पोखराबाट अनलाइन सट्टेबाजी सञ्चालन गर्ने गिरोहका ८ सदस्य पक्राउ, २० करोडभन्दा बढीको कारोबार

सफल खबर संवाददाता

आइतबार, २८ असार २०८३, १६ : ५८
पोखराबाट अनलाइन सट्टेबाजी सञ्चालन गर्ने गिरोहका ८ सदस्य पक्राउ, २० करोडभन्दा बढीको कारोबार

कास्की । पोखरा महानगरपालिकाको सेदीमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी (बेटिङ) गराउँदै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले छापा मारी आठ जनालाई नियन्त्रणमा लिएको हो । स्थानीय जीवन श्रेष्ठको घरमा सातवटा कोठा भाडामा लिएर ‘सफ्टवेयर’ सम्बन्धी काम गर्ने बहानामा उनीहरूले अनलाइन सट्टेबाजी सञ्चालन गरिरहेका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले उक्त स्थानबाट उनीहरूलाई सट्टेबाजी गराइरहेकै अवस्थामा पक्राउ गरेको हो । 

प्रहरीले बरामद गरेका तीनवटा कम्प्युटरको प्रारम्भिक अध्ययन गर्दा ठूलो परिमाणमा आर्थिक कारोबार भएको भेटिएको छ । विवरणअनुसार तीनवटा डिजिटल सिटहरूमा क्रमशः १ करोड ११ लाख ९९ हजार, ९ करोड २ लाख २२ हजार र १० करोड ५५ लाख ६८ हजार रुपैयाँ गरी कुल २० करोड ६९ लाख ८९ हजार ८३४ रुपैयाँ क्रेडिट भएको देखिएको छ ।  

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानकाअनुसार यो गिरोहले कारोबारका लागि एक्सिस बैंक, आइडिएफसी बैंक, क्यानरा बैंक जस्ता भारतीय बैंकहरूका साथै २४ पे, पे बजार, गुगल पे र नोक्सोन पे जस्ता डिजिटल वालेटहरूको प्रयोग गर्ने गरेको थियो । 

सट्टेबाजी सञ्चालन गर्ने मुख्य व्यक्तिका रूपमा भारतको भुपा मानपुरका ३४ वर्षीय सत्यम सिंहलाई प्रहरीले पहिचान गरेको छ । उनीसँगै भारतका २४ वर्षीय हर्ष उसरेटे, २३ वर्षीय विशाल चाउ, २२ वर्षीय जमान सिंह तमार, २७ वर्षीय विक्रान सिंह, २६ वर्षीय अजितेशकुमार मिश्र र २४ वर्षीय सत्यम राजपूत पक्राउ परेका छन् । यस्तै, नेपालका तर्फबाट दार्चुलाका ३१ वर्षीय दिनेश सिंह बोहोरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

अनुसन्धानका क्रममा यो गिरोहले टेलिग्राम र ह्वाट्सएपमार्फत ‘गुरुभाइ २४७ डट प्रो’ नामक लिङ्क प्रयोग गरी मानिसहरूलाई आवद्ध गराउने गरेको खुलेको छ । उनीहरूले प्रयोगकर्तालाई उक्त लिङ्कमा रकम जम्मा गर्न लगाई क्रिकेट, फुटबल र क्यासिनो जस्ता खेलमा सट्टेबाजी गराउने गरेका थिए। जितेको रकम अनलाइन माध्यमबाटै भुक्तानी गर्ने व्यवस्था मिलाइएको थियो । प्रहरीले घटनास्थलबाट ठूलो परिमाणमा विद्युतीय उपकरणहरू समेत बरामद गरेको छ । जसमा ७ थान ल्यापटप, ६ थान मनिटर, ३१ थान मोबाइल फोन, ३४ थान भारतीय सिमकार्ड, ९ थान किबोर्ड, २ थान राउटर र ब्याट्री तथा युपिएस लगायतका सामग्री रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नविन कार्कीले घटनाको प्रकृति हेर्दा यसमा ठूलो अन्तरदेशीय गिरोहको संलग्नता देखिएको र यसबारे थप विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभयो । गिरोहले भारतीय नागरिकका बैंक खाताहरू भाडामा लिएर आर्थिक कारोबार गर्ने गरेको समेत अनुसन्धानबाट खुलेको उहाँले बताउनु भयो । 

प्रहरीकाअनुसार यो गिरोहको मुख्य सञ्चालन केन्द्र भारतमा रहेको र पोखरामा सञ्चालित यो एकाइ २७ औँ शाखाको रूपमा रहेको पाइएको छ । गिरोहले दैनिक ३ देखि ४ लाख भारतीय रुपैयाँसम्म आम्दानी गर्ने गरेको र त्यहाँ कार्यरत कामदारहरूले मासिक २५ हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउने गरेको खुलेको छ

प्रतिक्रिया दिनुहोस