रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग

पार्टीको कार्यक्रममा विवाद, सरकारको लोगो प्रयोग किन ?

सफल खबर संवाददाता

सोमबार, २५ जेठ २०८३, १० : ०६
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अहिले सम्पन्न भईरहेका जिल्ला अधिवेशनहरुमा नेपाल सरकारको लोगो प्रयोग भएको पाइएको छ । पार्टीका कार्यक्रममा नेपाल सरकारको लोगो प्रयोग गरेर काम गर्न पाईदैन । तर संसदमा झण्डै दुई तिहाई मत सहित चुनाव जितेको रास्वपाका सांसदहरुले भने नेपाल सरकारको लोगो दुरुपयोग गरेर पार्टी अधिवेशन गरिरहेका छन् । 
अधिवेशनका ब्यानर, निमन्त्रणा तथा निर्वाचित पदाधिकारीलाई वितरण गरिएका प्रमाणपत्रहरूमा ‘नेपाल सरकार’ को आधिकारिक लोगो प्रयोग भएको देखिएपछि यसको वैधानिकता र उपयुक्ततामाथि प्रश्न उठ्न थालेको छ।

(हेर्नुहोस् प्रमाणपत्र)

सामान्यतः राजनीतिक दलका कार्यक्रम, महाधिवेशन, अधिवेशन, प्रशिक्षण, सदस्यता वितरण वा आन्तरिक संगठनात्मक गतिविधिमा दलको आफ्नै झण्डा, चुनाव चिह्न वा पार्टीको लोगो प्रयोग गरिन्छ। सरकारको आधिकारिक चिन्ह भने राज्यका निकाय, संवैधानिक संस्था र कानुनले तोकेका सरकारी प्रयोजनका लागि मात्र प्रयोग गरिने प्रचलन छ। तर रास्वपाले पार्टी अधिवेशनमा समेत नेपाल सरकारको लोगो प्रयोग गरेको भेटिएको छ । 

के हो नेपाल सरकारको लोगो ?
नेपालको राष्ट्रिय प्रतीक संविधानको अनुसूचीमा व्यवस्था गरिएको छ। यसमा नेपालको नक्सा, हिमाल, राष्ट्रिय झण्डा, लालीगुराँस, पुरुष–महिलाको हात मिलाएको आकृति र ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने संस्कृत वाक्यांश समावेश छन्। यो प्रतीक नेपालको सार्वभौम राज्यको पहिचान हो, कुनै राजनीतिक दल, सरकारमा रहेको पार्टी वा व्यक्तिको होइन। यसैले सरकार फेरिए पनि लोगो परिवर्तन हुँदैन, किनकि यो राज्यको स्थायी प्रतीक हो।

कहाँ प्रयोग गर्न पाइन्छ ?
प्रशासन तथा कानुनी अभ्यासअनुसार राष्ट्रिय प्रतीक मुख्यतः यस्ता प्रयोजनमा प्रयोग गरिन्छ–
- राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा सरकारी कार्यालयका आधिकारिक कागजातमा 
- मन्त्रालय, विभाग, आयोग तथा सरकारी निकायका लेटरहेडमा 
- नागरिकता, राहदानी, सरकारी प्रमाणपत्र र आधिकारिक परिचयपत्रमा 
- अदालत तथा संवैधानिक निकायका आधिकारिक दस्तावेजमा 
- नेपाल सरकारको स्वीकृत प्रकाशन तथा औपचारिक कार्यक्रममा यसको प्रयोग राज्यको प्रतिनिधित्व हुने कार्यमा सीमित मानिन्छ।

कानुन व्यवसायीहरूका अनुसार राजनीतिक दल राज्य र सरकारभन्दा अलग संस्था हुन्। कुनै दल सरकारमा भए पनि त्यो सरकारको पर्याय हुँदैन। नेपालमा राजनीतिक दलसम्बन्धी कानुन तथा निर्वाचन आयोगको अभ्यास हेर्दा दलहरूले आफ्ना कार्यक्रम, सदस्यता कार्ड, नियुक्तिपत्र, प्रमाणपत्र वा संगठनात्मक कागजातमा पार्टीकै पहिचान प्रयोग गर्ने गरेका छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत कुनै पनि दलले आफ्नो आन्तरिक गतिविधिमा नेपाल सरकारको राष्ट्रिय प्रतीक प्रयोग गर्ने अभ्यास देखिँदैन।

कानुनविद्हरूका अनुसार सरकारी लोगो प्रयोग गर्न स्पष्ट कानुनी अधिकार वा स्वीकृति आवश्यक पर्न सक्छ। अन्यथा यसले राजनीतिक दल र राज्यबीचको सीमारेखालाई धमिलो बनाउने जोखिम हुन्छ।
रास्वपाको जिल्ला अधिवेशनबाट निर्वाचित सभापति तथा पदाधिकारीहरूले प्राप्त गरेका प्रमाणपत्रमा माथिल्लो भागमा नेपाल सरकारको लोगो राखिएको देखिएको छ। ती प्रमाणपत्र पार्टीको आन्तरिक निर्वाचनबाट निर्वाचित पदाधिकारीलाई प्रदान गरिएका हुन्। यसबारे रास्वपाले हालसम्म औपचारिक स्पष्टीकरण दिएको छैन।

कतिपय कानुनविद्हरूको तर्क छ, यहाँ कानुनी विवादभन्दा पहिले नैतिक र संस्थागत प्रश्न महत्वपूर्ण छ। लोकतान्त्रिक व्यवस्थामा सरकार र राजनीतिक दल फरक संस्था हुन्। सरकार अस्थायी हुन्छ, राज्य स्थायी। त्यसैले राज्यको प्रतीकलाई दलगत प्रयोजनमा प्रयोग गर्नु उचित हुँदैन । तर रास्वपाका जिल्ला अधिवेशनमा नेपाल सरकारको लोगो समेत दुरुपयोग हुन थालेको छ ।