निजामतीभित्रका कुनै पनि समूह र अभियानसँग हाम्रो सम्बन्ध छैन : रास्वपा

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०८२, १५ : ०९
निजामतीभित्रका कुनै पनि समूह र अभियानसँग हाम्रो सम्बन्ध छैन : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती प्रशासनभित्र गठन भएका कुनै पनि प्रकारका समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट गरेको छ । पार्टीले सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउने आफ्नो मूल नीतिप्रति पुनः प्रतिबद्धता जनाएको छ ।

पछिल्लो समय निजामती सेवाभित्र विभिन्न नाममा समूह वा अभियान सञ्चालन गर्दै पार्टी र नेतृत्वको नाम जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले त्यस्ता गतिविधिसँग आफ्नो कुनै आबद्धता, समर्थन वा संलग्नता नरहेको स्पष्ट पारेको हो ।

विज्ञप्तिमा “निजामती प्रशासनभित्र गठन भएका कुनै पनि प्रकारका समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग हाम्रो कुनै सम्बन्ध छैन” भनिएको छ । पार्टीले आफ्नो नाम प्रयोग गरी स्वार्थ सिद्धि गर्न खोजिएको भए त्यस्ता भ्रममा नपर्न कर्मचारी तथा सरोकारवालालाई आग्रह गरेको छ ।

रास्वपाले कर्मचारीको मूल धर्म ‘जनसेवा’ र पहिचान ‘व्यावसायिकता’ हुनुपर्नेमा जोड दिँदै प्रशासनिक संयन्त्रलाई कुनै पनि राजनीतिक दल वा शक्ति केन्द्रको प्रभावमा पार्ने कार्य आफ्नो नीति र आदर्श विपरीत हुने स्पष्ट पारेको छ ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा निजामती सेवालाई ‘मेरिटोक्रेसी’ अर्थात् योग्यता प्रणालीका आधारमा सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै कर्मचारीहरू राज्य र जनताप्रति मात्र उत्तरदायी हुनुपर्ने धारणा राखिएको छ । साथै, दलीय प्रभाव, त्रास वा दबाबमा आधारित कार्य संस्कृतिको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ ।