सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने महानगरको तयारी, १५ दिनभित्र सम्पर्क गर्न निर्देशन

सफल खबर संवाददाता

मंगलबार, ०८ पुस २०८२, ०८ : २७
सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने महानगरको तयारी, १५ दिनभित्र सम्पर्क गर्न निर्देशन

काठमाडौ । काठमाडौं महानगरपालिकाले विगतमा अनुमति लिएर पनि हाल सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेज गर्ने प्रक्रिया अगाडि बढाएको छ।

 महानगरको शिक्षा विभागले विभिन्न समयमा गरेको स्थलगत अनुगमनका क्रममा कतिपय विद्यालयहरू भौतिक रूपमा सञ्चालनमा नरहेको र नदेखिएको प्रतिवेदन प्राप्त गरेपछि यस्तो कदम चालिएको हो।

नगर शिक्षा समितिको साउन २८ गतेको निर्णय अनुसार विभागले ती विद्यालयहरूको विवरण सङ्कलन र रुजु गरी खारेजीका लागि कार्यपालिकामा सिफारिस गर्ने तयारी गरेको छ। महानगरले आफ्नो वेबसाइटमा त्यस्ता सञ्चालनमा नरहेका विद्यालयहरूको सूची समेत सार्वजनिक गरेको छ।

महानगरपालिकाले जारी गरेको सूचना अनुसार यदि सूचीमा नाम परेका विद्यालयहरू वास्तवमै सञ्चालनमा छन् भने सम्बन्धित विद्यालयका प्रधानाध्यापक, सञ्चालक वा गुठीयारले सूचना प्रकाशित भएको १५ दिनभित्र महानगरको शिक्षा विभाग, कमलादीमा सम्पर्क गरी प्रमाणसहित पुष्टि गर्नुपर्नेछ।

 तोकिएको समयभित्र सम्पर्क नगरेमा ती विद्यालयहरू सञ्चालनमा नरहेको मानी काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा १३ (ट) बमोजिम विद्यालय बन्द गर्न कार्यपालिकामा सिफारिस गरिनेछ।
अनुगमनका क्रममा कतिपय विद्यालयहरू दर्ता भए पनि मैदानमा नदेखिएको र सम्पर्कविहीन भएको पाइएकाले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन यो कारबाही थालिएको महानगरले जनाएको छ। 

सम्बन्धित पक्षले १५ दिनभित्र आफ्नो उपस्थिति र विद्यालय सञ्चालनको अवस्थाबारे स्पष्ट जानकारी नदिएमा स्वतः अनुमति रद्द हुने प्रक्रिया सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस