ओली डराउँदा झुलाइयो मतदाता ? : जाडोको बहाना

सफल खबर संवाददाता

मंगलबार, ०१ पुस २०८२, २१ : ३०
ओली डराउँदा झुलाइयो मतदाता ? : जाडोको बहाना

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयन प्रक्रिया लोकतान्त्रिक अभ्यासभन्दा पनि नेतृत्वको 'पावर पोलिटिक्स' को बन्धक बनेको छ। सोमबार नै सकिनुपर्ने मतदान प्रक्रिया मंगलबार पनि पूरा हुन सकेन, जसले एमालेको 'हाइटेक' व्यवस्थापनको दाबीलाई गिज्याएको मात्र छैन, मतदातालाई समेत हैरानीमा पारेको छ।

अझ रोचक त के छ भने, महासचिवका उम्मेदवार शंकर पोखरेलले 'जाडो' र 'प्राविधिक समस्या' को बहाना बनाउँदै मतदान बुधबार बिहानसम्मका लागि धकेलिएको घोषणा गरे। तर, भृकुटीमण्डपमा लामबद्ध भइसकेका मतदातालाई रित्तो हात फर्काउनुको पछाडि चिसो मौसम नभई ओली समूहको 'राजनीतिक चिसो' मुख्य कारण रहेको खुलासा भएको छ।

बाहिरी रूपमा प्राविधिक कारण देखाइए पनि भित्री खेलभने अर्कै छ। स्रोतका अनुसार, शंकर पोखरेलसहित अध्यक्ष केपी शर्मा ओलीका 'कोर टिम' का विश्वासिला पात्रहरू नै निर्वाचनमा पराजित हुने उच्च जोखिम देखिएपछि मतदान रोकिएको हो। ओली आफ्नो प्यानललाई जिताउन र आफू अनुकुल नतिजा जबरजस्ती निकाल्नका लागि समय लम्ब्याउने रणनीतिमा लागेका छन्।

मतदाताले विवेक प्रयोग गर्ने संकेत पाएपछि आत्तिएका ओली पक्षले हारको डरले अन्तिम समयमा आएर मतदान रोक्ने प्रपञ्च रचेको असन्तुष्ट पक्षको आरोप छ।

एमालेभित्रको शक्ति संघर्ष सतहमा आएको छ। एकातिर ओली आफ्नो वर्चस्व कायम राख्न चाहन्छन् भने अर्कोतर्फ ईश्वर पोखरेल समूह ओलीलाई कमजोर बनाउने रणनीतिमा सक्रिय देखिएको छ। एमालेको महाधिवेशनमा ईश्वर पोखरेल र केपी ओली प्यानलसहित चुनावी मैदानमा देखिएका छन्। ईश्वर पोखरेल पक्षको बलियो उपस्थितिले ओली क्याम्पमा कम्पन पैदा गरेको र सोही डरले मतदान लम्ब्याइएको विश्लेषण गर्न थालिएको छ।

यो रवैया एमाले कार्यकर्ताका लागि नौलो भने होइन। चितवनमा सम्पन्न १०औँ महाधिवेशनमा पनि अध्यक्ष ओलीले 'सर्वसम्मत' को नाममा यस्तै हत्कन्डा अपनाएर लामो समयसम्म लोकतान्त्रिक प्रक्रिया (मतदान) रोकेका थिए। अहिले काठमाडौँमा पनि त्यही इतिहास दोहोर्याउँदै, लाइनमा बसिसकेका मतदातालाई घर फर्काएर एमाले नेतृत्वले लोकतन्त्रको उपहास गरेको छ।

जाडोको बहाना बनाएर मतदान सार्नु केवल एक रणनीतिक चाल भएको र जसको मुख्य उद्देश्य ओलीको खस्कँदो साख जोगाउनु र ईश्वर पोखरेलको रणनीतिलाई असफल बनाउनु भएको नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस