कांग्रेसको आन्तरिक विवादप्रति एमाले नेता प्रदीप ज्ञवालीले किन देखाए चासो ?

सफल खबर संवाददाता

शनिबार, १९ पुस २०८२, ०८ : ५४
कांग्रेसको आन्तरिक विवादप्रति एमाले नेता प्रदीप ज्ञवालीले किन देखाए चासो ?

काठमाडौँ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूको आन्तरिक अवस्थाले मुलुकको लोकतान्त्रिक प्रणालीमा गहिरो प्रभाव पार्ने बताएका छन्। दलहरूभित्र देखिने कमजोरी वा विभाजनले अन्ततः लोकतन्त्रले नै ठुलो मूल्य चुकाउनुपर्ने भन्दै उनले विगतका केही राजनीतिक घटनाक्रमको स्मरण गराएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै नेता ज्ञवालीले वि.सं. २०५४ मा नेकपा (एमाले) मा भएको विभाजनले मुलुकमा हिंसात्मक द्वन्द्व राष्ट्रव्यापी रूपमा विस्तार हुन सघाउ पुऱ्याएको उल्लेख गरेका छन्।

त्यस्तै, २०५९ सालमा नेपाली कांग्रेसमा भएको विभाजनले राजालाई प्रजातन्त्र अपहरण गर्ने बहाना दिएको यथार्थलाई बिर्सन नहुने उनले बताएका छन्। यी उदाहरणहरू प्रस्तुत गर्दै उनले लोकतन्त्रको सुस्वास्थ्यका लागि दलहरूको आन्तरिक अवस्था मजबुत हुनु अनिवार्य पूर्वसर्त भएको तर्क गरेका छन्।

अहिलेको राजनीतिक सन्दर्भमा संविधान र राष्ट्रिय हितमाथि गम्भीर चुनौतीहरू उपस्थित भएको औँल्याउँदै ज्ञवालीले नेपाली कांग्रेसको आन्तरिक विवादप्रति चासो देखाएका छन् ।

उनले कांग्रेसले आफ्नो काँधमा रहेको ऐतिहासिक अभिभारालाई बुझेर आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्ने आशा व्यक्त गरेका छन्। लोकतन्त्रको रक्षाका लागि दलहरू फुट्नुभन्दा एकजुट र स्वस्थ हुनुपर्नेमा उनको जोड छ।

प्रमुख दलहरूका नीति, भूमिका र आन्तरिक प्रबन्ध कमजोर हुँदा त्यसको असर समग्र राष्ट्रिय राजनीतिमा पर्ने भन्दै ज्ञवालीले दलहरूलाई जिम्मेवार बन्न सुझाव दिएका छन्। विशेष गरी पुरानो र ठुलो दलको हैसियतले कांग्रेसले देखाउने सुझबुझले मुलुकको लोकतान्त्रिक भविष्यलाई आकार दिने उनको विश्लेषण छ।

प्रतिक्रिया दिनुहोस