कास्की । तनहुँको शुक्लागण्डकी नगरपालिका–५, कसेरीघाटस्थित निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र परिसरमा शनिबार बिहान तीन जनाको शव फेला परेको घटना अझै रहस्यमय बनेको छ ।
शवको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरिएको देखिए पनि घटनामा संलग्न र कारणबारे प्रहरी कुनै निष्कर्षमा पुग्न सकेको छैन । प्रहरीले प्रविधि र तालिमप्राप्त कुकुरसहित अनुसन्धान अघि बढाएको छ ।
शनिबार बिहान फेला परेका तीन शवमध्ये एक जनाको सनाखत भएको छ । मृतकमध्ये शुक्लागण्डकी–११ पाल्पालीछापका अन्दाजी ४० वर्षीय नारायण विकको पहिचान खुलेको हो । उनी सोही प्रशोधन केन्द्रमा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका थिए । घटनास्थलमा फेला परेका अन्य एक पुरुष र एक महिलाको भने अहिलेसम्म पहिचान खुल्न सकेको छैन । उनीहरू फोहोर सङ्कलन गरेर गुजारा चलाउँदै आएको बुझिएको छ ।
घटनास्थलको प्रकृति अत्यन्तै बीभत्स देखिएको छ । दुई जना पुरुषको पेटमा धारिलो हतियार प्रहार गरी चिरिएको अवस्थामा शव भेटिएको थियो । तीमध्ये एक जना टेन्टभित्र र अर्को बाहिर मृत फेला परेका थिए ।
महिलाको शव भने पुरुषको शव भेटिएको स्थानभन्दा करिब ७ सय मिटर तल खोलामा फेला परेको थियो । उनको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा हत्यामा प्रयोग भएको हतियार फेला नपरेकाले अनुसन्धान थप जटिल बनेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी श्रवणकुमार विकका अनुसार प्रहरीको सम्पूर्ण संयन्त्र घटनाको अनुसन्धानमा केन्द्रित छ । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले तालिमप्राप्त कुकुरको प्रयोग गरेको थियो । कुकुर शव भएको स्थानबाट फोहोर प्रशोधन केन्द्र, क्याम्पस बस्ती हुँदै पृथ्वीराजमार्गसम्म पुगेर अलमलिएको थियो । यसका आधारमा हत्यामा संलग्नहरू घटनापछि राजमार्गबाट गाडी चढेर भागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ पुस २०८२, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण