यतिवेला कसैको मनमा यो सत्यको जागरण भएन होला स् सभापति गतिशील र चामत्कारिक प-यो भने ऊ विधान पल्टाएर बस्दैन । आफूअनुकूल विधान तयार गर्छ । नेपालका बिपी कोइराला, भारतका जवाहरलाल नेहरू र इन्दिरा गान्धी, बेलायतकी मार्गरेट थ्याचरलगायत धेरै लोकप्रिय नेताले विधान कहिल्यै मिचेनन्, विवेकले निर्णय लिए ।

महासमिति विधिवत् सकिए पनि त्यसको रन्को अझै सकिएको छैन कांग्रेसमा । बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले पच्चीसजना ‘लोकतान्त्रिक’ विचारका लेखकलाई रात्रिभोजमा निम्त्याए । भोजमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र विजय गच्छदार तथा महामन्त्री शशांक कोइराला सहभागी थिए । महामन्त्री कोइराला कार्यक्रमको उत्तरार्धतिर आएका थिए । अर्का महामन्त्री पूर्णबहादुर खड्का अस्वस्थताका कारण आउन नसकेको बताइयो । जमघटमा ‘लोकतान्त्रिक’ विचारका लेखकसँग नेताहरूले विचार–विमर्श गरेका थिए ।

वास्तवमा भन्ने हो भने सहभागीले लगातार बोलेका थिए । नेताहरूमा उपसभापति निधि र वरिष्ठ नेता पौडेलले महासमितिका उपलब्धिको व्याख्या गरेका थिए । वरिष्ठ नेता पौडेलले विचार विमर्शको क्रममा पार्टीभित्र एकता भएको बताए । उनले भने, ‘देउवासँग मेरो इमोसनल अट्याचमेन्ट छ । हो, हामीबीच एकता भएको छ । एकता भनेको एकरूपता होइन । कांग्रेस दुईवटा पार्टी जोडिएर आएको हो । अहिलेसम्म जोडिएरै गएको छ । जोडिएरै लड्छ चुनाव ।’ पौडेलको भनाइ यो पनि थियो– व्यक्तित्व भन्ने कुरा कसैले भनेर निर्माण हुने होइन । कम्युनिस्ट विचारको हिसाबले ओलीको व्यक्तित्व कमजोर छ । नेपालमा कम्युनिस्टले उपलब्धि गर्न सक्दैन । यद्यपि, उनीहरूको पकड राज्यका हरेक अंगमा छ । हामीले ‘फेस’ गर्नु छ । फेस गर्छौं ।

कांग्रेस नेताबारे जनता निरपेक्ष छैनन् । उनीहरूले यी नेतालाई काठमाडौं सहरका सडकमा राजाको एकतन्त्री शासनविरुद्ध मच्चिएर नारा लगाएको, पिटाइ खाएको, जेल गएको र दुःख पाएको देखेका छन् । ०४६ को राष्ट्रिय जन–आन्दोलनपछि यिनीहरू सत्तामा गएको र परिवर्तनका पक्षमा काम गर्न नसकेको पनि बुझेका छन् ।अब यिनीहरूले लोभ गर्नु हुन्न । बुढेसकाल सुखसँग बिताउनुपर्छ भन्ने टिप्पणी गर्छन् । बुढेसकालमा मानिसको कार्यक्षमताले धोका दिन्छ भन्ने सामान्य मान्यता बनेको छ । कुरा साँचो हो । अधिकांश नेताको उमेर सत्तरी नाघिसकेको छ । निर्णय लिने तहमा रहेका नेताको स्मरण शक्ति क्षीण हुँदै गएको छ । यस्तोमा उनीहरूले नेतृत्व तहमा आउने सम्भावना भएका तरुणलाई उकास्नुपर्छ ।

कांग्रेसमा कोइरालाहरूले गिरिजापछि सुशीललाई नेतृत्वका लागि तयार तुल्याएका थिए । सुशीलपछि अब शशांकलाई तयार पारेका छन् । यसमा शेरबहादुर देउवाले मात्र सभापति पदको निर्वाचन जितेर क्रमभंग गर्न सकेका हुन् । लोकतन्त्रमा लोकतान्त्रिक पार्टीलाई बिरासतबाट जोगाउनुपर्छ भन्ने सामान्य मान्यता हो । खासगरी, दक्षिण एसियाका दलहरूलाई बिरासतको राजनीति फापेको देखिन्न । भारतमा इन्दिरा गान्धीको कंग्रेस पार्टीले बिरासत धान्न सकेन । अहिले इन्दिराका नाति राहुल राजनीतिमा जम्न खोजेका छन् । जातले पारसी भए पनि उनी हिन्दू मन्दिर धाउन थालेका छन् । हालै उनको नेतृत्वमा केही राज्यको चुनाव पनि जितेको छ कंग्रेसले । तर, उनका लागि केन्द्रीय चुनाव सोचेजति सजिलो छैन । उनको टक्कर भारतीय जनता पार्टीसँग छ ।

