काठमाडौ । मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह आगामी असार ३ गते भएको छ ।
विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले आइतबार एक सूचना जारी गर्दै समारोह वीरेन्द्रनगरस्थित कुइनेपानीमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयको प्राङ्गणमा बिहान १० बजेदेखि सुरु हुने जानकारी दिएको हो ।
समारोहमा सहभागी हुन आवेदन दिई स्वीकृत भएका विद्यार्थीहरू बिहान ९ बजेभित्रै समारोह स्थलमा प्रवेश गरिसक्नुपर्नेछ । प्रवेशका लागि विद्यार्थीहरूले आफूले प्राप्त गरेको गाउन सेट वा दीक्षान्त शुल्क तिरेको रसिद अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरिएको सूचनमा उल्लेख छ ।
विश्वविद्यालयले समारोहका लागि आवश्यक गाउन, स्कार्फ र टोपी वितरणको कार्य तालिका समेत सार्वजनिक गरेको छ । जसअनुसार विद्यार्थीहरूले आगामी जेठ ३१ गतेदेखि असार २ गतेसम्म बिहान १० देखि ५ बजेभित्र परीक्षा व्यवस्थापन कार्यालय, कुइनेपानीबाट आफ्नो गाउन सेट बुझिसक्नुपर्नेछ । गाउन सेट लिनका लागि नागरिकताको प्रतिलिपि वा परिचय खुल्ने अन्य आधिकारिक प्रमाणपत्र अनिवार्य गरिएको छ । समारोहको दिन गाउन वितरण नगरिने र गाउन नलगाउने विद्यार्थीहरूलाई दीक्षित हुने समूहमा बस्न अनुमति नदिइने व्यहोरा सूचनामा उल्लेख छ ।
विद्यार्थीहरूले आफूले लगाएको औपचारिक पोसाकको बाहिरबाट विश्वविद्यालयले उपलब्ध गराएको गाउन सेट पहिरिनुपर्नेछ । दीक्षित विद्यार्थीहरूलाई सोही दिन समारोह स्थलमा तोकिएको काउन्टरबाट प्रमाणपत्र वितरण गरिनेछ ।
कार्यक्रममा उपस्थित हुन नसक्ने विद्यार्थीहरूले भने समारोह पश्चात् कार्यालय खुलेको समयमा परीक्षा व्यवस्थापन कार्यालयबाट आफ्नो प्रमाणपत्र लिन सक्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ जेठ २०८३, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपश्चिम विश्वविद्यालयको सिटेन : एक अर्ब ३६ करोड बजेट स्वीकृत
मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबिच सम्झौता