विधान संसोधनमा तयारीमा ओली, अब बस्ने सचिवालय र केन्द्रीय समितिमा प्रस्ताव ल्याइँदैं

सफल खबर संवाददाता

सोमबार, २२ मंसिर २०८२, ०८ : ४९
विधान संसोधनमा तयारीमा ओली, अब बस्ने सचिवालय र केन्द्रीय समितिमा प्रस्ताव ल्याइँदैं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले विधान संसोधनको तयारी गरेका छन् । महासचिव शंकर पोखरेललाई महाधिवेशन अगाडी बस्ने पार्टी सचिवालय बैठक र केन्द्रीय समिति बैठकमा प्रस्ताव पेश गर्ने गरी विधान संसोधनको प्रस्ताव तयार पार्न निर्देशन दिएका छन् । 

गत भदौंमा सम्पन्न भएको एमालेको विधान महाधिवेशनले १५ पदाधिकारीसहितको केन्द्रीय समिति बनाउने गरी विधान पारित गरेको थियो । तर ओलीले महाधिवेशनमा सर्वसहमतिमा भन्दा चुनावी प्रतिस्पर्धामा जाने भएपछि आफुतिरका आकांक्षी नेताहरुको ब्यवस्थापन गरेर इतर समुहमा नेताहरुलाई जान नदिन विधान संसोधन गरेर पदाधिकारीको संख्या थप गर्ने रणनीति बनाएका छन् । 

त्यसका लागि ओलीले बरिष्ठ उपाध्यक्ष पद फेरि यथावत राखेर जाने गरी विधान संसोधनको तयारी गर्न भनेका छन् । यस अगाडी एमालेमा बरिष्ठ उपाध्यक्षको ब्यवस्था थियो । तर गत भदौंमा सम्पन्न विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्ष नराख्ने गरी विधान बनाएको छ। 
ओलीले वरिष्ठ उपाध्यक्ष राख्ने, ३ उपाध्यक्ष पनि फेरि थप गर्ने, स्थायी समिति पनि फेरि राख्ने गरी विधान संसोधन गराउन खोजेका छन् । 

ओली निकट पोलिटब्युरो सदस्य महेश बस्नेतले सर्वसम्मतिकै लागि थुप्रै विकल्पसहितका विधान संसोधनका विषयमा पार्टी अध्यक्षले छलफल गरिरहेको बताए । ‘सकभर महाधिवेशनबाट नेतृत्व सर्वसम्मतिका लागि प्रयास थालिएको छ ।  फेरि वरिष्ठ उपाध्यक्ष राख्नुस्, पदाधिकारीको संख्या बढाउनुस्, स्थायी समिति पनि फेरि राख्नुस् भनेर हामीले पनि सुझाव दिएका छौँ र उहाँ (ओली) पनि सकारात्मक नै हुनुहुन्छ । अध्यक्षले पनि त्यही अनुसारको तयारी गरिरहनु भएको छ ।’ बस्नेतले भने । 

उनका अनुसार, पुरानै केन्द्रीय समिति संख्या कायम गर्ने, निष्क्रियलाई बिदा दिने, ३० प्रतिशतसम्म नयाँ अनुहार थप्ने र ४० वर्षमुनिका १० प्रतिशत युवा समेट्ने गरी विधान संशोधनको तयारी समेत ओलीले गरेका छन् । 

विधान संसोधन नगर्दा ओलीलाई खासगरी महासचिव कसलाई बनाउने भन्ने समस्या छ । महासचिवका लागि अहिलेका महासचिव शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली ओलीको टिमबाट आकांक्षी देखिएका छन् । तर एकलाई महासचिव बनाउँदा अन्य दुई नेताको ब्यवस्थापन पनि ओलीलाई चुनौती छ । उपाध्यक्षमा ओलीलाई रामबहादुर थापा, विष्णु पौडेल, गुरु बराल लगायतलाई समेटनै पर्ने दवाव पनि छ ।

यसो हुँदा ओलीले आफनो टिमको ब्यवस्थापन गर्न विधान संसोधन नगरी कठिन देखिएको छ । इश्वर पोखरेल समुहले भने ओलीले बनाउने टिम निर्माणमा असन्तुष्ट पक्षलाई आफनो टिममा तानेर रोजिएको पद दिएर ओलीसँगै प्रतिस्पर्धा गरेर जित निकाल्ने रणनीति बनाएको कारण पनि ओली विधान संसोधनको दवावमा छन् ।

प्रतिक्रिया दिनुहोस