काँग्रेसभित्रको विवादबारे पूर्णबहादुर खड्काको धारणा : विभाजनको निर्णय नेतृत्वमै निर्भर हुने दाबी

सफल खबर संवाददाता

विहीबार, २५ असार २०८३, १३ : ००
काँग्रेसभित्रको विवादबारे पूर्णबहादुर खड्काको धारणा : विभाजनको निर्णय नेतृत्वमै निर्भर हुने दाबी

काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको विवाद समाधानका लागि मुख्य नेतृत्वले पहल गर्नुपर्ने बताएका छन्। संस्थापन इतर समूहको बैठकमा बोल्दै उनले पार्टी विभाजनको अवस्था सिर्जना भए त्यसको जिम्मेवारी आफूहरूको कारणले नहुने दाबी गरेका हुन्।

चुनदेवीमा आयोजित बैठकलाई सम्बोधन गर्दै खड्काले पार्टी एकताको प्रयास गर्नुपर्ने पक्षहरू नै अहिले टाढा रहेको उल्लेख गरे। उनले सभापतिको इच्छाअनुसार पार्टीको आगामी दिशा तय हुने धारणा राखे।

खड्काले विगतमा पनि नेतृत्वको निर्णयका कारण पार्टी विभाजन भएको उदाहरण दिँदै अहिले पनि विभाजन वा एकताको अवस्था नेतृत्वको भूमिकामा निर्भर रहने बताए। उनले आफू र विमलेन्द्र निधिलगायतका नेताहरूले चाहेर मात्र पार्टी विभाजन हुन नसक्ने जिकिर गरे।

पार्टी एकताका लागि सभापति गगन थापाले पहल गर्नुपर्ने उनको भनाइ थियो। उनले नेतृत्वले अघि बढाएको बाटोबाट पछि फर्किन कठिन हुने भन्दै संवाद र सहमतिका लागि आवश्यक निर्णय लिन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस