काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन सुरु हुन ३ दिन बाँकी छ । तयारी हेर्दा अध्यक्ष केपी ओलीले यो पटकको महाधिवेशन पनि दशौं महाधिवेशन जस्तै बनाउने तयारी गरेका छन् ।
त्यो भनेको अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्वका बारेमा सूची बनाउने र त्यसमा कोही कसैले नमाने दशौं महाधिवेशनमा भीम रावललाई जसरी ब्यवहार गरिएको थियो, त्यसैगरी इतर पक्षलाई पनि ब्यवहार गर्ने रणनीति ओलीले बनाएका छन् ।
एमालेका धेरै नेताहरु अहिले भन्न थालेका छन्, महाधिवेशन चितवन भाग २ जस्तै गरी सम्पन्न गर्ने गरी ओलीले तयारी गरेका छन् । ओली एमालेको फेरि तेहेरिएर अध्यक्ष बन्ने तयारीमा छन् । तर उनलाई सजिल्यै अध्यक्ष हुन नदिन वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल लगायतका वर्तमान कार्यसमितिका ६ जना पदाधिकारीसहित मोर्चा बनाएका छन् ।
उनीहरुले अब ओली अभिभावक भएर बस्नुपर्ने र नेतृत्व हस्तान्तरण गर्नुपर्ने पक्षमा छन् । उनीहरुले गत भदौं २३ र २४ को आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका बारेमा समीक्षा हुनुपर्ने, नेतृत्व एकलौटी चलाउने कुराबाट सामुहिकतामा जाृड दिनुपर्ने लगायतका विषय पार्टीभित्र बहसका रुपमा उठाएका छन् । तर, ओली उनीहरुले पार्टीभित्र राखेको मतलाई छलफल समेत गर्न दिने पक्षमा छैनन ।
ओली पक्षले इतर पक्षलाई चेतावनीकै शैलीमा धम्की दिएको छ, धेरै निहुँ खोजे भीम रावल बन्ने हो ? एमालेमा फरक मत राख्ने नेताहरु ओली अध्यक्ष बनेपछि टिकेका छैनन । माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल, घनश्याम भुषाल लगायत फरक मत राखेका नेताहरु पार्टीबाटै बाहिरिनुपर्ने अवस्था निम्तेको थियो । अहिले इश्वर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भटटराई, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण विष्ट लगायत नेताहरुलाई ओलीले अप्रत्यक्ष ढंगले आफु र निकट नेतामार्फत त्यस्तै धम्की दिइएको छ ।
अझ ओली पक्षले पोखरेल पक्षले अगाडी सारेको विचार, अवधारणालाई पार्टीले पहिले नै आफनो दस्तावेजमा सम्वोधन गरिसकेको टिप्पणी गरेको छ । उसले पार्टीभित्रै प्रतिपक्षी मत बनाईरहेका नेताहरुले विगतका पार्टी दस्तावेज अध्ययन नै नगरेको आरोप समेत लगाउन थालेको छ ।
‘कुनै पनि विषय अगाडि सार्नुपूर्व आफ्ना दस्तावेजहरू त अध्ययन गर्नु पर्यो। दस्तावेजले भनेको चिजलाई ओझेलमा पारेर नयाँ कुरा गरेजस्तो गर्नु उचित होइन । भदौं २३ र २४ गते पछाडिको परिस्थितिका सन्दर्भका बारेमा छलफल गर्नुपर्छ भनेर उहाँ (इश्वर पोखरेल) ले जे माग गर्नुभएको छ, बाहिर पनि बोलिराख्नु भएको छ । त्यसका लागि त हामीले असोज २९, ३०, ३१ गते दशौं केन्द्रीय कमिटीको बैठक बसेर ३२८ जना वक्ता बोलेर गरेको निर्णयको मसी सुकेको छैन नि, सुकेको छ र ?’ एमाले महासचिव शंकर पोखरेलले प्रश्न गदैं भने ।
२३, २४ पछाडिको परिस्थितिको पार्टीले विश्लेषण नै गरेको छैन, पुरानो दस्तावेज बोकेर कसरी जानु सकिन्छ भन्ने पोखरेल पक्षले उठाएको विषय सत्य नभएको शंकर पोखरेलले बताएका छन् । ‘उहाँहरुले कुनै नयाँ कुरा गर्नुभएको छैन । महाधिवेशन त नेतृत्व निर्वाचनको महाधिवेशन हो । त्यसमा कुनै दस्तावेजको विषय प्रवेश गर्दैन ।’ महासचिव पोखरेलले भने ।
ओलीले महाधिवेशनमा आफ्नो तर्फबाट एउटा प्यानल प्रस्ताव गर्ने र त्यसैमा सहमति खोजाउने प्रयास गर्ने तयारी गरेका छन् । उनले त्यसमा सहमति नबने महाधिवेशन प्रतिनिधिहरुका बीचमा जसले सहमति जनाउँदैन, उसैलाई मत नदिन चितवनमा जस्तै चिट बाँढ्ने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ मंसिर २०८२, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवालाई एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर दियो महाधिवेशनको निम्तो
एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा
विधान संसोधनमा तयारीमा ओली, अब बस्ने सचिवालय र केन्द्रीय समितिमा प्रस्ताव ल्याइँदैं
एमाले महाधिवेशन प्रतिनिधिलाई यसरी हुँदैछ बासको व्यवस्था
जेनजी आन्दोलनका शहीद परिवार संगठित भएकोमा एमाले अध्यक्ष ओलीको आपत्ती
एमालेको महाधिवेशन प्रचार समिति ओलीको कब्जामा, पोखरेल पक्षलाई पुरै निषेध