नेपालमा पनि परिस्थिति भिन्न छैन । कोइराला परिवार देशको सबभन्दा सुसंस्कृत र धर्मनिरपेक्ष परिवार मानिन्छ । कोइरालामा आधुनिक जीवन जिउने कला छ । शशांकले हिन्दूधर्मको कुरा गरेको पटक्कै सुहाउँदैन । उनले यति बुझ्नु जाती हुन्छ, राजनीतिमा नेपालका जनताले उनलाई बिपीका छोरा भनेर मात्र चिन्छन् । उनको त्यही पहिचान बनेको छ । राजनीतिबाहिर उनको पहिचान नामुद नेत्र चिकित्सक हो । शिक्षण अस्पतालमा आँखाका डाक्टर शशांकको सौम्य व्यवहारलाई जनताले बिर्सिएका छैनन् । धर्मबारे बिपी कहिल्यै उल्झनमा पर्नुभएन । उहाँ त्यो बाटो हिँड्नै चाहनुहुन्नथ्यो । उहाँको निधनपछि कांग्रेसका नेताहरू जादू–टुना, जन्तर–मन्तर र तन्त्र–मन्त्रका टोड्कामा फसे । ज्योतिषसँग राजनीतिक भाग्य निरुपण गराउन थाले । कांग्रेसले अहिलेसम्म राजनीतिमा धर्म उछालेको छैन । धर्म उछालेर उसलाई फाइदा पनि छैन ।

संसद्मा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले विकासका लागि कम्युनिस्टको जस्तो ड्यामड्याम निर्णय गर्ने सरकार चाहिने संकेत गरेका छन् । गरिब देशमा विकासको नारा चाँडै बिक्छ र धेरै बिक्छ । ‘जनताको व्यापक समर्थन जुटाएर’ विकास गर्न कम्युनिस्ट सत्ताले षड्यन्त्र पनि गर्न सक्छ । राजनीतिमा यो सम्भावनालाई इन्कार गर्न सकिँदैन । कम्युनिस्ट सरकारले नियमित काम ग(यो भने कांग्रेसले नियमित चुनावका लागि चार वर्ष पर्खिनुपर्नेछ । कम्युनिस्ट नेतालाई सरकार धेरै नै लोकप्रिय छ भन्ने लाग्यो भने मध्यावधि चुनाव घोषणा हुन पनि सक्छ । कांग्रेसले बुझ्नुपर्ने मुख्य कुरा यही हो कि अहिले नेपाल कम्युनिस्ट पार्टीको सत्ता छ । एमाले र माओवादी रहेको समयमा हिजोका ‘सहयात्री’ अब छैनन् । हिजो बाँडिएका कम्युनिस्टसँग लड्न सजिलो थियो । एकीकृत पार्टीसँग लड्न गाह्रो पर्छ ।

    कांग्रेस महासमिति बैठक शान्तिपूर्ण र सहज ढंगले सकिएको छ, बैठकका सन्दर्भमा बजारमा जे हल्ला चलेका थिए र जस्तो कोलाहलमय वातावरण बनाउन खोजिएको थियो, त्यसलाई चिर्न सफल भएको छ कांग्रेस

आगामी महाधिवेशनले कांग्रेसलाई ‘रिइनजाइज’ गर्नुपर्नेछ । अहिले कांग्रेस जुन हालत र हविगतमा छ, त्यसले यसको प्रभाव बढाउँदैन । कम्युनिस्टसँग जुध्न चाहिने ताकत र आत्मबल जुटाउनुपर्छ कांग्रेसले । कांग्रेस नेतालाई अपमानित गर्ने शैलीको विकास गरेका छन् कामरेडहरूले । सञ्चारका संरचनात्मक पाटोमा कांग्रेस कतै देखिँदैन । प्रचार संयन्त्र कमजोर छन् । कांग्रेसका कार्यकर्तामा पार्टीको भन्दा आफ्नै चिन्ता बढी देखिन्छ । कार्यकर्तालाई व्यस्त राख्ने कार्यक्रम दिन सकेको छैन कांग्रेसले । यसका भ्रातृ संगठनको अवस्था खासै बलियो देखिँदैन । विद्यार्थी र युवा संगठन छिन्नभिन्न अवस्थामा छन् । सम्पन्न महासमितिले निर्देश गरेका कतिपय विषयको व्यावहारिकता स्थापित नहोला । पार्टी सुसञ्चालनको जिम्मा सभापतिको हो । पार्टी राम्रोसँग सञ्चालित हुँदा जस लिने पनि सभापतिले हो । बिग्रियो भने अपजसको भागी पनि उही हुन्छ ।

जे भए पनि, कांग्रेस महासमिति बैठक शान्तिपूर्ण र सहज ढंगले सकिएको छ । महासमिति बैठकका सन्दर्भमा बजारमा जे हल्ला चलेका थिए र जस्तो कोलाहलमय वातावरण बनाउन खोजिएको थियो त्यसलाई चिर्न सफल भएको छ कांग्रेस । अगाडिको बाटो संदिग्ध छ । कांग्रेसले ध्यान दिन सकेन भने विकास र लोकतन्त्रका नाममा चीरहरण हुनेछ । परिवर्तित आर्थिक समयमा कांग्रेसले आफ्नो समाजवादी नीति लागू गर्न सम्भव नहोला । तर, चुस्त आर्थिक नीतिका लागि आपूmसँग भएका दक्ष र कुशल जनशक्तिको प्रयोग नितान्त आवश्यक भएको छ । गरिबको राज्य धनीले चलाउन जानेको हुँदैन । गरिबको मन विशाल हुन्छ । यतातिर कांग्रेस नेतृत्वले ध्यान दिनु राम्रै होला । (नयाँ पत्रिकाबाट)

 

प्रतिक्रिया दिनुहोस