एमाले महाधिवेशन : भृकुटीमण्डपमा बन्दसत्र शुरु हुँदै

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०८२, ०८ : ०७
एमाले महाधिवेशन : भृकुटीमण्डपमा बन्दसत्र शुरु हुँदै

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनको बन्दशत्र आजदेखि शुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र हुनेछ । अहिले बिहान ८ बजेदेखि बन्दशत्र सुरु हुने एमालेले जनाएको छ । 

नयाँ नेतृत्वका लागि आजै निर्वाचन कार्यतालिका ल्याउने तयारी निर्वाचन समितिले गरेको छ । बन्दशत्र सञ्चालनका लागि एमालेले अहिले रहेका पदाधिकारीहरु १८ जना नै रहेको अध्यक्षमण्डल गठन गरेको छ । सचिव रहेका टोपवहादुर रायमाझी निलम्बनमा परेका कारण उनीबाहेकका सबै पदाधिकारी रहेको अध्यक्षमण्डल बनाउने निर्णय महाधिवेशन शुरु हुनु अगाडी बसेको केन्द्रीय सचिवालय बैठकले गरेको थियो । 

माइन्यूट लेख्न पृथ्वीसुब्बा गुरुङ  नेतृत्वको टिम र समसामायिक प्रस्ताव लेखनको जिम्मा प्रदीप ज्ञवाली नेतृत्वको टिमलाई दिएको छ । 

महाधिवेशनमा २ हजार २ सय ६२ जना प्रतिनिधि छन् । महाधिवेशनले अध्यक्ष, महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ ।

अध्यक्षका लागि फेरि केपी ओली तेहेरिन खोजेका छन् । उनलाई अब अभिभावकीय जिम्मा लिन आग्रह गदै बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले अध्यक्षमा चुनाव लड्न लागेका छन् । दुवै पक्षबाट अहिले आ आफनो प्यानल बनाउने गृहकार्य गरिरहेका छन् ।  नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी छ ।

प्रतिक्रिया दिनुहोस