रास्वपाद्वारा ७७ वटै जिल्लामा अधिवेशनका लागि निर्वाचन समिति गठन

सफल खबर संवाददाता

शुक्रबार, २२ जेठ २०८३, १८ : ४५
रास्वपाद्वारा ७७ वटै जिल्लामा अधिवेशनका लागि निर्वाचन समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा हुने अधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार शनिबार र आइतबार सञ्चालन हुने जिल्ला अधिवेशनका लागि प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको हो।

केही स्थानमा भने प्रक्रिया स्थगित र पुनः निर्वाचनसम्बन्धी निर्देशन जारी गरिएको जनाइएको छ। बागमती प्रदेश र मधेस प्रदेशका केही स्थानीय तहमा उजुरी परेपछि ती स्थानका अधिवेशन तत्कालका लागि रोकिएको तथा कतिपय क्षेत्रमा पुनः निर्वाचन गर्न निर्देशन दिइएको आयोगले जनाएको छ।

रास्वपाको विद्यमान विधानअनुसार प्रत्येक जिल्लामा एक सभापति, एक उपसभापति, एक सचिव, एक सहसचिव, समावेशी पाँच सदस्य तथा प्रत्येक निर्वाचन क्षेत्रबाट एक–एक जना निर्वाचित सदस्य रहने व्यवस्था छ। सो संरचनाअनुसार जिल्ला समिति गठन हुने व्यवस्था रहेको छ।

त्यसैगरी सभापतिले निर्वाचित समितिमध्येबाट एक जना कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान रहेको छ। जिल्ला समितिको संख्या बिजोर हुने गरी सभापतिले थप दुई वा तीन जना सदस्य मनोनयन गर्न सक्ने व्यवस्था समेत विधानमा उल्लेख छ।

यसअघि जेठ २६ गतेदेखि हुने प्रदेश अधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिमबाहेकका सबै प्रदेशमा अधिवेशन समन्वय, सहजीकरण तथा प्रदेश निर्वाचन आयोग गठनको जिम्मेवारी केन्द्रीय सदस्यहरूलाई तोकेको थियो।