काठमाडौँ महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति आवेदन खुला

सफल खबर संवाददाता

बुधबार, ३० बैशाख २०८३, ०८ : ०७
काठमाडौँ महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति आवेदन खुला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन खुला गरेको छ । 

महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई परीक्षा प्रणालीमार्फत छात्रवृत्ति उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाद्वारा बुधबार जारी सूचनाअनुसार छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन फाराम जेठ १ गते बिहान १० बजेदेखि भर्न सकिनेछ । आवेदन दिने अन्तिम समय जेठ १० गते राति ११ बजेर ५९ मिनेटसम्म तोकिएको छ ।

छात्रवृत्तिका लागि परीक्षा भने जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन गरिनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले विद्यार्थी तथा अभिभावकलाई महानगरपालिकाको वेबसाइट तथा प्रवेश परीक्षा सम्बन्धी पोर्टलमार्फत अनलाइन आवेदन दिन आग्रह गरेको छ । विषयगत अङ्कभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्र लगायतका विस्तृत विवरण महानगरपालिकाको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस