सरकारमा बसेकाहरू नै जेन-जीका नाममा मागपत्र मस्यौदा गर्दै कलाविहीन नाटक देखाउँदैछन् : ओली

सफल खबर संवाददाता

आइतबार, ३० कार्तिक २०८२, १४ : ३९
सरकारमा बसेकाहरू नै जेन-जीका नाममा मागपत्र मस्यौदा गर्दै कलाविहीन नाटक देखाउँदैछन् : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेकाहरूले नै जेन-जीका नाममा ज्ञापनपत्र मस्यौदा गरेर बुझाउन लगाइरहेको दाबी गरेका छन् ।

गुण्डुस्थित निवासमा प्रेस चौतारीका नेताहरूसँग छलफलका क्रममा ओलीले सरकारमा रहेकाहरुले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु हो भन्ने बुझेको आरोप लगाए । ओलीले विभिन्न नामका जेन-जी समूह खडा गरेर सरकारले तमासा देखाएको जिकिर गरे ।

ओलीले भने-यो सरकारले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गर्ने भन्ने बुझेको छ । त्यसका निम्ति जेनजीहरुलाई संगठित गर्ने, जेनजीहरूका मागपत्र लेखिदिने, उनीहरूलाई बोलाएर मागपत्र पढाउने, हातमा मागपत्र थमाउने, जेन-जीको डेलिगेसन बोलाउने, सन्चारकर्मीका अगाडि जेनजीले सरकारलाई दबाब दिए ल के गरौं ? भनेर सरकार एकदमै दबाबमा परेको छ र भनेर देखाउने काम भइरहेको छ । जेन-जीहरूका नाममा यो कलाविहीन नाटक चलाइएको छ । मलाई थाहा छ त्यो जेन-जीको नाममा मस्यौदा कसले लेखेको हो, कहाँ बोलाएर पढाइयो, त्यसको अर्गनाइजर को हो सबै थाहा छ । बिना पैसा अहिले यी तमासा हेर्न पाइएको छ ।

ओलीले प्रतिनिधिसभा अविलम्व पुन:स्थापना हुनुपर्ने भन्दै असंवैधानिक ढंगले अनधिकृत व्यक्तिको सिफारिसमा विघटन भएको बताए ।

अहिले पनि जेन-जी भनेर १०/२० जना युवा जम्मा पारेर धम्क्याउने र अनेक क्षति पुर्‍याउने भन्दै भन्न लगाइएको ओलीले बताए ।

उनले भने, उनीहरूमा आवेश र उत्तेजनामात्र छ । गतिलो र सकारात्मक उद्देश्य र विचार छैन र गन्तव्य छैन । सरकार यस्तै काममा लागेको चुनावतिर लागेकै छैन । ड्रामातिर लागेको छ ।

प्रतिक्रिया दिनुहोस