काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आपतकालीन स्वास्थ्य सेवालाई थप प्रभावकारी र द्रुत बनाउन दुई पाङ्ग्रे एम्बुलेन्स सञ्चालन गर्ने तयारी थालेको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सल्लाहकार समितिको बैठकले सवारी चापका कारण एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न मोटरसाइकल एम्बुलेन्सको अवधारणा अघि सारेको हो ।
सडकमा हुने जामका कारण एम्बुलेन्स अड्किँदा बिरामीको ज्यान जोखिममा पर्ने अवस्थालाई मध्यनजर गर्दै तत्काल घटनास्थलमा स्वास्थ्यकर्मी पुगेर प्राथमिक उपचार सुरु गर्न यो विकल्प रोजिएको हो । बैठकमा कार्यवाहक प्रमुख डंगोलले जटिल स्वास्थ्य अवस्था सिर्जना भएका ठाउँमा स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो पुर्याउन स्वास्थ्य विभागलाई निर्देशन दिइन् ।
उनले प्रविधिमैत्री सेवामा जोड दिँदै बिरामीका आफन्तले एम्बुलेन्स कहाँ आइपुग्यो र त्यसमा को-को स्वास्थ्यकर्मी छन् भन्ने कुरा मोबाइलबाटै हेर्न मिल्ने प्रणाली कार्यान्वयनमा ल्याउनुपर्ने बताइन् । आपतकालीन अवस्थामा प्रि-हस्पिटल मेडिकल सर्भिसलाई वैज्ञानिक र व्यावहारिक बनाउन आवश्यक अध्ययन गरी संयन्त्र निर्माण गरिने उनले स्पष्ट पारिन् ।
काठमाडौं महानगरपालिकाले २०७६ वैशाखदेखि नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा यो सेवा सञ्चालन गर्दै आएको छ । यस अवधिमा महानगरले १३ करोड ४४ लाख रुपैयाँ अनुदान उपलब्ध गराइसकेको छ भने ८४ हजार ४ सय ८९ जना बिरामीले प्रत्यक्ष सेवा पाएका छन् ।
तथ्याङ्क अनुसार एक जना बिरामीलाई सेवा दिँदा औसत १ हजार ६ सय ५ रुपैयाँ खर्च हुने गरेको छ, जुन भार महानगरपालिकाले नै व्यहोर्दै आएको छ । यो सहकार्यपछि ६९ जना गर्भवती महिलाले एम्बुलेन्समै सुरक्षित रूपमा बच्चा जन्माउन सफल भएका छन् भने कोभिड–१९ को महामारीका बेला २३ हजार ५ सय जनाले सेवा लिएका थिए ।
हाल काठमाडौं उपत्यकाभित्र काठमाडौं महानगरमा ७ वटा र कीर्तिपुर, सातदोबाटो तथा सल्लाघारीमा एक-एक गरी सीमित संख्यामा एम्बुलेन्स सञ्चालनमा छन् । सम्पर्क गरेको ८ मिनेटभित्रै बिरामीकोमा पुग्ने अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न उपत्यकामा कम्तीमा ४९ वटा एम्बुलेन्स आवश्यक पर्ने अध्ययनले देखाएको छ ।
बैठकमा स्वास्थ्य विभाग र वित्त विभागका अधिकारीहरूले सेवाको गुणस्तर बढाउन र लागत घटाउन उपत्यकाका अन्य पालिकाहरूसँग पनि आर्थिक साझेदारीको सम्भावनाबारे छलफल गर्नुपर्ने खाँचो औँल्याएका छन् । एम्बुलेन्स सेवाका पदाधिकारीहरूले संवेदनशील घटना व्यवस्थापनमा सहकार्यले ठुलो मद्दत पुगेको भन्दै सवारी चापको चुनौती सामना गर्ने नयाँ रणनीति बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ चैत्र २०८२, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगर : छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)
बैजनी रङमा रंगिएको काठमाडौंः सडकमा पोखिएको वसन्तको मधुर सपना’ (फोटो फिचर)
आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट