भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय

सफल खबर संवाददाता

सोमबार, २९ मंसिर २०८२, १३ : ०८
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय

काठमाडौँ। नेपाली काँग्रेसले भोलि (पुस १ गते) केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने भएको छ।

पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनको शोकमा काँग्रेसले एक दिन कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

उपसभापति धनराज गुरुङको सभापतित्वमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उपाध्यायको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

पारित शोक प्रस्तावअनुसार पुस १ गते कार्यालयहरू बन्द गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनकाअनुसार २९ मंसिरदेखि २ पुससम्म (तीन दिन) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाइने भएको छ ।

उपाध्यायको स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औँ दिनमा गृहजिल्ला मोरङमा शोक सभाको आयोजना गर्ने काँग्रेसले निर्णय गरेको छ ।

उपाध्यायको क्यान्सर रोगको उपचारका क्रममा शनिबार साँझ ९१ वर्षको उमेरमा काठमाडौँको ह्याम्स अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस