भरतपुर महानगरको प्रशासनिक भवन ‘सिंहदरबार’ निर्माणको काम अन्तिम चरणमा, भवन ६ तल्ले, कोठा २ सय २१

एकैथलोबाट सेवाग्राहीलाई सबै सरकारी सुविधा दिने तयारी

सफल खबर संवाददाता

विहीबार, १८ मंसिर २०८२, १२ : १३
भरतपुर महानगरको प्रशासनिक भवन ‘सिंहदरबार’ निर्माणको काम अन्तिम चरणमा, भवन ६ तल्ले, कोठा २ सय २१

चितवन । भरतपुर महानगरपालिकाले नगर भित्र विभिन्न स्थानमा छरिएर रहेका मातहतका सरकारी कार्यालयहरुलाई एकीकृत गर्ने लक्ष्य र एकैथलोबाट सेवा प्रवाह गर्ने उद्येश्यले निर्माणाधिन नयाँ प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। 

६ तल्ला सहित र २ सय २१ वटा कोठा रहेको यो विशाल भवनको ८८ प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको महानगरले जनाएको छ । महानगरका अनुसार अबको केही महिनामै शहरलाई आधुनिक प्रशासनिक केन्द्र उपहार दिने तयारीमा रहेको छ। 

करिब ५४ करोडको लागतमा निर्माणाधिन यो भवन भरतपुरकै सबैभन्दा ठूलो प्रशासनिक संरचनामध्ये एक हुने अनुमान गरिएको छ। निर्माणाधिन भवन अत्याधुनिक   तवरले डिजाईन गरिएको छ जसभित्र प्रशस्त पार्किङ स्थल, सेवा–मैत्री कक्ष, बेरुङ–फेरुङ कार्यालय व्यवस्थापन, सेवाग्राहीका लागि सहज पहुँच र पारदर्शी सेवाको लक्ष्यसहित निर्माण भइरहेको संरचनाले भरतपुरको प्रशासनिक स्वरूप नै बदल्ने अपेक्षा गरिएको छ।

वर्षौदेखि सेवाग्राहीले भोग्दै आएको समस्याको समयसिमा भित्र हल

हाल भरतपुर महानगरपालिकाका नौवटा कार्यालय छुट्टाछुट्टै भवनमा रहेर सेवाग्राहीलाई सेवा दिँदै आएका छन् । कार्यालय भित्र एकीकृत सेवा प्रवाह हुन नसक्दा सेवाग्राहीलाई कार्यालय खोज्नदेखि लिएर कागजी प्रक्रिया पुर्‍याउन निकै समय र श्रम खर्चिनुपरेको छ ।  महानगर कार्यालयका अनुसार नयाँ भवन सञ्चालनमा आएपछि —सबै कार्यालय एउटै संरचनामा हुने, कागजी तथा प्रशासकीय काम छिटोछरितो हुने,् सेवाग्राहीलाई एउटै  ‘काउण्टर’ बाट सेवा हुनेछ । नवनिर्मित भवनका  प्रवेशद्वार (अपाङ्गमैत्री) हुनेछन् । 

भरतपुरको विकासलाई नयाँ पहिचान

महानगरका अनुसार प्रशासनिक भवनको भौतिक उचाइ मात्र नभई सेवा प्रवाह, व्यवस्थापन र पहुँचका आधारमा पनि यो संरचना भरतपुरको पहिचान बदल्ने ‘ल्यान्डमार्क प्रोजेक्ट’ को रुपमा रहने छ ।

निर्माणाधिन भवन भित्र स्मार्ट सिटीमैत्री सेवाहरू, डिजिटल सिस्टम, हेल्प डेस्क र अत्याधुनिक सभाहल हुने भएकाले प्रशासनिक सेवा लिन आउने सेवाग्राहीलाई समयको बचतसंगै सर्वसुलभ रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । 

भवन निर्माणमा अन्तिम तयारी तीव्र

भवन निर्माणको काम अन्तिम चरणमा पुगेका छ । भवनभित्र अहिले तिव्र गतिमा सरसजावट तथा विद्युतिय व्यवस्थापनको कामलाई तिब्रता दिईएको छ । महानगरका अनुसार ठेक्का अवधि तोकिएकै समयसिमा भित्र भवन निर्माणसंगै हस्तान्तरणको कार्य सम्पन्न हुनेछ । 

प्रतिक्रिया दिनुहोस