काठमाडौं । फागुन २१ को निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलको हैसियतमा खुम्चिएको नेपाली कांग्रेसमा दुईटा घटना सँगै आएका छन् । पहिलो पार्टी केन्द्रीय कार्यसमितिको बैठक चैत ६ (भोलि शुक्रबार) का लागि बोलाइएको छ । दोस्रो सभापति गगन थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका छन् ।
सभापति थापाकै निर्देशनमा भोलिका लागि बैठक बोलाइएको छ । अर्काेतिर उनले राजीनामा उपसभापतिलाई बुझाएपनि उक्त पत्र यो समाचार तयार पार्दासम्म केन्द्रीय कार्यालयमा दर्ता हुन पुगेको छैन । यसको अर्थ राजीनामा पत्र अझै पनि उपसभापति विश्वप्रकाश शर्माको खल्तीमै छ ।
यस अर्थमा अब कांग्रेसमा के होला ? आम मानिसमा जिज्ञासा छ । कांग्रेस सभापतिले पदबाटै राजीनामा दिईसकेपछि अब उनले भोलि बोलाएको केन्द्रीय कार्यासमितिको बैठकको अध्यक्षता गर्न बैठकमा सहभागी हुने छैनन । उनको अनुपस्थितीमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता अब उपसभापति विश्वप्रकाश शर्माले गर्नेछन् ।
कांग्रेसले सभापति थापाको राजीनामा स्वीकृत गरेमा विश्वप्रकाश शर्माले कार्यबाहक सभापतिको जिम्मेवारी लिनुपर्ने र सभापति चयनका लागि विशेष केन्द्रीय महाधिवेशन बोलाई निर्णय लिनुपर्ने हुन्छ ।
कांग्रेसका एक पदाधिकारीले दिएको जानकारी अनुसार, उपसभापति विश्वप्रकाश शर्माले सभापतिले दिएको राजीनामा पत्रका बारेमा बैठकमा सुरुमा जानकारी गराउनेछन् ।
उक्त जानकारी गराएपछि निर्वाचनमा कांग्रेसले भोगेको पराजयका बारेमा कांग्रेसले तयार पारिरहेको पारम्भिक प्रतिवेदन पेश हुनेछ । कांग्रेसले यो भन्दा अगाडी नै पार्टीका तल्ला कमिटिलाई निर्वाचन समीक्षा रिपोर्ट केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन गरेको थियो । सोही आधारमा तल्लो तहबाट आएका प्रतिवेदनलाई समेत आधार बनाएर अहिले केन्द्रीय कार्यालयले बनाएको पारम्भिक रिपोर्ट बैठकमा पेश हुनेछ ।
सभापति थापा बैठकमा नआएपछि कांग्रेसको पूरा बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्नेछन् । यो बैठक चुनाव समीक्षामा केन्द्रीत गर्न बोलाइएपनि अब सभापति थापाको राजीनामा के गर्ने भन्न्े विषयमा पनि केन्द्रीत हुने भएको छ ।
गत पुस २७ देखि ३० सम्म भृकुटीमण्डपमा भएको कांग्रेसको विशेष महाधिवेशनले थापाको नेतृत्वका केन्द्रीय कार्यासमिति चयन गरेको थियो । त्यसपछि निर्वाचन आयोगले थापा नेतृत्वको कांग्रेसलाई नै वैधानिकता दिएपछि शेरवहादुर देउवा पक्षधर नेताहरु आधिकारिकता विवादको मुद्दा लिएर सर्वाेच्च् अदालत पुगेका थिए । त्यहाँ अझै पनि उक्त मुद्दा विचाराधिन अवस्थामा छ ।
थापाको नेतृतवमा चुनावमा गएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिटमा चित्त बुझाउने अवस्थामा खुम्चियो । सभापति थापा स्वयम सर्लाही ४ बाट पराजित भए । त्यसको नैतिक जिम्मेवारी लिँदै थापाले राजीनामा दिएका हुन् ।
उनको यो राजीनामा पहिले अब कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुनेछ । उक्त कार्यसमिति बैठकले थापाको राजीनामा स्वीकृत गरेमा मात्र बैठकले थप नयाँ कार्यवाहक सभापति तोकेर अगाडी जानेछ । तर विशेष महाधिवेशनबाट बनेको कार्यसमिति भएको कारण गगनको राजीनामा उक्त बैठकबाट स्वीकृत हुने सम्भाबना न्यून रहेको एक पदाधिकारीले बताए ।
‘बैठकमा सभापतिले दिनुभएको राजीनामाको बारेमा छलफल हुन्छ । तर उहाँ (सभापति)को राजीनामा बैठकले स्वीकृत गर्छ भन्ने मलाई लाग्दैन,’ कांग्रेसका ती पदाधिकारीले भने, ‘निर्वाचन समीक्षा गर्ने, सधार गर्नुपर्ने कुरामा सुधार गरेर जाने हो । अहिले सभापतिको राजीनामा कांग्रेसले खोजेको होइन । उहाँको राजीनामा स्वीकृत हुन्छ भन्ने लाग्दैन ।’
सभापति थापाको राजीनामा स्वीकृत हुने नहुने अब केन्द्रीय समितिको अधिकार क्षेत्रको विषय बनेको छ । उनको राजीनामा स्वीकृत नभएमा कांग्रेसमा फेरि नेतृत्व गगनले नै गर्नेछन् । तर कथंकदाचित सभापति थापाको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले स्वीकृत गरेमा भने उपसभापति विश्वप्रकाश शर्मालाई नै बैठकले कार्यबाहक सभापतिको जिम्मेवारी दिनेछ ।
त्यसपछि शर्माले कार्यवाहक सभापतिको रुपमा कांग्रेसलाई नेतृत्व गरेर हिँड्नुपर्ने हुन्छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापतिको राजीनामाको विषय केन्द्रीय समितिले टुंग्गो लगाउने बताए । ूपार्टी विधान अनुसार सभापतिले राजीनामा गर्नुपर्ने अवस्था आएमा उपसभापतिलाई बुझाउने र त्यसलाई केन्द्रीय कार्यसमितिले स्वीकृतरअस्वीकृत गर्ने भन्ने छ,ू प्रवक्ता चालिसेले भने ।
कांग्रेसको विधानमा सभापतिले दिएको राजीनामा केन्द्रीय कार्यसमितिले स्वीकृत गरेमा उप–सभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्ने उल्लेख छ । त्यसपछि कार्यबाहक सभापतिले केन्द्रीय समितिको बैठक राखेर छ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउने निर्णय लिनुपर्नेछ । त्यस्तो विशेष महाधिवेशनबाट सभापतिको निर्वाचन गराउनुपर्ने कांग्रेसको विधानको ब्यवस्था छ ।
यस आधारमा कांग्रेसले सभापति थापाको राजीनामा स्वीकृत गरेमा विश्वप्रकाश शर्माले कार्यबाहक सभापतिको जिम्मेवारी लिनुपर्ने र सभापति चयनका लागि विशेष केन्द्रीय महाधिवेशन बोलाई निर्णय लिनुपर्ने हुन्छ ।
कांग्रेसमा गगनलाई सभापति चुनेको विशेष महाधिवेशनकै बारेमा विवाद छ । नियमित महाधिवेशन गराउनुपर्ने समय गुज्रेको छ । सोही आधारमा गगनको राजीनामा स्वीकृत भएमा ६ महिनाभित्र विशेष महाधिवेशनमा भन्दा पनि कांग्रेस नियमित महाधिवेशनमै जानसक्ने पनि देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ चैत्र २०८२, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल
राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्रीले संसद् छाडेको विषयमा काँग्रेसद्वारा जवाफ माग
भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष संरक्षणको प्रावधानप्रति काँग्रेसको आपत्ति