सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन

सफल खबर संवाददाता

शनिबार, १६ जेठ २०८३, १४ : ५८
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन

काठमाडौं । नेकपाका नेता वर्षमान पुनले प्रतिनिधि सभाको निर्वाचन १८२ सीट जितेको रास्वपाको आयु लामो नभएको टिप्पणी गरेका छन्। पार्टीनिकट अखिल नेपाल महिला संगठनको भेलालाई सम्बोधन गर्दै चाँडै पुराना स्थापित पार्टीले नै देश सम्हाल्नुपर्ने स्थिति आउने जिकिर गरे।

उनले भने, ‘नेता कहीँ देखिँदैन। अस्ति भोट हाल्दा पनि मान्छे कोही छैन, बुथमा मान्छे छैन, खसेको भोट गन्दा त हजारको हजार छ। मान्छे सबै भर्चुअल दुनियाँमा छ, अनलाइनमा छ, सामाजिक सञ्जालमा छ। त्यसरी भर्चुअल दुनियाँबाट छिटो उठेको आन्दोलन तीव्र रूपमा उठ्यो, तीव्र रूपले तल जान सक्छ। अस्ति अस्तिको ७९ को चुनावमा मधेशतिर सिके राउतहरू ठुलो पार्टी भएर आएका थिए, अहिले त कहीँ पनि छैन। एकदम छिटो माथि गयो, छिटो गयो।’

अहिले यति तीव्रतामा आएको आन्दोलन त्यस्तै तीव्रतामा जान सक्ने विश्लेषण गरे।

उनले थपे, ‘भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्न अवस्था आउँछ। स्थानीय चुनाव जाँदा नजाँदै पनि तल झर्न सक्छ। अस्ति भोट दिने मान्छेहरू सुकुम्वासीहरूले गल्ती भयो भन्ने थालिसकेका छन्। मधेशतिर पनि नाकामा कडाइ गरेपछि बालेन सरकारप्रति विश्वास गुन्दै छ।’

उनले एक महिना भित्र दुई जना मन्त्री हटाइएको प्रसङ्ग पनि झिके। राजनीतिक आन्दोलन, त्याग, बलिदान, एउटा जग खडा गरेर आएको शक्ति नभएकाले चाँडै कोल्याप्स हुने उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस