विर्तामोड । आगामी फागुन २१ को चुनावमा झापा क्षेत्र नम्बर ५ चुनावको इपिसेन्टर बनिरहेको छ ।
एमाले अध्यक्ष केपी ओलीले एक पटक बाहेक २०४८ सालयता पटक– पटक चुनाव जित्दै आएको निर्वाचन क्षेत्रमा रास्वपाले काठमाडौं महानपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई राजीनामा गराएर चुनाव लडाएको छ ।
रास्वपाले बालेनलाई चुनावपछिको प्रधानमन्त्री प्रस्ताव गराएर झापामा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको बलियो पकड क्षेत्रमा चुनाव लडाएपछि त्यहाँको चुनावी माहोल निक्कै रोचक बन्न थालेको छ ।
युवा नेताहरु बालेनको पक्षमा खुलेका छन् । ओलीका लागि यो सबैभन्दा ठूलो धक्का हो । गृहनगर दमकमा एमालेका राष्ट्रिय युवा सङ्घ दमक नगर कमिटीका अध्यक्ष,उपाध्यक्ष र सचिव सबैले पार्टी छाडेर बालेनलाई साथ दिन पुगेका हुन् ।
बुधबार दिनभर मात्रै झापामा बालेनले झण्डै तीन हजार मतदातासँग आफ्नै निवासमा दिनभर बसेर भेटघाट गरेको सुरक्षास्रोतले बताएको छ । बालेन झापा पुगेसँगै कांग्रेस एमालेलाई भने झट्का लाग्न थालेको छ ।
झापा ५ मा दमक नगरपालिका र कमल गाँउपालिकाको मत निर्णायक मानिन्छ । दमककै कांग्रेस नगर सभापति प्रकाश प्रसाईं पार्टी छाडेर बालेनको अभियानमा जोडिएका छन् । त्यस्तै कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी पनि रास्वपा प्रवेश गरेका छन् । बालेनले मनोनयन दर्ता स्थलमै दमक कांग्रेस सभापति प्रसाईंलाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
लामो समयदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहेका प्रसाईंको रास्वपा प्रवेशलाई दमकको स्थानीय राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ। प्रसाईं हाल दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराईका श्रीमान् हुन्। उनको पार्टी परिवर्तनसँगै झापा–५ को चुनावी माहोल थप रोचक बनेको छ। कमल गाँउपालिका सविच बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै काँग्रेस कमल गाउँपालिकाको सचिव र साधारण सदस्यसमेतबाट राजीनामा गरेको सार्वजनिक गरेका छन् ।
‘नेपाली कांग्रेस कमल गाउँ कार्य समिति सचिव पद र नेपाली कांग्रेसको साधारण सदस्य समेतबाट राजीनामा दिएको जानकारी सम्बन्धित पार्टी सभापतिलाई अवगत गराउँदैछु,’ बुढाथोकीले भनेका छन् ।
कांग्रेसको निर्णायक जिम्मेवारीमा बसेका नेताहरु स्वंयमले पार्टी छोडेर बालेनलाई सघाउने भन्दै पार्टीको साधारण सदस्य समेत छोडेपछि त्यहाँ कांग्रेसलाई निर्णायक धक्का लागेको छ ।
त्यसअतिरिक्त एमालेकै दमक नगरका अधिकाशं युवा नेताहरु बालेनको पक्षमा खुलेका छन् । ओलीका लागि यो सबैभन्दा ठूलो धक्का हो । गृहनगर दमकमा एमालेका राष्ट्रिय युवा सङ्घ दमक नगर कमिटीका अध्यक्ष,उपाध्यक्ष र सचिव सबैले पार्टी छाडेर बालेनलाई साथ दिन पुगेका हुन् ।
नगर कमिटीका अध्यक्ष छवि खतिवडा, सचिव कमलप्रसाद गैरे र उपाध्यक्ष विजय तामाङ बालेनको अभियानमा जोडिएका छन् । यसअघि एमाले नगर अधिवेशनमा अध्यक्षका आकांक्षीसहितका नेताहरु पनि रास्वपा प्रवेश गरेका थिए ।
यसले चुनावमा नगरमा युवा परिचालन गर्नुपर्ने अवस्थामा धमाधम युवा नेताहरुले पार्टी छोड्ने र बालेनलाई सहयोग गर्न थालेपछि ओली झस्किएका छन् । बालेनले पनि पहिलो प्राथमिकताका साथ कांग्रेस र एमालेका युवा नेताहरूलाई फकाउने र आफनो पक्षमा पार्ने रणनीति अवलम्बन गर्न थालेका छन् ।
उनी आज ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गर्न जाने तयारीमा छन् । विगत ६ महिनादेखि बालेनले त्यहाँ आन्तरिक सर्वेक्षण गरेर चुनावी प्रतिस्पर्धामा गएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ माघ २०८२, ०७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा-५ मा बालेनको फराकिलो जित, ओली ४९ हजार ६१४ मतान्तरले पराजित
झापा ५ अपडेट : बालेनको मत ३९ हजार नाघ्यो, ओलीको कति?
बालेनले बनाए दोब्बरभन्दा बढीको अग्रता
सुरक्षाका कारण झापामा अवतरण नगरी काठमाडौँ फर्कियो बालेन सवार हेलिकप्टर
बालेनले झापामा सार्वजनिक गरे ‘वाचापत्र’: राजनीतिलाई पेसा होइन, सेवा बनाउँछु
बालेनलाई गगनको कटाक्ष : विकासको गति कसैलाई रुखमा झुन्ड्याएर बढदैन्