कांग्रेस ८४, एमाले ४० र नेकपा १७ स्थानमा प्रतिस्पर्धी

सफल खबर संवाददाता

विहीबार, २८ फागुन २०८२, ०९ : १३
कांग्रेस ८४, एमाले ४० र नेकपा १७ स्थानमा प्रतिस्पर्धी

काठमाडौं । फागुन २१ को निर्वाचनले राजनीतिक दलहरुको समिकरण बदलेको छ । हिजो ठूला भनिएका दल खुम्चिएका छन भने चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उछाल ल्याएर झण्डै दुई तिहाई सिट सहित बलियो प्रमुख पार्टी बनेको छ ।

रास्वपाले प्रत्यक्षमा १२५ निर्वाचन क्षेत्रमा जित निकालिरहँदा कांग्रेस एमाले र नेकपा निक्कै सानो जितमा खुम्चिएका छन् । कांग्रेस १८, एमाले ९ र नेकपा ८ निर्वाचन क्षेत्रमा मात्र प्रत्यक्षमा जित्न सफल भए । रास्वपाले जितेका कतिपय क्षेत्रमा कांग्रेस, एमाले र नेकपाका उम्मेदवार सबैको मत जोड्दा पनि रास्वपाका उम्मेदवारलाई उछिन्ने मत नदेखिएको अवस्था पनि छ ।

धेरै क्षेत्रमा कांग्रेस दोस्रो
निकटतम प्रतिस्पर्धी बनेका दलहरूको तथ्यांक हेर्दा नेपाली कांग्रेस ८४ निर्वाचन क्षेत्रमा दोस्रो स्थानमा देखिएको छ। यसले कांग्रेसले धेरै क्षेत्रमा कडा प्रतिस्पर्धा गरे पनि अन्तिम परिणाममा जित निकाल्न नसकेको देखाउँछ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो तथ्यांकले कांग्रेसको जनाधार अझै देशभर प्रभाबशाली नै रहेको संकेत गर्छ। धेरै क्षेत्रमा अन्तिम मतान्तरमा बिजयी उम्मेदवारलाई पछ्याउन नसक्दा कांग्रेसले जित गुमाएको देखिन्छ।

कांग्रेस दोस्रो भएको ८४ निर्वाचन क्षेत्रमध्ये ७४ ओटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारसँग पराजित हुन पुगेको छ । ७ ओटा निर्वाचन क्षेत्रमा एमालेसँग हारेको छ । बाँकी ३ ओटा निर्वाचन क्षेत्रमा भने नेकपासँग कांग्रेस पराजित भएको छ ।

एमाले ४० क्षेत्रमा प्रतिस्पर्धी
नेकपा एमाले ४० निर्वाचन क्षेत्रमा निकटतम प्रतिस्पर्धी बनेको छ। जितको संख्या कम भए पनि एमाले अझै धेरै क्षेत्रमा मुख्य प्रतिस्पर्धी शक्तिका रूपमा देखिएको छ। संगठनात्मक संरचना र स्थानीय नेतृत्वका कारण एमालेले धेरै क्षेत्रमा अन्तिमसम्म प्रतिस्पर्धा कायम राखेको विश्लेषण गरिएको छ। गत जेनजी आन्दोलनका बेला अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेको र त्यस आन्दोलनमा मारिएकाहरुप्रति अझै पनि अनुदार बनेको कारण पनि यसपटक मतदाताले एमालेलाई किनाराकृत गराउन खोजेको देखिन्छ । 

एमाले दोस्रो भएको ४० निर्वाचन क्षेत्रमध्ये ८ ओटा क्षेत्रमा कांग्रेससँग हारेको छ । ३ ओटामा माओवादीसँग हारेको छ भने २ ओटामा श्रम सस्कृति पार्टीसँग, १ ओटा निर्वाचन क्षेत्रमा स्वतन्त्र उठेका महाबीर पुनसँग एमाले पराजित भएको छ । बाँकी २६ निर्वाचन क्षेत्रमा एमालेले रास्वपासँग पराजित भएको छ । 

रास्वपा जितमा अगाडि, तर निकटतम प्रतिस्पर्धी सीमित
प्रत्यक्ष तर्फ नै प्रतिनिधिसभामा बहुमत ल्याउन १३ सिट मात्र कम ल्याएको रास्वपाले समानुपातिक तर्फको प्राप्त मत र पाउने सिटलाई हेर्ने हो भने झण्डै दुई तिहाई जित निकालेको छ । रास्वपा ६ निर्वाचन क्षेत्रमा मात्रै निकटतम प्रतिस्पर्धी बनेको देखिन्छ।

यसले रास्वपाको जित धेरै क्षेत्रमा प्रत्यक्ष प्रतिस्पर्धाभन्दा पनि नयाँ राजनीतिक लहर र मत विभाजनको परिणाम भएको संकेत गर्ने विश्लेषण पनि भइरहेको छ। रास्वपा २ ओटा निर्वाचन क्षेत्रमा एमालेसँग, २ क्षेत्रमा कांग्रेससँग तथा एउटा एउटा निर्वाचन क्षेत्रमा नेकपा र हर्क सम्पाङको पार्टी श्रम सस्कृति पार्टीसँग पराजित भएको छ । 

नेकपा १७ क्षेत्रमा दोस्रो
प्रत्यक्षतर्फ ७ सिट मात्र जित्न सफल भएको नेकपा १७ ओटा निर्वाचन क्षेत्रमा भने दोस्रो भएको छ । नेकपा कांग्रेससँग ६ स्थानमा, १० क्षेत्रमा रास्वपा र १ स्थानमा राप्रपासँग पराजित हुन पुगेको छ । धनुषामा रास्वपा उम्मेदवारको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि त्यहाँ भने नेकपाका उम्मेदवारले जित निकालेको छ । तर, उम्मेदवारी खारेज भएका रास्वपा उम्मेदवार सर्वोच्च पुगेका कारण त्यस क्षेत्रमा निर्वाचन आयोगले नेकपा उम्मेदवारलाई जित घोषणा गर्न सकेको छैन । 

उम्मेदवारी खारेज भएका रास्वपा उम्मेदवारले जित निकालेका नेकपा उम्मेदवारको भन्दा झण्डै दोब्बर मत प्राप्त गरेको अवस्था छ । अब यो २९ फागुनमा सर्वोच्चले दिने आदेशमा परिणाम भर पर्नुपर्ने अवस्था छ । 

नागरिक उन्मुक्ति पार्टी १, राप्रपा १, स्वाभिमान पार्टी १, जनता समाजवादी पार्टी ६, स्वतन्त्र १, नेपाल मजदुर किसान पार्टी १, नेपाल संघीय समाजवादी पार्टी १, उज्यालो नेपाल पार्टी १ स्थानमा प्रतिस्पर्धीका रुपमा देखिएर पराजित भएको छ । यी सवै पार्टी रास्वपाका उम्मेदवारबाट विभिन्न निर्वाचन क्षेत्रमा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस