एमालेमा दुई उपाध्यक्षको ‘जुहारी’, बढ्यो तिक्तता

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०८२, ०७ : ५०
एमालेमा दुई उपाध्यक्षको ‘जुहारी’, बढ्यो तिक्तता

काठमाडौं । नेकपा एमालेका दुई उपाध्यक्ष रामबहादुर थापा (हाल कार्यवबाहक अध्यक्ष) र विष्णु पौडेलका बीचमा तिक्तता बढेको छ । जसकाकारण अहिले दुई उपाध्यक्षका बीचमा सार्वजनिक रुपमै जुहारीसम्म चल्न थालेको छ । 

गत पार्टीको महाधिवेशनमा यी दुवै नेता केपी ओली टिमबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । 
तर गत फागुन २१ को चुनावमा पार्टीले नराम्रो धक्का ब्यहोरेपछि विष्णु पौडेलले धार बदल्ने कोसिस गरेका छन भने थापा ओली कित्तामै उभिएका छन् । ओलीको बोलीको अहिले बलियो रक्षाकवज पनि थापा नै बनिरहेका छन् । 

उनी एमालेको समानुपातिकतर्फबाट सांसद र संसदीय दलको नेता तथा ओली पक्राउ परेपछि पार्टीको कार्यावाहक अध्यक्षका रुपमा पनि छन् । खासमा ओलीको पक्राउ पछि थापा दल नेता बनेपछि पार्टीको कार्याबाहक अध्यक्षका रुपमा आफु अगाडी बढ्न पौडेलले खोजेका थिए । एमालेभित्र थापा पूर्व माओवादी धारका नेता पनि रहेकोले उनलाई पार्टी नेतृत्व र संसदीय मोर्चा सबै जिम्मा लगाउन नहुनेमा पौडेल देखिएका थिए । 

जसकाकारण पनि यी दुई नेताका बीचमा अन्तरसंघर्ष झन् तीव्र बनेको छ। पोखरामा आयोजित कार्यकर्ता भेलामा बोल्दै कार्यवाहक अध्यक्षसमेत रहेका बादलले आफूले संसद्मा व्यक्त गरेको धारणा पार्टीकै लाइनअनुसार भएको दोहोर्‍याउँदै त्यसप्रति आपत्ति जनाउनेहरूलाई ‘दक्षिणपन्थी’ प्रवृत्तिका रूपमा व्याख्या गरे। उनले आफ्नो अभिव्यक्तिले पार्टीभित्र लुकेका प्रवृत्तिहरू बाहिर आएको दाबी गरे।

संसद्मा दल नेताका रूपमा बोल्दै बादलले हालको राजनीतिक परिवर्तनमा नेपाली सेना, कर्मचारीतन्त्र र केही अन्तर्राष्ट्रिय संस्थाको भूमिकासमेत जोड्दै टिप्पणी गरेका थिए। उक्त अभिव्यक्तिप्रति पार्टीभित्रैबाट आपत्ति उठ्यो।
उपाध्यक्ष पौडेलले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै त्यसलाई पार्टीको स्थापित नीति र मान्यताविपरीत भएको बताएका थिए। उनले विषयलाई गम्भीर रूपमा छलफल गर्न सचिवालय बैठक बोलाउनुपर्ने बताएका थिए।

विवाद चर्किएपछि बसेको पार्टी सचिवालय बैठकले बादलको अभिव्यक्तिबाट उत्पन्न ‘अस्पष्टता’ सच्याउँदै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको थियो । बैठकले नेपाली सेना, निजामती प्रशासन र अन्तर्राष्ट्रिय समुदायप्रति पार्टीको सम्बन्ध पूर्ववत् मित्रवत् रहेको स्पष्ट पारेको थियो।

तर पोखराको कार्यक्रममा बादलले सचिवालयपछि पनि आफ्नो अडान परिवर्तन गरेनन्। उनले संसद्मा दिएको अभिव्यक्ति ‘देश र जनताका दुश्मनविरुद्धको प्रहार’ भएको दाबी गर्दै त्यसले पार्टीभित्र र बाहिरका ‘दक्षिणपन्थी’हरूलाई उजागर गरेको बताए।

उनले प्रत्यक्ष नाम नलिए पनि पौडेलको प्रतिक्रियातर्फ लक्षित गर्दै “वक्तव्यबाट उत्तेजित हुनेहरू भित्रै लुकेका थिए, अहिले बाहिर देखिएको बताएका थिए । पार्टीभित्रका शीर्ष नेताबीचको आरोप–प्रत्यारोप र वैचारिक टकरावले एमालेको आन्तरिक राजनीति थप जटिल बन्दै जाने देखिएको छ ।