मतदान प्रक्रियाले पार्टीको आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण सन्देश : प्रदीप ज्ञवाली

सफल खबर संवाददाता

विहीबार, ०३ पुस २०८२, ०८ : २६
मतदान प्रक्रियाले पार्टीको आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण सन्देश : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले एमाले महाधिवेशनमा  मतदान प्रक्रियाबाट नेतृत्व छनाेटले पार्टीको आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण सन्देश दिएकाे बताएका छ ।

अत्यन्त शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सिकएपछि ज्ञवालीले पछिल्ला राजनीतिक घटनाक्रमपछि मूलधारका राजनीतिक दलहरूको सान्दर्भिकता समाप्त भएको भन्ने भाष्यलाई एमालेले व्यवहारबाटै खण्डन गरेको बताए ।

‘भदौको अन्तिम साताका घटनाक्रम पश्चात् मूलधारका राजनीतिक पार्टीहरूको सान्दर्भिकता समाप्त भयो भनेर निर्माण गरिएको भाष्यलाई मङ्सिर २७ गते सल्लाघारीमा उपस्थित विशाल जनसहभागिताले खण्डित गरेको थियो भने नेतृत्व निर्माणका लागि भएको स्वस्थ, सौहार्द एवं कमरेडली प्रतिस्पर्धाले पार्टीको आन्तरिक लोकतन्त्रलाई जीवन्त बनाएको छ’, उनले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

महाधिवेशनमा देखिएको उच्च सहभागिता र लोकतान्त्रिक प्रतिस्पर्धाले पार्टीको आन्तरिक जीवनमा मात्र सीमित नभइ देशकाे राजनीतिमा नै सकारात्मक प्रभाव पार्ने उनकाे धारणा छ । ‘यी दुबै पक्षको सकारात्मक प्रभाव एमालेभित्र मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमै पर्नेछ,’ उनको भनाइ छ।

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि  हिजाे बिहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया आज बिहान सम्पन्न भएको छ। कुल २२ सय ६३ प्रतिनिधिमध्ये २२ सय २७ जनाले मतदान गरेसँगै महाधिवेशनको मतदान प्रक्रिया औपचारिक रूपमा टुंगिएको हो।

एमालेको ११औँ महाधिवेशनमा विद्युतीय मतदान मेसिनमार्फत निर्वाचन गरिएको थियो। मतदानमा ९८ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता रहनुले पार्टी संगठनको सक्रियता र महाधिवेशनप्रतिको चासो प्रष्ट पारेको नेताहरूको विश्लेषण छ।

प्रतिक्रिया दिनुहोस