बाढीको जोखिम बढेपछि बीपी राजमार्ग बन्द, यात्रुलाई सास्ती

सफल खबर संवाददाता

विहीबार, ३१ बैशाख २०८३, ०८ : २७
बाढीको जोखिम बढेपछि बीपी राजमार्ग बन्द, यात्रुलाई सास्ती

File Photo

काठमाडौ । बाढीको जोखिम बढेपछि बीपी राजमार्गको काभ्रे खण्डमा सवारी साधन सञ्चालन पुन: बन्द गरिएको छ। 

सम्भावित बाढीको कारण काभ्रे–सिन्धुली सडक खण्डमा आज बिहानबाट सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा वर्षासँगै बाढीको जोखिम बढेको छ। 

सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। सडक बन्द हुँदा सवारी साधनसहित यात्रु बिच बाटोमै अलपत्र परेका छन्। यो सडक पटकपटक अवरुद्ध हुँदै आएको छ।

प्रहरीले वैशाख २१ गते देखि नै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि बीपी राजमार्गमा सवारी सञ्चालन बन्द गरेको थियो। अर्को आदेश नभएसम्मका लागि  यो सडकमा रातको सयममा गाडी चल्ने छैनन्।

वर्षासँगै बाढीको जोखिम बढेपछि आज बिहानदेखि यो सडकमा गाडी सञ्चालन पुन: बन्द गरिएको हो। 

अहिले बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी भएर चल्ने सम्पूर्ण सवारी साधनलाई सो सडकमा यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ। त्यसैगरी पहिरो खसेपछि खोटाङमा पनि मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। 

यसैगरी, हुम्लाको नाम्खा गाउँपालिका–२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेकाले हिल्सा–सिमकोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस