स्वास्थ्य बीमा कार्यक्रमबारे अर्थमन्त्रीको भनाइप्रति सांसद मल्लको असन्तुष्टि

सफल खबर संवाददाता

विहीबार, २५ असार २०८३, १३ : ४७
स्वास्थ्य बीमा कार्यक्रमबारे अर्थमन्त्रीको भनाइप्रति सांसद मल्लको असन्तुष्टि

काठमाडौँ । प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले स्वास्थ्य बीमा कार्यक्रमको निरन्तरताबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्त गरेको धारणा प्रति प्रतिनिधि सभामा असहमति जनाएका छन्।

सांसद मल्लले सरकारले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको अवस्थामा स्वास्थ्य बीमा कार्यक्रमलाई यथावत् सञ्चालन गर्न नसकिने आशयको अभिव्यक्ति आउनु उचित नभएको बताएका हुन्।

उनले स्वास्थ्य बीमा कार्यक्रम नागरिकको आधारभूत स्वास्थ्य अधिकारसँग जोडिएको विषय भएकाले यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे।

सांसद मल्लले सल्यान जिल्ला अस्पतालमा स्वास्थ्य बीमा सेवा प्रभावहीन बन्दै गएको उल्लेख गर्दै त्यहाँ कार्यक्रमलाई तत्काल नियमित र प्रभावकारी बनाउन सरकारसँग माग गरे।

त्यसैगरी, कर्णाली प्रदेशका अस्पतालहरूमा विशेषज्ञ चिकित्सकको अभाव रहेको उल्लेख गर्दै उनले आवश्यक जनशक्ति व्यवस्थापनका लागि शीघ्र पहल गर्न सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनुहोस